- अनन्तकुमार लाल दास
विद्यार्थी जीवन एक प्रकारको तपस्या हो । यो सङ्घर्षको समय पनि हो । यो आफूलाई तिखार्ने बेला पनि हो । यस बेला विद्यार्थीहरूले संयमता र धैर्यतापूर्वक आफ्नो लक्ष्यमा ध्यान दिनुपर्छ । आफ्नो क्षमता अनुसार लक्ष्य प्राप्तिका लागि सक्दो प्रयासको थालनी गर्ने समय हो यो । इमानदारीपूर्वक गरिएको कठिन परिश्रमले नै सफलता हासिल हुन्छ । आत्मविश्वास र दृढ सड्ढल्पशक्तिले नै शीर्ष स्थानमा पुग्ने महत्वकाङ्क्षा साकार हुन्छ । यस बेला आआफ्नो कमी–कमजोरीको अडकल गर्दै समयबद्ध तयारी गर्ने विद्यार्थीहरू नै सफल हुन्छन् । यस समयलाई जसले सदुपयोग गर्यो उसलाई सधैं सफलता प्राप्त हुन्छ भने दुरुपयोग गर्नेले जीवनभरि पछुताउनुपर्छ । अतएव सफलताको उच्च शिखरमा पुग्नको लागि केबाट जोगिनुपर्छ विद्यार्थीहरू ? यिनै कुराहरूको छलफल यस आलेखमा गर्न खोजिएको छ ।
समान सोच र समान उमेर समूहका विद्यार्थीहरू एक आपसमा छिटै घुलमिल गर्छन् । कुनै पनि जिम्मेवारी नभएकै कारण केटा र केटी घनिष्ठ मित्र बन्छन् । कैयौंपटक मित्रताको गोलचक्करमा एकआपसमा झगडा पनि हुन्छ । तर प्रश्न के छ भने यस बेला हाम्रो उद्देश्य के हो ? हाम्रो लक्ष्य के हो ? यसमा चिन्तनमनन गर्नैपर्छ । धेरै साथी भएपछि के घाटा हुन्छ ? अनुभवले के देखाउँछ भने छिन–छिनमा साथीहरू आउने क्रम जारी रहन्छ र अमूल्य समय खेर गइरहन्छ । के साथीहरूको आवतजावतले लक्ष्य हासिल गर्न सघाउ पुग्छ ? लक्ष्य प्राप्तिमा साथीहरूले गर्ने कुराले कति महत्व राख्छ ? प्रायः साथीहरू विद्यार्थीहरूलाई घुम्न, सिनेमा हेर्न, खेल्न, गप्प मार्न, पैसा माग्न वा मोटरसाइकलमा मस्ती गर्ने अनुरोध गर्छन् । यसबाट विद्यार्थीलाई के फाइदा हुन्छ ? लाभ–हानिको कुरै नगरौं, विद्यार्थीहरूले जुन समय पढाइमा व्यतीत गर्नुपर्ने थियो त्यो हुन सकेन । उनीहरूको दैनिकी साथीहरूको अधीन भयो र हासिल केही पनि भएन । धेरै जसो साथीहरूको उद्देश्य पढ्ने साथीहरूको ध्यान भङ्ग गरेर गलत बाटोमा लगाई आफ्नो दुनो सोझो गर्ने हुन्छ । यस्तो मित्र हुनुभन्दा त नहुनु नै बेस । यस कारण विद्यार्थीहरूले धेरै सङ्ख्यामा साथी नबनाई लक्ष्यमा ध्यान दिनु नै उनीहरूको हितमा हुन्छ ।
विद्यार्थी जीवन मौजमस्तीको समय नभई भविष्य निर्माणको समय हो । भनिन्छ कालो ठाउँमा बसेपछि लुगामा कालो लाग्नु स्वाभाविक हा अर्थात् सङ्गतको असर आचरण, व्यवहार र विचारमा पर्छ । आजका विद्यार्थीहरू हरेक कुरामा गालीगलौज गर्छन्, कुरा गर्दागर्दै एकअर्कालाई धम्की दिन्छन्, एकआपसमा झगडा गर्नु सामान्य भइसकेको छ । उनीहरू यस्तो कुरा कहाँबाट सिक्छन् ? जवाफ छ, मित्रहरूसँग र समाजबाट । हिजोआज धेरैजसो विद्यार्थी रक्सी र चुरोट खान्छन् । यसरी उनीहरू आफ्नो