- विश्वराज अधिकारी
अन्तरजातीय विवाह
अमेरिकामा युवा र युवतीबीच वा महिला तथा पुरुषबीच विवाह दुवैको मन मिलेपछि हुन्छ । विवाह गर्नका लागि जात, धर्म, रङ्ग, आर्थिक हैसियत, सामाजिक तह आदि हेरिंदैन । अमेरिका जातिविहीन समाज हो । विवाह हुनका लागि पूर्वशर्त हो, जोडीको एकअर्कासँग मन मिल्नु । युवती र युवकको मन मिलेपछि विवाह हुन्छ र त्यो विवाहलाई छेक्न जात वा धर्म पर्खाल बनेर युवती र युवाको बीचमा आउँदैन । भाषा र संस्कृति पनि पर्खाल बन्दैन । यसैगरी, आर्थिक हैसियत वा सामाजिक प्रतिष्ठा पनि पर्खाल बन्दैन ।
विवाह गर्नका लागि कुनै एक युवती र कुनै एक युवकको मन एकअर्कासँग मिल्छ वा मिल्दैन भन्ने परख स्वयम् ती युवती र युवकले एकअर्कासँग घुलमिल भएर गर्नुपर्छ । घुलमिल हुने त्यो समयलाई अमेरिकी समाजमा ‘डेटिङ’ पनि भन्ने गरिन्छ । उनीहरूको मन मिल्न वा नमिल्न राय, विचार वा दबाब उनीहरूलाई बाह्य व्यक्ति वा अन्य कसैले दिंदैन । कुनै पनि विवाहमा विवाह हुने व्यक्ति–युवती वा युवकको मातापिताको भूमिका लगभग शून्य हुन्छ । सामाजिक प्रभाव शून्य हुन्छ । समाजले अप्रत्यक्षरूपमा पनि प्रभाव पार्न सक्तैन ।
श्वेत महिलाले अश्वेत पुरुषसँग, अश्वेत महिलाले श्वेत पुरुषसँग, श्वेत पुरुषले अश्वेत महिलासँग र अश्वेत पुरुषले श्वेत महिलासँग विवाह गरेको देख्न सकिन्छ । उनीहरूबाट भएका सन्तानहरू पनि देख्न सकिन्छ । सङ्ख्यात्मक हिसाबले हेर्ने हो भने श्वेत महिलाहरूले अश्वेत पुरुषहरूसँग विवाह बढी गरेको देखिन्छ । विवाह गर्ने विषयलाई केलाएर हेर्ने हो भने अमेरिकाभित्र अन्य देश, धर्म, र·का व्यक्तिहरूसँग विवाह गर्नमा श्वेत अमेरिकी महिलाहरू अग्रपङ्क्तिमा देखिएका छन् । अर्थात् अमेरिकी श्वेत महिलाहरू बढी उदार देखिएका छन् ।
श्वेत अमेरिकी पुरुषहरूले थाई, फिलिपिनो, जापानी, कोरियन, भारतीय, नेपाली, चाइनिज, इटालियन, स्पेनिश, जर्मन आदि देशका महिलासँग विवाह गरेका देखिन्छन् । उनीहरूबाट वा दुर्ई देशका नागरिकबीच विवाह भएर सन्तानहरू भएका देखिन्छन् । यस्तै स्थिति श्वेत अमेरिकी महिलाहरूमा पनि देखिन्छ । उनीहरूले पनि संसारका विभिन्न राष्ट्रका पुरुषहरूसँग विवाह गरेका देख्न सकिन्छ । कुनै पनि अमेरिकी युवक वा युवतीले विवाहका लागि आफ्नो मन मिल्नुलाई उच्च प्राथमिकतामा राखेको पाइन्छ । कुन देशको, कुन जातको, कुन धर्मको, कुन रङ्गको भन्ने विषयले कुनै पनि अर्थ राख्दैन ।
विवाहको सम्बन्धमा अमेरिका संसारभरिमा नै अति उदार देशहरूमध्ये एक हो । राष्ट्रिय सड्ढीर्णता वा अति राष्ट्रवादी भावनाले ओतप्रोत भएर विदेशी वा अन्य धर्मका व्यक्तिहरूसँग थोरै अमेरिकीहरूले पनि विवाह नगरेको देखिंदैन । विवाहप्रति अमेरिकी समाजको मनोविज्ञान नै अति उदार छ । बाहिर (विदेश)बाट आएको कुनै युवक वा युवतीमाथि छिट्टै विश्वास गरेर उनीहरूसँग अमेरिकी युवायुवतीहरूले कुनै ठूलो जाँच, परख, छानबीनविना केवल मन मिलेपछि विवाह गरेका पाइन्छन् । यस्ता अनेक कुराहरूले विवाहप्रति अमेरिकी समाज अति नै उदार रहेको देखिन्छ ।
अमेरिकी जीवनशैलीको एउटा महत्वपूर्ण पक्ष मन नमिलेपछि विवाह भएको जतिसुकै लामो अवधि भए तापनि सम्बन्धविच्छेद गर्ने र मन मिलेपछि जुनसुकै उमेरमा पनि विवाह गर्ने हो । विवाह गर्नका लागि कुनै महिला वा पुरुषलाई उसको पाको उमेर पर्खाल बन्दैन । ८० वर्ष उमेर पुगेको कुनै एक महिलाले पनि विवाह गरेको देख्न पाइन्छ । यसैगरी, ८० वर्ष उमेर पुगेको कुनै पुरुषले पनि विवाह गरेको देख्न सकिन्छ । यसरी पाको उमेरका कुनै व्यक्तिले विवाह गरेमा न त उसको परिवार, न त समाजले नै उपहास गर्छ, खिल्ली उडाउँछ, कुरा काट्छ । समाजले ‘यो कुनै एक व्यक्तिको निजी जिन्दगीको कुरा हो’ भनेर कुनै पनि किसिमको चासो राख्दैन । चियोचर्चा गर्दैन । पाको उमेरमा विवाह गर्नुलाई अमेरिकी समाजले ‘यौन तृप्ति’को रूपमा नलिएर सुरक्षा र सहयोगको खोजीको रूपमा लिन्छ । प्रौढ उमेरका महिला पुरुषहरूले विवाह गर्दा एकले अर्काेलाई सुरक्षा दिने, एकले अर्काेलाई सहयोग गर्ने भाव राखिएको हुन्छ । क्रमशः