• बैधनाथ श्रमजीवी

यतिबेला गाउँँ, शहर, तराई, पहाड सबैतिर महिलाहरू हरियो पहिरनमा देखिने गरेका छन् । त्यसैगरी, मात्रात्मकरूपमा अलिकति कम देखिए पनि पुरुषहरू गेरुवा वस्त्रमा देखिने गरेका छन् । यो साउन महीनालाई शिवको महीनाको रूपमा हिन्दू धर्मावलम्बीहरूको धर्मग्रन्थहरूमा उल्लेख गरिएको हुनाले महिला तथा पुरुष दुवैको भीड शिवमन्दिरहरूमा सबैतिर देखिन्छन् । हुनत हाम्रो समाजमा भौतिकवादी विचार नभएको होइन । भौतिकवादीहरूले जहाँ धार्मिक क्रियाकलापहरूलाई अन्धविश्वास र रुढीवादिता तथा पाखण्डताको पराकाष्ठासँग जोडेर हेर्ने गर्छन्, त्यही यतिबेला हिन्दूवादीहरूकै बीचमा अनेकौं मतभेद रहेका देखिन्छन् । एकथरीले बलिप्रथालाई उचित मान्छन् भने अर्काथरीले अनुचित मान्छन् । यो साउन महीनामा शिव बेलपत्र चढाउनुपर्ने हो, न कि हरियो वस्त्रमय शृङ्गार भन्ने धर्मगुरुहरूले आजभोलि खुलेरै सार्वजनिकरूपमैं विरोध गर्ने गरेका पाइन्छन् । हरियो पहिरनलाई विदेशी (भारतीय) संस्कृतिको दास भएको आरोपसमेत लगाउन थालिएको देखिन्छ । आउनुस् यसबारेमा थोरै चर्चा गरौं–

यतिबेला प्रायः महिलाका नाडी काँचका हरिया चुराले सजिएका देखिन्छन् । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उम· छाएको छ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडा महिलाको प्रथम रोजाइमा परेका छन् । पछिल्ला वर्षहरूमा किशोरीमा समेत मेहदी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास, टिकटक तथा फेसनका रूपमा लिन सकिन्छ । विशेषगरी साउनको सोमवार शिवजीको व्रत र पूजा गर्ने चलन छ । प्रायः महिलाहरूलाई ‘साउनमा हरियो चुरा लगाउँँदा चिताएको इच्छा पूरा हुन्छ’ भन्ने विश्वास रहेको देखिन्छ । हाम्रो समाजमा साउन महीना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महŒवपूर्ण भएकाले भन्दा पनि यसमा बजारवाद र उपभोक्तावाद जबरदस्त किसिमले हाबी भएको सहजै हेर्न सकिन्छ । वास्तवमा यतिबेला अर्थात् साउने सङ्क्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन बिस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहदी लगाउनेको सङ्ख्याचाहिं वर्षैपिच्छे टिकटक तथा विभिन्न टेली सिरियलहरूले गर्दा बढ्दै गएको देखिन्छ । ‘टेलिभिजनको पर्दामा भएका सदस्यका हत्केला र पाखुरामा मेहदी तथा हरियो सारी, ब्लाउज, सुट, चुरा, टीका, धागो आदि देखेपछि सबैले रहरले लगाउने गरेका देखिन्छन् । यसले गर्दा साउनमा शृ·ारका सामान अन्य महीनाको तुलनामा निकै बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् ।
बोलबम काँवरिया तथा हरियो पहिरन धारण गर्ने महिलाहरूका कारण साउनको पहिलो दिनदेखि नै बजारमा रहेका कपडा तथा शृ·ारका सामानका पसलमा चुरा, पोते, हरिया, राता, पहेंला वस्त्र खरीदकर्ताका भीड बढेसँगै व्यापार बढिरहेको सजिलै देख्न सकिन्छ ।

साउनको प्रत्येक सोमवार शिवको मन्दिरमा पूजा गर्न जाने महिला, पुरुषको घुइँचो हुने गर्छ । विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन् । महिलाले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन् ।

जनकपुर उपमहानगरपालिकाको भानुचोकमा बस्दै आएकी तुलसा भट्टराईले पनि साउन महीनाको पहिलो दिनदेखि नै हातमा हरियो चुरा, मेहदी र रातो कुर्ता, सुरुवालमा सजिएर हिंड्ने र सोमवार व्रतसमेत बस्न थालेको बताइन् ।

यतिबेला घरायसी महिलादेखि कार्यालयमा काम गर्ने र ड्युटीमा खटिएका कतिपय महिला ट्राफिक प्रहरीसमेतले हरियो चुरा लगाएका देखिन्छन् । हरियो चुरा, पोते लगाउने शास्त्रीय मान्यता नभए पनि भिजुअल प्रभावका कारणले यसको चलन बढ्दो छ । हातमा हरियो, रातो र पहेंलो चुरा लगाएर शिवजीको पूजा गर्दा शिवजी खुशी हुने गर्छन् भन्ने मान्यता रहेको छ । यसरी देखासिकीले नै हरियो वस्त्र धारणको प्रचलन स्थापित हुन थालेको छ । ग्रामीण क्षेत्रमा यसको असर सामान्य देखिए तापनि शहर बजारमा यसलाई अनावश्यक तडकभडकका रूपमा पनि मनाउन थालिएको देखिन्छ ।

के छ पौराणिक मान्यता ?