लक्ष्यबाट टाढिंदै गएका छन् । विद्यार्थी जीवनमा मौजमस्तीको दुष्परिणाम कति घातक हुन सक्छ, यसको कल्पना पनि कठिन हुन्छ । वर्तमानमा विद्यालय र क्याम्पसको जस्तो वातावरण छ त्यसबाट निर्लिप्त बस्नु विद्यार्थीहरूको लागि कठिन कार्य हो तर यदि आफ्नो सपना साकार पार्नुछ र आमाबुवाको अपेक्षा पूरा गर्नु छ भने यस परीक्षामा पास हुनु उनीहरूका लागि नितान्त आवश्यक हुन्छ । गलत सङ्गतमा पर्दा गलत बाटोमा लागिन्छ जसले जीवन व्यर्थ र अँध्यारो हुन्छ । विद्यार्थीहरूले आफ्नो मनमा नियन्त्रण गर्नुपर्छ र यस कार्यमा अभिभावक र शिक्षकहरूको सल्लाह पनि लिन सकिन्छ । यसका लागि साथीको व्यङ्ग्य– ‘पढाकू’ र ‘बूकवर्म’ जस्ता उपमाबाट डराउनुहुन्न ।
नकारात्मक सोच असफलताको पर्याय हो । नकारात्मक सोचले हाम्रो आत्मविश्वासलाई कमजोर पार्छ । नकारात्मक सोच भएका मानिसहरू हाम्रै छरछिमेकमा हुन्छन्, हाम्रै साथी वा नातेदार पनि हुन सक्छन् । उनीहरूको काम सकारात्मक कुरोलाई पनि नकारात्मक तवरले प्रस्तुत गर्नु हो । उदाहरणका लागि, यदि तपाईं राम्रो अड्ढ हासिल गर्नका लागि प्रयासरत हुनुहुन्छ भने उनीहरूले तपाईंले गरेको प्रयासको प्रशंसा नगरी ‘राम्रो अड्ढ यदि भाग्यमा छ भने हासिल भइहाल्छ, परिश्रम गर्नु मूर्खहरूको काम हो, परीक्षाको बेला प्रश्नपत्र आउट भइहाल्छ, फलाना गेसपेपर पढे राम्रो अड्ढ आउँछ, अहिले परीक्षाको लागि धेरै समय बाँकी छ’ जस्ता कुराहरूले तपाईंको प्रयासलाई विचलित गर्ने कोशिश गर्छन् । विद्यार्थीहरूले यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने हाम्रो सोचले नै हामीलाई सफलता तर्फ डोर्याउँछ र सकारात्मक सोच सफलताको पहिलो मापदण्ड हो । यदि हाम्रो सोच सकारात्मक छ भने विपरीत परिस्थितिमा पनि हामीलाई आशाको किरण देखापर्छ ।
आजभोलिका धेरैजसो विद्यार्थीहरू परिश्रम गर्दैनन् र येनकेन प्रकारेण राम्रो अड्ढ वा ग्रेड हासिल गर्ने प्रयास गर्छन् । यस्ता विद्यार्थीहरू परीक्षामा पैसाको बलमा निरीक्षकसँग सेटिङ मिलाएर सफल हुने चाहना राख्छन् । ध्यान दिनुपर्ने कुरो के हो भने नकल गरेर राम्रो अड्ढ हासिल गरेको परिणाम कहिले पनि सुखद हुँदैन । यस्तो क्रियाकलापले एकातिर उनीहरू सानै उमेरदेखि भ्रष्टाचारमा लिप्त हुन्छन् भने अर्कोतिर यसले भ्रष्टाचारलाई बढावा दिन्छ । यस्ता विद्यार्थीहरू नकल गर्दा नसमातिए पनि डरले ग्रसित हुन्छन् । यस कारण विद्यार्थी जीवनमा नैतिकता र इमानदारितालाई महत्व दिनुपर्छ । यस्ता विद्यार्थीहरू नै जागीरमा गएपछि उनीहरूको प्राथमिकता वैध वा अवैध जुन तरीकाले भए पनि धन आर्जन गर्ने हुन्छ । केटाकेटीहरूमा व्याप्त सिगरेट, रक्सी सेवन, केटीहरूसँग मौजमस्ती गर्ने मानसिकता एवं आपराधिक गतिविधिमा संलग्नताको एकमात्र कारण परिवारमा गलत बाटोबाट प्राप्त धन नै हो ।
