बेइजिङ, ८ साउन/एएफपी
उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाको लागि बनाइएको हलको छाना भत्किंदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् ।
हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माणकर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार सरकारी प्रसारक सिसिटिभीले प्रसारण गरेको फुटेजमा कङ्क्रिटको स्ल्याबबाट बनेको छाना पूरै ढलेकोे देखिएको छ ।
उद्धारकर्मीहरूले पीडितहरूसम्म पुग्नका लागि कङ्क्रिट र घुमाउरो धातुका ठूला टुक्राहरू तोडेको फुटेजले देखाएको छ । “दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ,” सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।
दुर्घटनाको गहन अनुसन्धान भइरहेको र निर्माण कम्पनीका प्रमुखलाई प्रहरी हिरासतमा राखिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्वाका अनुसार ३४ नम्बरको मिडिल स्कूलको जिम आइतवार दिउँसो ३ बजेतिर ढलेको थियो ।
स्थानीय पत्रिका हेइलोङजियाङ डेलीका अनुसार दुर्घटना हुँदा १९ जना जिममा थिए । चारजनालाई भग्नावशेषबाट बाहिर निकालिएको र अन्य चारजनाले दुर्घटनापछि भागेर ज्यान बचाएका थिए ।
करीब १६० अग्निनियन्त्रक र ३९ वटा फायर ट्रकले खोजी तथा उद्धार कार्य सम्पन्न गरेको सिसिटिभीले जनाएको छ ।
नाम नखुलाइएको एक स्रोतले सरकारी स्वामित्वको चोङकिङ न्युजलाई बताए अनुसार छानामा थुप्रिएका सामग्रीको बारेमा भत्किनुअघि नै चिन्ता व्यक्त गरिएको थियो ।
“व्यायामशाला २० वर्षभन्दा पहिले निर्माण गरिएको थियो र धेरै ठाउँ लामो समयदेखि जीर्ण अवस्थामा पुगेको थियो,” स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । रोयटर्सले भनेको छ, “छतमा थुप्रिएका सबै सामानले केही न केही होला कि भनेर सबै चिन्तित थिए ।”
गत महीना चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको वारबेक्यू रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो भने कार्यस्थलको सुरक्षाका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने औपचारिक प्रतिबद्धता व्यक्त गरिएको थियो ।
गत अप्रिलमा बेइजिङको एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको थियो भने केही झ्यालबाट हाम फालेर भाग्न सफल भएका थिए ।
सन् २०१५ मा तियानजिनमा रासायनिक गोदाममा भएको ठूलो विस्फोटमा कम्तीमा १६५ जनाको मृत्यु भएको थियो । यो चीनमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो । रासस