- राजेन्द्रप्रसाद कोइराला
विपी कोइराला (१९७१–२०३९)को परिचय राजनीतिक द्रष्टा मात्र होइन । उनलाई साहित्यिक सिर्जनामा पनि आफ्नो एक पृथक स्थान बनाउन सफल भएका व्यक्तित्वका रूपमा लिने गरिन्छ । त्यस बेलाको सामाजिक चेतनाको स्तर नै नभएको समयमा यौन विषयमा साहित्य सिर्जना गर्नु आफैंमा एउटा सामाजिक क्रान्तिको बिगुल नै थियो ।
राजनीतिमा प्रजातान्त्रिक समाजवाद उनको धार हो भने साहित्यमा उनी मनोविश्लेषणवादी र अस्तित्वादी स्रस्टा हुन् । बहुमुखी साहित्य स्रस्टा विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यका कविता, जीवनी, निबन्ध, आलोचना र पत्र आदि विधामा रुचि देखाए पनि उनी मूलतः आख्यानकार हुन् । आधुनिक नेपाली कथामा नवीन मनोवैज्ञानिक धारा र प्रवृत्तिहरूको प्रवर्तन र प्रवद्र्धन गरी कोइरालाले युगान्तकारी र युगप्रवर्तक कथाकारको रूपमा आफूलाई चिनाउन सफल भएका छन् । कोइरालाका उपन्यासहरू उनको जीवनचिन्तनका कलापूर्ण अभिव्यक्ति हुन् ।
उनलाई नेपालको सबैभन्दा केरिसमेटिक (करिश्मामय) नेताको रूपमा लिइने गरिन्छ । उनी नेपाली साहित्यका त्यस बेलाका सबैभन्दा धेरै पढेका र विचारशील साहित्य स्रष्टाको रूपमा चिनिन्छन् । शुरूमा उनले छोटो कथा र कविता लेख्न शुरू गरे । उनले हिन्दीमा लघुकथा लेख्न शुरू गरे । उनको पहिलो कथा प्रेमचन्दद्वारा सम्पादन गरिएको साहित्यिक पत्रिका हंसमा प्रकाशित भएको थियो । उनको पहिलो नेपाली लघुकथा ‘चन्द्रवदन’ सन् १९३५ मा नेपाली साहित्यिक पत्रिका शारदामा प्रकाशित भएको थियो । उनी नारीको चरित्र र मनको चित्रण गर्न निकै सिपालु मानिन्छन् ।
सन् १९३८ मा दार्जिलिङबाट प्रकाशित कथा कुसुम (नेपाली कथाहरूको सङ्ग्रह)मा कोइरालाका अन्य चारवटा कथा समावेश गरिएका थिए । नेपाली साहित्यको इतिहासमा मानव मनोविज्ञानमा आधारित कथा र उपन्यास लेख्ने पहिलो लेखक भएकाले राम्रो मनोवैज्ञानिक अन्तरदृष्टि भएका सामाजिक यथार्थवादीका रूपमा कोइरालाले सन् १९३८ सम्ममा आफूलाई सबैभन्दा महत्वपूर्ण नेपाली लघुकथा लेखकका रूपमा स्थापित गरेका थिए । दोषी चश्मा, कोइरालाको १६ लघुकथाका सङ्ग्रह सन् १९४९ मा प्रकाशित भएको थियो । उनी नेपाली साहित्यमा योगदान दिने सबैभन्दा महान् लेखकमध्ये एक हुन् भन्दा केही फरक नपर्ला ।
