राधेश्याम पटेल, परवानीपुर, ३ साउन/
नेपालमा रोजगार पाइँदैन भन्ने सोचले गर्दा आजकलका युवाहरू नागरिकता र पासपोर्ट बनाउँदै भटाभट वैदेशिक रोजगारमा गइरहेका छन् ।
कोही खाडी मुलुक, कोही युरोप, अमेरिका तर भाग्य कसै–कसैको मात्र चम्किने गर्छ । वैदेशिक रोजगारमा गएका नेपालीहरूमध्ये भाग्य चम्केका एकजना युवक हुन्– पर्साका अफजल हुसेन । सखुवाप्रसौनी गाउँपालिका–३ कटैया देउरवानाका ५० वर्षीय अफजल २२ वर्षदेखि वैदेशिक रोजगारमा छन् । २२ वर्षको अवधिमा हालसम्म ३५ देखि ४० करोडसम्म सम्पत्ति आर्जन गरेको उनको भनाइ छ ।
पेशाले मेकानिकल इन्जिनीयर अफजल हाल जर्मन कम्पनी सिमेन्सको दुबईस्थित शाखामा सिनियर एक्स्पर्टको रूपमा कार्यरत छन् । ग्याँस टर्बाइनको मेशिन उत्पादन गर्ने कारखानाका विज्ञको रूपमा चिनिने अफजललाई जर्मनीको बर्लिनमा रहेको मुख्यालयले एशिया र युरोपलगायत विभिन्न देशमा पठाउने गर्छ । कम्पनीलाई जहाँ–जहाँ उनको आवश्यकता महसूस हुन्छ, उनी त्यहाँ गएर समस्या समाधान गर्छन् र फेरि दुबई फर्किन्छन् ।
अफजल एक महीनाको बिदामा नेपाल आएका छन् । बकरीद मनाउन नेपाल आएका अफजलले वैदेशिक रोजगारले भाग्य चम्केको तर यसमा निकै चुनौती र जोखिम रहेकोसमेत औंल्याए । मध्यमवर्गीय किसान परिवारको छोरा अफजलले आज करोडौंको सम्पत्ति आर्जन गर्दा आफूलाई गर्व लागे तापनि नेपाली दाजुभाइहरूले विदेशमा चुहाइरहेको पसिना देखेर कहिलेकाहीं रुन मन लाग्ने गरेको पनि बताए । “विनासीप र विज्ञताबेगर विदेश जानुहुँदैन । लेबरको रूपमा गयो भने कुनै मूल्य छैन । दाल, भात, तरकारी मात्र परिवारलाई खुवाएर विदेशबाट फर्किन्छन्,” उनले भने ।
२०२९ सालमा जन्मेका अफजलले कक्षा ३ सम्मको पढाइ कटेया प्रFविमा गरेका थिए भने कक्ष्Fा ९ सम्मको अध्ययन औराहा मावि श्रीपुर पंचगावाँबाट सक्याएर २०४६ सालमा पोखरिया माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । २०५० सालमा ठाकुर राम बहुमुखी क्याम्पसबाट आइएस्सी पढेर इन्जिनीयरिङ पढ्न काठमाडौं चहार्न थाले तर बुबासँग पढाइको लागि खर्च नभएकोले उनले स्नातक इन्जिनीयरको पढाइ केही समय गर्न सकेनन् ।
काश्मीरी मस्जिदमा पाकिस्तानी दूतावासका केही अधिकारीसँग चिनजान भएपछि एउटा सिट खाली थियो । सोही सिटमा उनलाई पूर्ण छात्रवृत्तिमा मेकानिकल इन्जिनीयरिङ पढ्न पाकिस्तानको कराँची पठाइयो । एनइडी युनिभर्सिटी, कराँचीबाट सन् १९९९ मा मेकानिकल इन्जिनीयरिङ उत्तीर्ण गरेर उनी नेपाल फर्किए । गोल्छा अर्गनाइजेशनको नितनपुरमा रहेको हुलास प्लाइवुडमा मासिक चार हजारमा १० महीना काम गरेर उनले राजीनामा दिए ।
पैसा कमाउने धोको उनको पनि थियो । अब त विदेश जानुपर्छ भन्ने मनसायका साथ काठमाडौंको म्यानपावरहरू चहार्न थाले । डेढ वर्षको अवधिमा कति जोर चप्पल खिइयो तर जागीर पाएनन् । सन् २००१ को अगस्तमा उनले साउदीमा एउटा कम्पनीमा जागीर पाए र नेपालबाट साउदी अरब उडे । त्यति बेला उनको साउदीको रु १५ सय तलब थियो । जुन नेपालमा ३५ देखि ४० हजार हुन्थ्यो । त्यसपछि उनलाई विश्वास हुन थाल्यो, अब म ठीक बाटोमा छु । पहिले हुलासमा गरिरहेको काम छोड्दा पागल भन्नेहरूले प्रशंसा गर्न थाले ।
सन् २००४ मा उनी कतार गए, छ महीना त्यहाँ काम गरे । त्यसपछि दुबईमा सिमेन्स कम्पनीमा आबद्ध भए । हालसम्म त्यही इलेक्ट्रोनिक मेकानिकल कम्पनीमा सिनियर इन्जिनीयर एवं विज्ञको रूपमा कार्यरत छन् । हाल उनको पारिश्रमिक मासिक ३५ देखि ४० हजार दिराम रहेको छ । उनले गाउँमा १४ बिघा खेत, १० कट्ठा घडेरी, वीरगंज, लिङ्करोड, बसपार्कमा मायालु होटलको भवन, मुर्लीमा चार तले घर, नेशनल मेडिकल कलेजनजीक ३३ धुर घडेरी, सिक्स लेनमा सवा कट्ठा जग्गा, जगरनाथपुरनजीक सवा चार कट्ठा जग्गा, नितनपुरमा साढे पाँच कट्ठा जग्गामा कारखाना भाडामा लिएको, जीतपुरमा साढे आठ कट्ठा, काठमाडौंमा साढे पाँच आना र तीन करोडको घर गरी थुप्रै सम्पत्ति आर्जन गरेको बताए ।
उनले जीवनमा जबसम्म जोखिम र केही पाउनको लागि केही गुमाउने दृढ इच्छाशक्तिसहित विश्वास भएन भने केही गर्न नसकिने बताउँदै सपना हेरिन्छ, पूरा गर्नकै लागि भन्दै विश्वासका साथ युवालाई अगाडि बढ्न सुझाव दिए ।