बैंकक, २९ असार/एएफपी
थाइल्यान्डको संसद्ले अर्काे हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान गर्ने पुष्टि शुक्रवार गरेको छ ।
पिताको मुभ फरवार्ड पार्टी (एमएफपी)ले मे महीनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको र यसबाट नौ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका लागि आतुर थाई युवाहरू उत्साहित भएका थिए ।
हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका पिताको अर्काे सरकारको नेतृत्व गर्ने सुधारवादी अभियानलाई बिहीवार विधायिकाका सेनाद्वारा नियुक्त सिनेटरहरूले विफल पारेका थिए । यसले राज्यको कडा शाही मानहानी कानूनमा सुधार गर्ने उनको प्रतिज्ञालाई खतराको सङ्केत देखाएको छ ।
राज्यको सर्वाेच्च निर्वाचन निकायले संवैधानिक अदालतले पितालाई सांसद पदबाट निलम्बन गर्न सिफारिश गरेको एक दिनपछि नै मतदान भएको हो ।
थाइल्यान्डको संसद्ले जुलाई १९ मा नयाँ प्रधानमन्त्री चयनका लागि दोस्रो मतदान गर्ने भएको उपसभामुख पिचेत चुआमुआङफानले एएफपीसँग बताए ।
मतदान कहिले हुने भन्ने प्रसङ्गमा पिचेटले स्थानीय सञ्चारमाध्यममा आएको समाचारलाई पुष्टि गर्दै भने, “नयाँ प्रधानमन्त्रीका लागि मतदान छिट्टै हुनेछ किनकि कार्यतालिका उस्तै छ । कुनै फेरबदल भएको छैन ।”
एमएफपीको गठबन्धन साझेदार फेउ थाईका सांसदसमेत रहेका पिचेट चाउमुआङफाङले पितालाई पुनः मनोनीत गर्ने वा अर्को निर्वाचनमा थप उम्मेदवारको सामना गर्ने भन्ने स्पष्ट नभएको बताए ।
उनले भने, “हामीले अहिले पनि पहिले यसबारे कुरा गर्नुपर्छ । अहिलेका लागि, यसले जनताबाट राय र प्रतिक्रिया सङ्कलन गरिरहेको छ ।”
पिताले आफू आगामी सरकारको नेतृत्वका लागि उम्मेदवार रहेको र समग्रमा ३२४ मत मात्र प्राप्त गरे पनि हार नमान्ने बताउँदै आएका छन् ।
केवल १३ सिनेटरले सुधारवादी उम्मेदवारको पक्षमा मतदान गरेका र धेरैले देशको कडा शाही मानहानी कानूनमा सुधार गर्ने एमएफपीको प्लेटफर्मको विरोध गरे ।
सन् २०१४ मा भएको ‘कु’बाट सत्तामा आएका प्रयुत चान–ओ–चाको नेतृत्वमा सेनासमर्थित करीब एक दशक लामो शासनलाई मतदाताले ठाडै अस्वीकार गरेका थिए ।
तर तल्लो सदनका कन्जरभेटिभ सांसदहरू र जुन्टाद्वारा नियुक्त सिनेटरहरूले उनलाई आफ्नो समर्थन नदिने सङ्केतका साथ परिणाम झन्झन् अत्याज्य भएको थियो ।
एमएफपीको सुधारवादी एजेन्डाप्रति देशको शक्तिशाली अनुदारवादी संस्थापन पक्षबाट आपत्ति आएको छ ।
व्यापारिक एकाधिकारलाई चलाउने पार्टीको योजना पनि पुरानै नेतृत्वसँग अलोकप्रिय छ ।
निर्वाचन आयोगले बुधवार पितालाई चुनाव प्रचारसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा संसद्बाट निलम्बित गर्न सिफारिश गरेको थियो ।
थाइल्यान्डको कानून अनुसार प्रतिबन्धित एक मिडिया कम्पनीमा पिताको शेयर स्वामित्वबारे छानबीन भएपछि यो सिफारिश गरिएको हो ।
सन् २००७ देखि उक्त स्टेशनले प्रसारण गरेको छैन र पिताले उक्त शेयर आफ्नो पिताबाट विरासतका रूपमा पाएको बताएका छन् ।
पिताको एमएफपी एकमात्र पार्टी थियो, जसले शाही मानहानी कानूनको काँटेदार मुद्दाको सामना गर्न अभियान चलायो र त्यसले पनि प्रधानमन्त्री चयनलाई समस्यामा पारेको छ ।
संवैधानिक अदालतले उक्त प्रतिज्ञा संवैधानिक राजतन्त्रलाई ‘अपदस्थ’ गर्ने प्रयास गरेको आरोप लगाउँँदै दायर गरिएको मुद्दालाई स्वीकार गरेको छ । पार्टीलाई आफ्नो प्रतिरक्षा प्रस्तुत गर्न दुई हप्ताको समय दिइएको छ । रासस