• डा शिवशङ्कर यादव

मेरो भतिज रूसमा बस्छ । पहिलोपटक होलीमा घर आयो । अहिले त्यो कुरा हराएको छ तर त्यति बेला हरेकले दूधमा बनाएको एक गिलास भाङ्ग अवश्य खान्थे तर होलीको दिन मात्र । अहिलेजस्तो रक्सीको पाउच खाने बानी कुनै युवामा थिएन । एक दिन होलीको अवसरमा उचित मात्रामा भाङ्ग खान बूढापाकाबाट पनि मनाही थिएन । मैले स्वयम् कुनै पनि होली विनाभाङ्गको व्यतीत गरेको छैन । भाङ्गविना न होलीमा डफको थाप, न त रङ्ग–अबिरको नै रौनक देखिन्छ । तर आजकाल होलीमा पाउच नै खाने बानी परेकोले गाउँमा भाङ्ग बनाउन छाडिएको छ । पाउच खानेहरूले होली गीत बिर्सिसके । धेरै दिनपछि एक प्रतिष्ठित ज्येष्ठ नागरिकले आफ्नो घरमा होलीको आयोजना गरेका थिए किनभने ती पुराना होली गीत जो लोप हुन थालेका छन्, सुन्न चाहन्थे । उनले मलाई निम्त्याए र खानको लागि एउटा माजुन पनि दिए । बस के थियो ? मेरो सिढी चढ्ने र झर्ने देखेर छोरा दङ्ग पर्यो । चढ्न र झर्नमा सकस हुने मान्छे त खुरुखुरु र फटाफट चढ्दै झर्दैछ । यही रिक्रिएशनको लागि मानिसले भाङ्ग खान्छन् । तर मेरो भतिज शिकारू त थियो नै वोडकासम्म खान्छु भनेर बढी भाङ्ग खाइदियो । रक्सी र भाङ्गको नशा भिन्नभिन्न प्रकारका हुन्छन् । रक्सी खाने मानिस अलि बढी भाङ्ग त खान सक्छ तर जति पनि खान सकिन्छ भन्ने भूल गर्नुहुँदैन । मेरो भतिजलाई आमाको अचार र झोल खान दिइयो र नशा कम भयो । भाङ्गको मेडिकलमा कुनै एन्टिडोट छैन । तर घरेलु उपचारमा अचार भाङ्गको तगडा एन्टिडोट हो । यो देश नटराजको देश हो । साधुसन्त र शिवभक्तहरूले चिलम र भाङ्गको प्रयोग विगत १२००० हजार वर्षदेखि गर्दै आएका छन् । चीनमा २८०० वर्ष पहिले यसको प्रयोगको प्रमाण भेटिन्छ । हिमालयको यो शिवबुटी बिस्तारै फाँटमा झर्यो र युरोप–अमेरिकासम्म पैmलियो । उब्जाउ यस्तो कि गाँजा त लगाए हुन्छ तर भाङ्ग त हरेक गलीकुचीमा आफैं उम्रेको हुन्छ । मेरो बारीमा जति गरे पनि उन्मूलन गर्न सकिएन । सरकारले गाँजामा रोक लगाएको छ तर भाङ्गमा कसरी रोक लगाउने ? किशोरकालमा मैले खूब गाजाखेती गरेको छु । त्यसको फूल भाङ्गलाई तोडेर मिल्काउनमा म माहिर थिए । असलमा फूलभङ्गा भनेको नर बिरुवा हो, जबकि गाँजा मादा बिरुवाबाट प्राप्त गरिन्छ । अब कुरा उठ्छ कि नर बिरुवालाई मिल्काएपछि कसरी हुन्छ त प्रजनन र मैच्युरिटी । यसको जवाफ यो हो कि असलमा गाँजाको बिरुवा युनिसेक्सुल हुन्छ र नरको जरुरी हुँदैन । फूलभाङ्ग मिल्काएपछि बचेको मादा बिरुवाको चिपड बनाउने विधिले चिपड बनाएर बजारमा प्रतिकिलो रु बा¥ह सय प्रतिकिलोको दरले बेचिन्छ । गाँजा र भाङ्ग दुवै कानाविस भन्ने परिवारका सदस्य