प्रस, निजगढ, २९ असार/

नेपाल सरकारको प्राथमिकतामा परेको बाली बीमा कार्यक्रम अन्तर्गत निजगढका किसानहरूले व्यावसायिकरूपमा रैथाने मालभोग केराबाली उत्पादन गर्दै आइरहे पनि बीमा गर्न आलटाल गर्दै आइरहेको भन्दै यहाँका केरा किसानहरूले बीमा कम्पनीविरुद्ध आन्दोलन गर्ने उद्घोष गरेका छन् ।

शुक्रवार निजगढमा पत्रकार सम्मेलन गर्दै बारा केरा तथा फलफूल उत्पादक सङ्घका अध्यक्ष एकबहादुर श्रेष्ठले विगतदेखि पटकपटक हिमालयन–एभरेस्ट इन्स्योरेन्स कम्पनीले निजगढका दुई हजारभन्दा बढी व्यावसायिक केराखेती गर्दै आइरहेका किसानहरूलाई आलटाल गरी बालीको बीमा गर्न निरुत्साहित बनाउँदै आइरहेका आरोप लगाएका छन् ।

बीमा कम्पनीले आफू चोखिनलाई निजगढका व्यावसायिक केराखेती गर्ने दुई हजारभन्दा बढी किसानहरूमध्ये सात/आठ जना किसानको मात्र बीमा गरेर अन्य किसानहरूलाई निरुत्साहित बनाउने खेलमा लागेको पीडित केरा किसानहरूको बीमा कम्पनीविरुद्ध आरोप छ ।

तोकिएको समयभित्र बालीको बीमा गर्नुपर्ने भएपनि आँधी, हुरी, असिना, पानी आउने समय गुजारेर निकै ढिलो गरी विगतका वर्षदेखि नै बीमा कम्पनीले किसानहरूको केराबालीको बीमा नगरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

निजगढका केरा उत्पादक किसानहरूको बाली बीमा एक साताभित्र शुरू नगरिए बीमा कम्पनीविरुद्ध कडा आन्दोलनको तयारी गरिने श्रेष्ठले जानकारी दिए ।

शुरूका वर्षहरूमा प्रतिकट्ठा ६० बोटबापत रु १० हजार, रैथाने मालभोग केराको बाली बीमा रु १३ हजार २०० मा गरे पनि त्यसलाई घटाएर आठ हजारमा झारेपछि केरा किसानहरू केराबाली बीमा गर्न निरुत्साहित भएका थिए ।

बीमा रकम बढाउनुपर्ने माग राख्दै सम्बन्धित निकायहरूमा किसानहरूले आवाज उठाएपछि मोरङ केराबालीका हकमा प्रतिकट्ठा रु १७ हजार ५००, खुट्टीको हकमा १४ हजार ५०० तोकेपछि किसानहरू केरा बाली बीमा गर्न हौंसिए । तर बाली क्षति भएपनि समयमैं क्षतिपूर्ति दिन बीमा कम्पनीले ढिलाइ गर्दै आइरहेका पीडित किसानहरूको व्यापक गुनासा छन् ।

केही महीनाअघि बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको सहभागितामा पाँच दिनअघि निजगढमा गरिएको कृषि बीमा सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।

पछिल्लोपटक प्रतिकट्ठा ८२ बोट केरा उत्पादन गर्नुपर्ने, जसको बीमा प्रतिकट्ठा २२ हजार ५५० रुपियाँ तय गरिएपछि बीमा गर्न किसानहरू अग्रसर रहे पनि केराबाली बीमा गर्न बीमा कम्पनीले बेवास्ता गरेपछि आन्दोलन गर्ने तयारी भइरहेको जानकारी दिइएको छ ।

एक महीनाअघि आएको हावाहुरीका कारण निजगढमा लगभग ३५ बिघा केराबालीमा क्षति पुग्दा दुई सयभन्दा बढी किसानलाई रु चार करोडभन्दा बढी नोक्सानी बेहोर्नुपरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यहाँ बारा, पर्सा, रौतहट, सर्लाही, चितवनलगायतका जिल्लाहरूमा रैथाने मालभोग प्रजातिको व्यावसायिक केरा उत्पादनले भारतलगायत अन्य देशबाट आयात हुो केरालाई विस्थापित गराउन राम्रो भूमिका निर्वाह गरेपछि बिचौलियाहरूको साँठगाँठमा केरा बालीको बीमा गर्न बीमा कम्पनी पछि हटेको हुन सक्ने केरा उत्पादक किसानहरूको भनाइ छ ।

प्रतिकट्ठा खर्च कटाएर रु ३० हजारदेखि ५० हजारसम्म यहाँका किसानहरूले व्यावसायिक मालभोग केराबालीबाट आम्दानी लिंदै आइरहेका सङ्घका सदस्य एवं अवकाशप्राप्त वरिष्ठ कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here