पौराणिक मान्यता अनुसार साउन महीना शिवको महीनाका रूपमा लिइन्छ । पार्वतीले साउन महीनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान् शिव’लाई प्राप्त गरेको प्राचीन विश्वासका आधारमा महिलाले यसलाई बढी महत्वका रूपमा लिने गर्छन् । साउनमा हरियो पहिरिंदा शिव खुशी हुने धार्मिक विश्वास छ । हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ ।

हरियो उपचारको रङ पनि हो, जो मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण–पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी, हरियो रङ्गलाई सौभाग्यको प्रतीकको रूपमा पनि अर्थाइने गरिन्छ साथै यो हरियालीको महीना पनि हो र यो महीना प्रकृतिसँग आफूलाई जोड्ने महीना पनि हो । यस महीनामा हरियो र·का कपडा लगाएर प्रकृतिसँग नजीकिन खोजिएको हो भन्ने तर्कहरू पनि गर्ने गरिन्छ । विभिन्न धर्मग्रन्थहरूमा प्रकृतिलाई ईश्वरका रूपमा लिइएको देखिन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयुसमेत बढ्ने धार्मिक विश्वास छ । कतिपयले हरियो रङलाई प्रेमको, रातो रङलाई सौभाग्यको एवं पहेंलो रङलाई पवित्रताको प्रतीकका रूपमा समेत व्याख्या गर्ने गर्छन् । त्यसैगरी, हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ । बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने ज्योतिषीय मान्यता रहँदै आएको छ ।

चुरा, पोते र कपडासँगै साउन महीनामा हातभरि मेहदी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहदीको रङ राख्यो, उति नै बढी पतिको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाले यही विश्वासमा मेहदी लगाएका छैनन् । आज नेपाली समाजमा पुराना र मौलिक संस्कृति विस्थापित हुँदै नयाँ–नयाँ संस्कृति भित्रिन थालेका छन् । द्वन्द्ववादको नियम अनुसार पुरानोलाई नयाँले निषेध गर्छ । हरेक वर्ष चाडपर्व, संस्कृति र परम्परा घुमिफिरी दोहोरिने गर्छन् । साउन महीनाको सुरुआतसँगै हरियो चुरा, पोते र कपडाको फेसन नयाँ संस्कृति बनेर विगत केही वर्षयता नेपालमा भित्रिएको छ । यो नेपालीको मौलिक संस्कृति होइन, न परम्परा नै हो, यो त देखासिकीको आयातित संस्कृति हो । सभ्यताको विकास भएका प्रमुख देशमध्ये इजिप्ट भएपनि अहिले त्यहाँका कैयौं नागरिक विश्वमैं असभ्य मानिन्छन् । यतिसम्म कि इजिप्टका नागरिक मिश्रीहरू वैदेशिक रोजगारमा बाहिरी मुलुकमा गए भने घरबाट हिंडेदेखि नफर्किंदासम्म दाँत नमाझ्ने पनि छन् । चुरा लगाउने प्रचलन पनि इजिप्टबाटै आएको इतिहासले बताउँछ । तर नेपालमा भने भारतीय संस्कृतिबाट चुरा लगाउने परम्परा भित्रिएको मानिन्छ । हरियो चुरा मूलतः देखासिकीको संस्कृति बनेको छ । जसरी केही वर्षयता तीज आउन एक महीना छँदै दर खाने संस्कृति शुरू भएको छ, त्यसरी नै यो हरिया चुरा लगाउने संस्कृति पनि मौलाउँदै गएको छ । यसको यथार्थता र महत्व नबुझी छिमेकीको प्रभावले साउनमा हरियो चुरा लगाइ मनको रहर पूरा गर्ने परम्पराको रूपमा विकास हुन थालेको छ । हुनत जसलाई जेजस्तो मन लाग्छ, कानूनमा आँच नआउने गरी लगाउन, खान र गर्न पाउनु लोकतान्त्रिक मूल्य–मान्यताको नैसर्गिक अधिकार हो । तर अधिकार र इच्छाका पछाडि कर्तव्य र कारणबोध गर्नु पनि जरुरी हुन्छ । मानव समाजको विकाससँगै धर्म, संस्कृति, रहनसहन, पहिरन र शृङ्गरको विकास हुँदै जाँदा धातुका गरगहना प्राचीनकालदेखि नै शुरू भएको पाइन्छ । महिलाले हाम्रो संस्कृतिबमोजिम तीज, दशैं, तिहार जस्ता चाडपर्व, विवाह पार्टी, समारोह जस्ता कार्यक्रममा विभिन्न रङ र डिजाइनका चुरा लगाउने चलन छ । तर हरियो चुरा लगाउने भन्ने विषयमा धार्मिक र सांस्कृतिक महत्वबारे कतै पनि चर्चा गरेको पाइँदैन । हरियो चुरा, पोते र कपडाबारे फरक–फरक कोणबाट फरक–फरक धारणा आउने गरेका छन् । नारीहरूले थप व्याख्या गरी हरियो चुरा, पोते र कपडा पहिरिएर शिवजीको आराधना गरी विवाहित महिलाले आफ्नो पतिको दीर्घजीवन माग्छन् भने अविवाहित नारीले राम्रो पतिको कल्पना र कामनामा इच्छाशक्ति राख्छन् । कसैले हरियो रङलाई वातावरणको प्रतीक मान्छन् भने युवायुवतीले पे्रमको प्रतीक पनि मान्छन् । हरियो चुरा, पोते र कपडाले प्रकृति र वातावरण संरक्षणको सन्देश दिन खोजेको कसैले बताउँछन् । तर साउनमा मात्र किन ? सधैं प्रयोग गरे त भैगो भन्नेहरू पनि छन् । यसबारे कसैले भन्छन्– बनाउने कम्पनीले कुनै माध्यमले साउनमा हरियो चुरा, पोते र कपडा लगाउनुपर्छ भन्ने हल्ला फिजाएपछि अन्य समयमा बिक्री नहुने यी चीजहरू वर्षमा एकपटक बिकाउनका लागि उत्पादन गर्ने कम्पनीहरूले गरेका कूटनीतिक खेल देखासिकीको रूपमा संस्कृतिको सुरुआत गराएको हो । उता हरियो रङलाई विशेषज्ञले शीतलता र स्फूर्ति प्रदान गर्ने रङ भनेका छन् भने यसले आँखालाई फाइदा गर्छ पनि भनेका छन् ।

