प्रस, वीरगंज, ७ साउन/

वीरगंज महानगरपालिका अन्तर्गत ३२ वटा वडामा जडान भएका करीब चार हजारभन्दा बढी चापाकलमध्ये अहिले ९० प्रतिशतमा पानी आउन छाडेको छ । भूमिगत पानीको सतह घटेकोले अढाई महीनादेखि वीरगंज महानगरमा चापाकल सुकेर पिउने पानीको हाहाकार मचिएको छ ।

महानगरपालिकाले दुई दशक अवधिमा ३२ वटा वडामा करीब चार हजारवटा चापाकल जडान गरेको थियो । तीमध्ये अहिले ९० प्रतिशत चापाकल सुकेकाले पिउने पानीको समस्या सिर्जना भएको हो । पिउने पानीको समस्या समाधानका लागि अहिले खानेपानी संस्थान अर्को विकल्पको रूपमा देखिएको छ । महानगरले ३२ वटै वडामा खानेपानी संस्थानका चार हजार धारा निश्शुल्क जडान गर्ने घोषणा गरेको थियो ।

घोषणा गरेको डेढ महीना बित्दा पनि अहिलेसम्म यो अभियान शुरू भएको छैन । आम मानिस आफ्नो खर्चमा खानेपानी संस्थानबाट लाइन लिन व्यस्त छन् । मासिक पाँच सयको हाराहारीमा खानेपानी संस्थानका नयाँ धारा जडान भइरहेका छन् । पहिले मासिक २०–२५ वटा धारा मात्रै जडान हुन्थ्यो ।

डीप बोरिङमा रोक

वीरगंज महानगरपालिकाले डीप बोरिङ जडानमा रोक लगाएको छ । चापाकल सुकेपछि महानगरले नै केही वडाहरूमा डीप बोरिङ जडान गरेर पानीको जोहो गरेको थियो । डीप बोरिङ वडा नं १ देखि ५, ७ गरी छवटा वडामा १० थान जडान गरेको थियो । यसैगरी, कन्या मावि, माईस्थान विद्यापीठ र श्रीपुर मावि गरी तीनवटा विद्यालयमा पनि डीप बोरिङ महानगरले जडान गरेको छ ।

असार मसान्तमा जडान गरिएका डीप बोरिङ अहिले महानगर आफैंले बन्द गरेको छ । विद्यालयबाहेक अन्य ठाउँमा जडान भएका डीप बोरिङ महानगरले बन्द गराएको हो ।

विज्ञको सल्लाहमा डीप बोरिङ जडान गर्दा वरिपरिको खानेपानीको स्रोत सुक्ने सल्लाह अनुसार डीप बोरिङ जडान कार्य बन्द गरिएको हो । महानगर स्वयंले डीप बोरिङ जडान गर्न शुरू गरेपछि वीरगंज महानगरमा व्यक्तिगतरूपमा डीप बोरिङ जडान कार्यले तीव्रता पाएको थियो । डीप बोरिङ जडानका लागि महानगरपालिकासँग इजाजत लिनुपर्ने प्रावधान रहे पनि धेरैले आफूखुशी जडान गरेका छन् भने कमैले मात्र इजाजत लिएका छन् । पैसा हुने थुप्रैले डीप बोरिङ जडान गरिरहेका छन् ।

महानगरले पछिल्लो समयमा डीप बोरिङमा रोक लगाउँदै अटेर गर्नेलाई दण्ड जरिवाना पनि गरेको छ । वीरगंजमा निजी क्षेत्रका अस्पताल, अपार्टमेन्टहरू, उद्योग–प्रतिष्ठान र ठूलठूला उद्योगी–व्यापारीका घरमा डीप बोरिङ जडान गरिएका छन् । यसलाई नियन्त्रण गर्न महानगरले सकेको छैन । 

ट्याङ्करबाट पानी वितरण

चापाकल सुकेर पिउने पानीको समस्या भएका वडाहरूमा वीरगंज महानगरले दुई महीनादेखि ट्याड्ढरबाट पिउने पानी उपलब्ध गराउँदै आएको छ । पिउने पानीको समस्या भएका वडाहरूबाट माग भए अनुसार ट्याड्ढरबाट पानी उपलब्ध गराउँदै आएको महानगरले जनाएको छ । पिउने पानीको समस्या भएका वडा कार्यालयहरूमा अहिले स्थानीयहरूले पानीको माग गर्दै दैनिक विवाद गर्दै आएका छन् । आफूहरूलाई जसरी पनि पिउने पानी उपलब्ध हुनुपर्ने भन्दै उनीहरूले वडा कार्यालयमा धर्ना दिने गरेका छन् ।

वडा नं १ का बासिन्दाले आज वडा कार्यालयमा पानीको माग गर्दै धर्ना दिए । उनीहरूले वडाबाट समस्या समाधान नभए महानगरपालिकामा धर्ना दिने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here