राजनीतिक माध्यमबाट जीवनको जिगीषा चाहने कोइरालाले साहित्य र उपन्यासको माध्यमबाट जिजीविषा चाहेका थिए । आधुनिक नेपाली चिन्तकका रूपमा कोइरालाले मानवजीवन र खासगरी नेपाली जीवनका सबै क्षेत्रमा स्पष्ट दृष्टि निर्माण गरे । पूर्वीय र पाश्चात्य चिन्तन तथा साहित्यको अनुशीलनबाट उनमा यस्तो स्पष्ट दृष्टिको विकास भएको हो भन्दा केही फरक नपर्ला । उनका सिर्जनामा फ्रायडवादको ठूलो प्रभाव देखिन्छ ।
सुन्दा आश्चर्य लाग्छ, उनको साहित्यिक यात्राको समय भनेको विसं २०१७ देखि २०२५ सम्म मात्र हो । कारावास बसाइको त्यो अवधिलाई उनले भरपूर सदुपयोग गरे । यस अवधिमा उनले छवटा उपन्यास लेखे । प्रकाशनका दृष्टिले पहिलो उपन्यास तीन घुम्ती (२०२५) हो भने अन्तिम उपन्यास बाबु, आमा र छोरा (२०४५) हो । उनका अरू चारवटा उपन्यास यस प्रकार छन्– नरेन्द्र दाइ, सुम्निमा, मोदिआइन र हिटलर तथा यहुदी ।
उनी यति विलक्षण प्रतिभाका धनी थिए कि तीनदेखि आठ दिनका बीचमा एउटा उपन्यास लेखिसक्थे । छोटकरीमा भन्दा विपीको उपन्यास लेखनमा उनकै प्रतिभाव्युत्पत्ति र अभ्यास तथा कारावासको वातावरण मूल कारक र अनुप्रेरक रहेका छन् ।
२०२५ देखि २०२७ सम्मको अवधिलाई उनको पहिलो चरणको रूपमा लिइन्छ भने २०३६ देखि २०४५ सम्मको करीब एक दशक दोस्रो चरणको रूपमा लिइन्छ । उनका प्रत्येक उपन्यासमा कुनै न कुनै रूपमा मानवीय समस्या, नियति, अस्तित्व र चिन्तनलाई सर्वाेपरी महत्व दिइएको पाइन्छ ।
उनको तीन घुम्तीमा नारीको जीवनमा आइपरेका विभिन्न सड्ढटका बारेमा व्याख्या गरिएको छ । नारी अस्तित्वका समस्याको खोज र नियतिले देखाएका समस्याहरूको भोक्ता नारी आफैं हो भन्ने चिन्तनमा इन्द्रमायालाई प्रस्तुत गरिएको छ ।
नरेन्द्र दाइ मानव नियतिको सफल अभिव्यक्ति हो । यस उपन्यासका पात्रहरू नरेन्द्र, गौरी, मुनरिया कसैको पनि दोष देखिंदैन तर उनीहरू पूर्णतः दोषी बनेका छन् । कोही कसैसँग र स्वयंमा सन्तुष्ट छैनन् ।
सुम्निमामा कोइराला लेख्छन्– आध्यात्मिक र भौतिक तत्वको सहअस्तित्वमैं मानवजीवनको पूर्णता र सफलता निर्भर छ । किराँती कथालाई आधार मानी लेखिएको यस उपन्यासमा ‘सर्वधर्म समन्वय’को दर्शन अभिव्यक्त भएको छ । यस उपन्यासले जातीय, सांस्कृतिक, भाषिक र मानवीय सहअस्तित्वको कलात्मक सन्देश दिन्छ भने मानिसलाई कृत्रिम दैवीवृत्ति छाडेर सहज मानववृत्ति अ·ीकार गरी जीवनको गतिलाई अगाडि बढाउन पनि सल्लाह दिन्छ ।
