प्रस, परवानीपुर, ५ साउन/
विगत लामो समयदेखि अनुसन्धान र पुस्तक प्रकाशनमा सक्रिय रहेको मार्टिन चौतारीको आयोजनामा वीरगंजमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सत्याग्रहको सहकार्यमा वीरगंज कलेजमा आयोजित छलफल दुई सत्रमा समापन भएको थियो । मधेस प्रदेशका आठ जिल्लाकै विषयवस्तुलाई एक वर्ष लगाएर अनुसन्धान गरी १२ वटा अनुसन्धानमूलक पुस्तक ‘मधेस प्रदेशमा पैदल अनुसन्धान’ पुस्तकमाथि पहिलो सत्रमा छलफल भएको थियो भने दोस्रो सत्रमा ‘नेपालमा सङ्घीयता कार्यान्वयनका सात वर्ष : मधेसको दृष्टिकोण’बारे छलफल चलेको थियो ।
सत्याग्रहका चन्द्रकिशोर झाको अध्यक्षता एवं मार्टिन चौतारीका सम्पादक सोहनप्रसाद साहको सहजीकरणमा पहिलो सत्रमा पुस्तकको विषयमा वीरगंज कलेजका प्रधानाध्यापक विनोद गुप्ता, सोही कलेजका अध्यक्ष डा दीपेन्द्र चौधरी, पटेर्वासुगौली गापाकी उपाध्यक्ष ममता महतो, अधिवक्ता प्रतिमा चौरसियाले टिप्पणीसहित पुस्तकका कमीकमजोरीबारेमा धारणा व्यक्त गरेका थिए । २८४ पृष्ठ लामो पुस्तकमा द्वितीय विधिबाट प्राप्त सूचनाको आधारमा १२ वटा अनुसन्धानमूलक पुस्तकले मधेसको वास्तविक समस्यालाई सम्बोधन नगरेको र मधेसको शिक्षा, स्वास्थ्य एवं वीरगंजको अर्थतन्त्र एवं बजेट वितरण, सुशासन, भ्रष्टाचारको ग्राफ देखाउने अनुसन्धानमूलक लेख नसमेटिएकाले त्यसतर्फ मार्टिन चौतारीले ग्रासरूटबाट अनुसन्धान अघि बढाउनुपर्ने वक्ताहरूले सुझाव दिएका थिए ।
‘नेपालमा सङ्घीयता कार्यान्वयनका सात वर्ष : मधेसको दृष्टिकोण’ विषयमा वीरगंजका वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईं र अधिवक्ता पन्नालाल गुप्ताले आआफ्नो विश्लेषनात्मक धारणा राखेपछि सहभागीहरूको लागि मञ्च खुल्ला गरिएको थियो ।
छलफल कार्यक्रममा वरिष्ठ अधिवक्ता सेढाईंले सङ्घीयता कार्यान्वयनमा निकै चुनौती देखिएको बताए । सातवटा प्रदेशमध्ये मधेसमा मात्रै एउटा सरकारले पाँच वर्षे कार्यकाल पुरा गरेको र अन्य प्रदेशमा सरकार बनाउने र खसाउने काम मात्रै भएको बताएका थिए । उनले कर्मचारी समायोजन गर्न नसकेको, सङ्घीय प्रहरी र प्रदेश प्रहरी समायोजन नभएको, सङ्घीय निजामती ऐन, शिक्षा ऐन नबनेको, मधेस प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध छवटा रिट दायर गर्नाले पनि नेपालमा सङ्घीयता कार्यान्वयनमा चुनौती थपिएको प्रस्ट पारेका थिए ।
सङ्घीयताले नेपालमा राष्ट्रियताप्रति कुनै खतरा नदेखिए तापनि सङ्घीयता खारेजीको लागि पनि केही शक्ति सक्रिय भएकोप्रति पनि सरोकारवालाहरू गम्भीर बन्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा लेक्चरर वीरेन्द्र साह, डा सुषमा तिवारी द्विवेदी, पोखरीया नपाकी पूर्वउपप्रमुख सलमा खातुन, नेपाली काङ्ग्रेसका नेता कञ्चन झा, माओवादी नेता सलाउद्दीन अहमदलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।