प्रस, वीरगंज, ४ साउन/
वीरगंज महानगरपालिकाको आन्तरिक राजस्व अघिल्लो आव (२०७८/७९) को तुलनामा गत आव (२०७९/८०) मा छ करोडले बढेको थियो भने लक्ष्यभन्दा दुई करोड बढी राजस्व सङ्कलन भएको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए।
अघिल्लो आवमा आन्तरिक राजस्व ५१ करोड २२ लाख २४ हजार ४९० सङ्कलन भएको थियो भने गत आवमा ५७ करोड एक लाख ७३ हजार २०१ सङ्कलन भएको थियो। गत आवमा महानगरपालिकाले आन्तरिक राजस्व सङ्कलनको लक्ष्य ५५ करोड राखेको थियो। जसमा लक्ष्यभन्दा दुई करोड र अघिल्लो आवको तुलनामा छ करोड बढी राजस्व सङ्कलन भएको प्रमुख कर्णले बताए।
अघिल्लो आवमा घरजग्गा रजिस्टे«शन दस्तुरबाट मात्रै महानगरले भूमिसुधार तथा मालपोत कार्यालय, पर्साबाट ४६ करोड २३ लाख ५९ हजार ४९ प्राप्त गरेको थियो, जसले गर्दा अघिल्लो आवको कुल राजस्व सङ्कलन ९७ करोड ४५ लाख ९३ हजार ५४० पुगेको थियो। घरजग्गा रजिस्ट्रेशन दस्तुर शीर्षकमा गत आवमा रकम आएको छैन तर भूमिसुधार तथा मालपोत कार्यालय, पर्साबाट घरजग्गा रजिस्टे«शन दस्तुरबापत आउने रकम अब सीधैं महानगरको लेखा शाखामा बाँडफाँड शीर्षकमा दाखिला हुने गरेको छ। यो शीर्षकमा गत आवमा करीब साढे ११ करोड रकम आएको थियो।
गत आवमा भूउपयोग नीति अन्तर्गत कित्ताकाट लामो समयसम्म रोकिएको कारण जग्गा खरीद–बिक्री कार्य प्रभावित भएर मालपोतबाट अपेक्षाभन्दा निकै कम रकम आएको हो।
महानगरले गत आवमा अघिल्लो आवको तुलनामा सम्पत्ति करमा सवा चार करोड बढी राजस्व सङ्कलन गरेको थियो। अघिल्लो आवमा १७ करोड आठ लाख ३९ हजार ७५६ राजस्व सङ्कलन गरेको महानगरले गत आवमा सम्पत्ति करबाट २२ करोड ७६ लाख ७८ हजार ६७२ राजस्व सङ्कलन गरेको थियो। यसैगरी, घरबहाल करबापत ११ करोड ५४ लाख ४३ हजार १५९ सङ्कलन गरेको थियो। अघिल्लो आवमा यो शीर्षकमा १० करोड ६८ लाख ७६ हजार ८१९ सङ्कलन भएको थियो।
पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर भने अघिल्लो आवको तुलनामा गत आवमा रु तीन करोडले घटेको थियो। अघिल्लो आवमा चार करोड १० लाख २५ हजार ७०५ सङ्कलन भएको थियो भने गत आव एक करोड तीन लाख ६३ हजार ८१५ मात्र सङ्कलन भएको थियो। बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर भने बढेको छ। अघिल्लो आवमा ६८ लाख ८७ हजार ३९४ सङ्कलन भएको थियो भने गत आवमा ७३ लाख ३२ हजार ५५४ सङ्कलन भएको थियो।
व्यवसाय रजिस्टे«शन कर पनि अघिल्लो आवको तुलनामा बढेको थियो। अघिल्लो आवमा एक करोड ८४ लाख ५७० सङ्कलन भएको थियो भने गत आवमा दुई करोड ७५ लाख १२ हजार ८५० सङ्कलन भएको थियो। अन्य सेवा शुल्क अघिल्लो आवमा दुई करोड ६९ लाख सात हजार ३०६ सङ्कलन भएको थियो भने गत आवमा दुई करोड ६१ लाख ९४ हजार २८५ सङ्कलन भएको थियो। परीक्षा शुल्क अघिल्लो आवको तुलनामा ११ लाख बढी सङ्कलन भएको थियो। अघिल्लो आवमा चार लाख १७ हजार ३८० सङ्कलन भएको थियो भने गत आवमा १५ लाख २२ हजार ३४० सङ्कलन भएको थियो।
नक्शापास दस्तुर अघिल्लो आवको तुलनामा सवा करोडले घटेको थियो। अघिल्लो आवमा पाँच करोड १८ लाख ७८ हजार ३५९ सङ्कलन भएको थियो भने गत आवमा तीन करोड ८४ लाख ११ हजार १६१ सङ्कलन भएको राजस्व महाशाखा प्रमुख कर्णले बताए। उनले अघिल्लो आवको तुलनामा गत आवमा भूउपयोग नीति लागू भएको कारण जग्गाहरूको कित्ताकाट नभएको र घर निर्माण कार्य पनि कम भएकोले नक्शापास दस्तुर घटेको बताए। सिफारिश दस्तुर अघिल्लो आवको तुलनामा दुई लाखले घटेको थियो। सो आवमा एक करोड ९० लाख पाँच हजार १२१ सङ्कलन भएको थियो भने गत आवमा एक करोड ८८ लाख ३३ हजार ७०९ सङ्कलन भएको छ। नाता प्रमाणित दस्तुर भने अघिल्लो आवको तुलनामा गत आवमा दोब्बरीले बढेको थियो। अघिल्लो आवमा ११ लाख २४ हजार ६१५ सङ्कलन भएको थियो भने गत आवमा २२ लाख ३४ हजार ९३० सङ्कलन भएको थियो।
प्रशासनिक दण्ड जरिवाना पनि अघिल्लो आवको तुलनामा दोब्बरीले बढेको थियो। सो आवमा २४ लाख १३ हजार ६२४ सङ्कलन भएको थियो भने गत आवमा ४४ लाख २४ हजार ५१९ सङ्कलन भएको थियो। बेरुजू शीर्षकमा पनि अघिल्लो आवको तुलनामा एक लाख बढी सङ्कलन भएको थियो। सो आवमा सात लाख २४ हजार सङ्कलन भएको थियो भने गत आवमा आठ लाख ४८ हजार ८३३ सङ्कलन भएको थियो।