प्रस, वीरगंज, २९ असार/
वीरगंज–१६ नयाँ बसपार्कस्थित भानुचोकमा रहेको आदिकवि भानुभक्त आचार्यको सालिक अनावरण गरिएको छ ।
२१०औं भानु जयन्तीको अवसरमा शुक्रवार नारायणी वाङ्गमय प्रतिष्ठानका अध्यक्ष डा विशम्भर शर्मा र साहित्यकार भवानी क्षत्रीले संयुक्तरूपमा सालिकको अनावरण गरेका थिए ।
वीरगंज महानगरपालिकाले पुनर्निर्माण गरेको भानुभक्त आचार्यको सालिक अनावरण गरिएको थियो । कार्यक्रममा नगरप्रमुख राजेशमान सिंहलगायतको सहभागिता थियो ।
त्यसै अवसरमा नारायणी वाङ्मय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजले संयुक्तरूपमा आयोजना गरेको प्रभातफेरी, कविता वाचन र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको थियो । वीरगंजको बसपार्कस्थित भानुचोकबाट निकालिएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गर्दै होटल मकालुमा पुगी सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्यको जीवनीसँग सम्बन्धित कविता वाचन गरेका थिए ।
यसैगरी, ज्ञानदा एकेडेमीले २१०औं भानु जयन्ती धूमधामका साथ मनाएको छ ।
एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले भानुभक्तबाट प्रेरणा लिएर जीवनलाई सार्थक बनाउन विद्यार्थीलाई आग्रह गरे । उनले नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको बताए । उनले आदिकवि भानुभक्तले नेपालको भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले कवितावाचन गरेर भानुभक्तको योगदानको स्मरण गरेका थिए । कार्यक्रममा शिक्षकशिक्षिकाहरूको सहयोगमा छात्रछात्राहरूले छोटो नाटक र कविता वाचन प्रस्तुत गरेका थिए ।
यसैगरी, २१०औं भानु जयन्तीको अवसरमा सर्लाहीको मलङ्गवामा खुला बहुभाषिक कविता प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल मिथिला प्रज्ञा प्रतिष्ठान मलङ्गवा, सर्लाहीको संयोजन तथा मलङ्गवा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा कविहरूले आआफ्नो रचना वाचन गरेका थिए ।
प्रदेशसभा सदस्य कौशलकिशोर यादवको अध्यक्षतामा भएको कविता प्रतियोगितामा चन्द्रशेखर सिंह प्रथम, सिद्धेश्वरप्रसाद सिंह द्वितीय र सन्तोष कर्णलाई तृतीय पुरस्कार तथा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
नगरप्रमुख नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।