हुन् । विश्वमा प्रतिवर्ष गाँजा २७५००० टन उत्पादन हुन्छ, जसमध्ये आधा केवल अमेरिकामा मात्र उत्पादन हुन्छ । बाँकी आधा चीन, फ्रान्स र क्यानडामा हुन्छ । प्रश्न गर्न सकिन्छ कि हाम्रो देशमा यो किन हुँदैन । यसको कारण यो हो कि ती देशहरूमा केवल औषधिको लागि मात्र गाँजा उत्पादन हुन्छ । जबकि हाम्रो देशमा गैरकानूनीरूपले  तस्करी गरिन्छ र युवाहरू नशाका लागि प्रयोग गर्छन् । तापनि हाम्रो देशमा पनि पटकपटक गाँजाको खेती गर्न दबाब त बनाइन्छ र यसो गर्नु लाभदायी पनि छ । भारतमा बनारसको ठण्डयी प्रसिद्ध छ । ‘जय जय शिवशङ्कर काँटा लगे न कङ्कर’ गीत यसै भाङ्गको नशामा फिल्ममा राजेश खन्नाले गाएका छन् । यस आलोकमा अब आउनुस् यसको थप वैज्ञानिक वर्णन गरौं–

पश्चिममा यसलाई कानाविस सटाइभा भनिन्छ र कानाविस शव्ब्द ग्रीकबाट आएको हो । स्थानविशेष अनुसार यसको नाम पनि फरकफरक छन् । भारतमा यसलाई कानाविस इन्डिका, अमेरिकामा कानाविस अमेरिकाना तथा अन्य ठाउँमा कानाविस रूदरलिस भनिन्छ । यसमा ४८० वटा अल्केल्वायड वा घटक हुन्छन्, जसमध्ये ६६ वटालाई कानाविन्वायड भनिन्छ, जो साइकोएक्टिभ ड्रग हो । यसमा सबैभन्दा एक्टिभ घटकको नाम डेल्टा–९ टेट्राहाइड्रोेक्सिकानावियोल हो, जो ८० देखि ९० प्रतिशत हुन्छ ।  कानाविसको पत्ता सर्वप्रथम इजरायलका रफेलले आफ्नो ९०औं जन्मदिवसमा लगाए, जसलाई वाई गोओनीको साथ फादर अफ कानाविस भनिन्छ । अर्को घटक कानाविनोलको खोज सन् १९४० मा रोबर्ट कानले तथा तेस्रो घटक कानाविडिओलको खोज सन् १९४२ मा अमेरिकामा रिगर एडम्सले गरे । अमेरिकामा यसलाई मारिजुआना प्लान्ट पनि भनिन्छ । हसिसलाई चरेस पनि भनिन्छ तथा यसलाई मादा बिरुवाको टुप्पोबाट प्राप्त गरिन्छ । साधु संन्यासीले गाँजालाई खैनीको साथ मोलेर र चिलममा भरेर टोलीमा पान गर्छन् । बाल्यकालमा मैले गजेडीहरूको टोली देखेको छु, जसमा सबै मिलेर पालापालि कस लगाउँथे । हसिसलाई नवयुकहरूले सिगरेटमा भरेर पनि खान्छन् । तिनीहरूका आँखा सधैं राताराता देखिन्छन्, जुन कानाविन्वायडको स्थायी प्रभावले हुन्छ । भाङ्गमा धतुरो मिलाएर बनाउनु र हसिसलाई पान गर्नु खतरा हुन्छ । कानाविन्वायड तीन प्रकारका हुन्छन्– फाइटोकानाविन्वायड जो बिरुवाबाट प्राप्त हुन्छ, इन्डोकानाविन्वायड जसलाई शरीरले बनाउँछ तथा सिन्थेटिक कानाविन्वायड जो प्रयोगशालामा बन्छ । ब्रेनमा कानाविन्वायडलाई ग्रहण गर्ने रिसेप्टरको नाम हो सिवी १ र सिवी २ । वास्तवमा ती थुप्रै केमिकल सबै कानाविन्वायड हुन्, जो सिवी १ र सिवी २ रिसेप्टरसँग ज्वाइन गर्छन् । कानाविन्वायडको प्रयोग केवल रिक्रिएशनमा मात्र गरिंदैन, बरु यो एक महत्वपूर्ण