चुरा व्यवसाय मुस्लिम समुदायले बढी गर्ने भएकाले पनि उर्दू वा अरबी भाषाबाट पनि चुराको नामकरण गरेको पाइन्छ । चुरा नेपाली संस्कृति त होइन नै, यद्यपि विवाहित नारीले शृङ्गार र सुन्दरताका लागि चुरा लगाउन सुरुआत गरेको पाइन्छ, तर अहिले त विवाहित अविवाहित सबैले लगाउन शुरू गरेका छन्, यो बनाउन प्रयोग गरिने कच्चा पदार्थले मानव शरीरलाई कति फाइदा वा नोक्सानी गर्छ । यसबारे अधिकांश महिलालाई थाहा भने छैन । विशेषज्ञले हरियो रङलाई शान्तिको प्रतीक, सकारात्मक ऊर्जा सञ्चारको रङ भने पनि नेपाली समाजले हरियो चुरा, पोत र कपडा लगाउनुले पतिको आयु बढाउने कुरालाई सकारात्मकरूपमा लिन वा पत्याउन सक्तैन । अझ यसलाई परम्परागत मान्यतामा ढाल्नेले त अर्कै फरक अर्थमा व्याख्या गर्न पनि बेर लगाउँदैनन् ।

हरेक साउन महीनाको सुरुआतसँगै शुरू हुने हरियो चुरा, पोते र कपडाको संस्कृति मूलतः आयातित देखासिकी हो । बिक्री नभएका हरियो चुरा, पोते र कपडा बिकाउने कम्पनीको अप्रत्यक्ष प्रचार हो र अनावश्यक खर्च बढाउने विलासिता पनि हो । तर समयसँगै संस्कृतिको जगेर्ना गर्नु पनि राम्रो पक्ष हो । साउन र हरियोलाई जोडेर प्रचारप्रसार गर्नु, चुरा–पोतेसँगै हरियो वस्त्र लगाउनु संस्कृतिको विकसित रूप पनि हो । तर यसलाई केवल अन्धविश्वासको रूपमा शिवजस्तो वर पाउन गरिएको वर्त र फेसन जसरी पनि गर्नु छ को मनोविज्ञानले आधारभूतरूपमा साउनमा हरियो वा गेरु वस्त्र धारणले पुरुष, महिला दुवैलाई हाम्रो मौलिक संस्कृतिभित्र विकृति हुलेको भन्दा गलत नहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here