विद्यार्थीहरूमा महत्वाकाङ्क्षा बढी हुन्छ तर प्रयास थोरै गर्छन् । यदि तपाईं अव्वल हुन चाहनुहुन्छ भने त्यसको लागि कठिन परिश्रम गर्नुपर्छ, शर्टकट बाटो अख्तियार गरेर केही हासिल हुँदैन । यहाँनिर के प्रश्न उठ्छ भने विद्यार्थीहरू शर्टकट बाटो किन रोज्छन् ? के उनीहरू कठिन परिश्रम गर्नबाट डराउँछन् ? के उनीहरूमा परिश्रम गरेर सफलता हासिल गर्ने क्षमता हुँदैन ? के उनीहरूमा चाहिएको जति योग्यता हुँदैन ? के उनीहरू अरूको योग्यता र क्षमताबाट भयभीत हुन्छन् ? यस्तो के कुरो हो जसले गर्दा उनीहरू मिहिनेतबेगर सफलता पाउन चाहन्छन् ? यस अमूल्य समयलाई कडा मिहनेत गरेर आफूलाई सफलताको शिखरमा पुर्याउनु नै जीवन हो । विद्यार्थीहरूले के बुझ्नुपर्छ भने उनीहरूमा असीमित ऊर्जा लुकेको छ । उनीहरूमा यस्तो शक्ति हुन्छ कि जे पनि गर्न सक्छन् । जस्तोसुकै सफलता पनि हासिल गर्न सक्छन् । अनि शर्टकटको गोलचक्करमा किन अलमलिने ? यदि उनीहरू केही समयका लागि ऐश–आराम त्यागेर पूर्ण निष्ठा र लगनका साथ पढाइमा ध्यान दिन्छन् भने सजिलै लक्ष्य हासिल गर्न सक्छन् ।
यस्ता धेरै विद्यार्थी छन् जसको ध्यान आफ्नो प्रमुख उद्देश्य ‘भविष्य निर्माण’ मा नभएर साथीहरूको लहलहैमा महँगो लुगा, मोबाइल, मोटरसाइकल, ठूला–ठूला होटलमा पार्टी दिनु र खानु हुन्छ । यस काममा केटीहरू पनि कम छैनन् । उनीहरू पनि अङ्ग प्रदर्शन गर्छन् । मलाई थाहा छैन विद्यार्थी जीवनमा यस प्रकारको दिखावटीपनाको अर्थ के हो ? यस्तो प्रवृत्तिले खासै लाभ पनि हुँदैन, नोक्सान भने बढी हुन्छ । यही कारण हो उनीहरू आफ्नो लक्ष्य बिर्सेर बेकारको प्रकरणमा फँस्छन् । विद्यार्थी जीवनपछिको सङ्घर्ष अहिले बाँकी नै छ । अहिले विद्यार्थीहरूले केही हासिल गरेनन् भने जीवभरि सङ्घर्ष गर्नुपर्छ । यस प्रकारको दिखावटीपनाले मानसिक शान्ति पनि प्राप्त हुँदैन ।
धेरैजसो विद्यार्थी अकारण अरूसँग ईष्र्या गर्छन् । ईष्र्याको गुण केटाभन्दा केटीहरूमा बढी हुन्छ । ईष्र्याको एकमात्र कारण अरूको स्तरसम्म पुग्न नसक्नु हो । कुनै विद्यार्थीले यदि राम्रो अड्ढ हासिल गर्छ भने ऊसँग ईष्र्या नगरी मार्ग निर्देशन लिनुपर्छ । ऊ कसरी पढ्छ ? उसले कसरी आफ्नो समय व्यवस्थापन गरेको छ ? यस कारण आफ्नो दोष स्वीकार गरेर अगाडि बढ्नु साहसीको काम हो, किनभने भूल सुधार गरेर सफलता शूरवीरले नै हासिल गर्न सक्छ । यस कारण विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरो के हो भने जुन समय उनीहरूले ईष्र्या गर्न नष्ट गरिरहेका छन् त्यस अमूल्य समयलाई यदि आफूलाई उत्कृष्ट बनाउन खर्च गर्न ध्यान दिन्छन् भने त्यस्ताले निश्चय नै अकल्पनीय सफलता हासिल गर्न सक्छन् । क्रमशः