प्रस, परवानीपुर, ७ साउन/
बारा प्रहरीले कुटपिट गरेका दुईजना घाइतेमध्ये एकजना दिल्ली रेफर भएका छन् । वीरगंजस्थित स्पर्श हस्पिटलमा भर्ना भएका नेपाली काङ्ग्रेस, बाराका सचिव भैयाराम यादवको यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि अस्पतालले दिल्ली रेफर गरेको छ ।
साउन १ गते राति ८ बजे जिल्ला प्रहरी कार्यालय, बारामा सवारी दुर्घटनासम्बन्धी मुद्दाको पञ्चायती भइरहेको बेला बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रूपेश साहले प्रहरी कार्यालयभित्रै सचिव यादव र नेकपा (एस)का नेता धु्रव यादवलाई कुटपिट गरेका थिए । कुटपिटबाट सचिव यादवको मेरुदण्डमा समस्या आएपछि स्पर्शमा भर्ना गरिएको थियो ।
घटनाको विरोधमा नेपाली काङ्ग्रेस, बाराको नेतृत्वमा विभिन्न राजनीतिक दलहरूले कलैयामा प्रहरीविरुद्ध धर्ना, प्रदर्शन गर्दै आएका छन् । उनीहरूले प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको सरुवा र घटनाका आरोपी सूचना अधिकारी प्रनाउ पाण्डे र प्रनि साहलाई कारबाईको माग गर्दै आएका थिए ।
यसैबीच, जिप्रका, बाराले घटनाका आरोपी प्रवक्ता पाण्डे र प्रनि साहलाई आइतवार सरुवा गरेको छ ।
प्रहरी उपरीक्षक बोगटीले घटनाका आरोपी दुवैजनालाई सरुवा गरिएको जानकारी गराए ।