उनका मोदिआइन र हिटलर तथा यहुदी दुई उपन्यास गीतादर्शनमा आधारित छन् । कोइरालाका यी दुर्ई उपन्यासमा एउटाले नेपाली सन्दर्भ लिइएको छ भने अर्काेले अन्तर्राष्ट्रिय । उनले धर्मनिरपेक्षरूपमा गीताको अध्ययन गरी उपन्यासको माध्यमबाट आफ्नो नवीन दृष्टि प्रकट गरेका छन् । धर्मनिरपेक्ष भएर गीताको अध्ययन गर्दा त्यहाँ कर्तव्यपालन, धर्मरक्षा र राष्ट्रवादको नाममा अतिमानवीय शक्तिद्वारा अभिप्रेरित र निर्देशित नरसंहार, मानवताको अपमान र विध्वंसकारी युद्ध विभीषिकाका दृश्य देखिन्छन् । यी सिर्जनाहरूबाट कोइराला भन्न चाहन्छन् कि हामी ठूलो मान्छे होइन असल मान्छे बन्नुपर्छ ।
उनको अन्तिम उपन्यास बाबु, आमा र छोराान मानव नियतिको प्रबलतम नमूना र कठोर दण्डको कलात्मक अभिव्यक्ति पाइन्छ । यस उपन्यासमा चिन्तनमूलक, तर्कपूर्ण र संस्मरणात्मक अभिव्यक्तिद्वारा नियतिको शिकार नायिकाको उमेरका तीन मनोदशाको अध्ययन गरिएको छ । उपन्यासकी मूलपात्र उमा भाग्यको (नियतिको) दिशानिर्देशमा तीनवटा निर्णय लिन बाध्य हुन्छिन् । त्यसैले यस पुस्तकको शुरूमा नामकरण ‘त्रिभङ्गा उमा’ थियो तर पछि प्रकाशित हुँदा यसको नाम बाबु, आमा र छोराको नाममा पाठकहरूको माझ आइपुग्यो ।
कोइराला प्रजातान्त्रिक समाजवादी राजनीतिक चिन्तक र विश्लेषक हुन् भने उनकै शब्दमा उनी साहित्यतर्फ अराजकतावादी हुन् । उनी साहित्यकारका रूपमा एक बहुमुखी प्रतिभा हुन् भने मनोवैज्ञानिक कथालेखन र वैचारिक उपन्यासलेखन उनका विशिष्ट उपलब्धिहरू हुन् । साहित्यका तर्फबाट उनले पूर्वीय तथा पाश्चात्य चिन्तन, दर्शन र कलाको अध्ययनबाट वर्तमान मानव समाज र विशेषगरी नेपाली समाजसापेक्ष मौलिक चिन्तनको विकास गरी आफ्नो कुशल साहित्यशिल्पका माध्यमबाट त्यसलाई समायोजन गरेका छन् ।
कोइरालाका सबै कृतिमा कतै पश्चिमी, कतै पूर्वीय दर्शन र चिन्तनको प्रभाव देखिए पनि कुनै एक धर्म र दर्शनको एकपक्षीय यथावत् प्रयोग गर्न यी कृतिहरू लेखिएको पाइँदैन, बरु सबै धर्म र दर्शनको सार समाहित गरेर मौलिक मानवीय जीवनमूल्यलाई औपन्यासिक शिल्प प्रदान गर्न लेखिएका छन् ।
अन्त्यमा,
लोकतान्त्रिक आन्दोलनको गतिमा उनको राजनीतिक कोर्सलाई अग्रगामी चिन्तनको रूपमा लिइन्छ । उनले आफ्नो जीवनका अधिकांश समय अधिनायकवादी राजनीतिको विरुद्धमा बिताए । राणा र पञ्चायतको कोपभाजनबाट उनले धेरै दुःख पाए । वास्तवमा उनले लामो समय जेल र निर्वासनमैं बिताए । तथापि एक राजनीतिज्ञको रूपमा र एक साहित्य स्रष्टाका रूपमा उनले आफ्नो बेग्लै पहिचान बनाएका छन् । विश्व मानचित्रमा उनलाई संसारका सबै मुलुकमा एक प्रेरक राजनीतिज्ञ र साहित्यकारको रूपमा लिने गरिन्छ । हामी नेपालीलाई उनले गर्विलो बनाएका छन् ।