औषधि पनि हो । क्यान्सरको रेडियोथेरापीपछि हैरान गर्ने वाकवाकी लाग्छ र बान्ता हुन्छ । त्यो केवल कानाविन्वायडले मात्र मान्छ । एड्स रोगीलाई भोक लाग्दैन, त्यो पनि कानाविन्वायडले नै ठीक हुन्छ । एउटा विशेष प्रकारको छारेरोग हुन्छ । त्यसमा पनि कानाविन्वायड नै प्रयोग गरिन्छ । अरू त अरू अल्जाइमरमा पनि यसको राम्रो प्रभाव देखिएको छ । दुखाइ र सङ्क्रमणको लागि त यसलाई सर्वाधिकार नै प्राप्त छ । ल्वाङ, मरीच, गाजर, जिङसेङ र ब्रोकाउलीमा पनि कानाविन्वायड पाइन्छ । ओपियमको बीज जस्तो कानाविसको बीज पनि धेरै पौष्टिक हुन्छ । जसरी ओपियमको बीजमा कुनै ओपिवायड पाइँदैन त्यस्तै कानाविसको बीजमा कुनै कानाविन्वायड पाइँदैन । यसको बीजमा एन्टिअक्सिडेन्ट र प्रचुर मात्रामा ओमेगा ३ तथा ओमेगा ६ पाइन्छन् । यसको सेवन मुटु र पाचनको लागि धेरै उपयोगी हुन्छ । यसरी हामीले के हेर्छौं भने ओपियमभन्दा कानाविसबाट कम खतरा हुन्छ । खतरा तब हुन्छ, जब यसलाई धेरै नै बढी मात्रामा लिइन्छ अथवा यसमा धतुरो वा अन्य नशालु पदार्थ पनि मिलाएर प्रयोग गरिन्छ । कानाविन्वायडको डोज दुईदेखि २० मिलीग्रामभित्र हुन्छ । ३० वा सोभन्दा बढी लिइयो भने खतरा हुन्छ । त्यस हालतमा हुने लक्षणहरू निम्नलिखित छन्–

गाँजा र चरेस लिएपछि तुरुन्त भाङ्ग लिएमा आधा घण्टामा लक्षणहरू देखिन्छन् । जसका दुई चरण हुन्छन्– १. स्टेज अफ इनेब्रिएशन एन्ड रिलिज अफ इन्हिबिशन अर्थात् मदमस्ती र बन्धनमुक्तिको अवस्था र २. स्टेज अफ नार्कोसिस अर्थात् बेहोशी र मूर्छाको अवस्था । पहिलो मदमस्ती र युफोरियाको अवस्था हो, जसमा मानिस धेरै क्रियाशील र बकबके हुन पुग्छ । खुशियालीमा उसले संवेदनशील विचार व्यक्त गर्छ तर उसले विचार छिटोछिटो परिवर्तन पनि गर्छ । मुटुको धडकन बढ्छ तथा कुराकुरामा हाँसो उठ्छ । भोक खासगरी मीठो खानेकुराप्रति बढी लाग्छ । यसमा रोचक यो छ कि जतिजति मीठो खाइन्छ, नशा बढ्छ र अमिलो खाए कम हुन्छ । यसको अलावा विनाकारण मांसपेशीहरूका हरकत हुन थाल्छ । त्यसपछि मानिस स्वप्निल हुन्छ र सुत्ने प्रबल इच्छा गर्छ । बिस्तारै रोगीको ठाउँ र समयको ज्ञान हराउँदै जान्छ, डराउने कुरा हेर्छ र डेलिरियममा पुग्छ । कहिलेकाहीं मानिस होमिसाइडल हुन्छ र मृत्युको डर लाग्न थाल्छ । यसको अलावा चक्कर लाग्छ र मानिस लडखडाएर हिंड्छ । मुख सुक्खा हुन्छ, छाला चीसो हुन्छ र झन्झनाहट महसूस हुन्छ । त्यसपछि मांसपेशीहरू कमजोर हुन्छन् र मानिस दोस्रो स्टेजमा जान्छ ।

दोस्रो स्टेजमा आँखा राता हुन्छन् र मानिस मूर्छा र चेतना शून्यताको अवस्थामा पुग्छ । अक्सर गहिरो निद्रापछि लक्षणहरू हराउँछन् । मृत्यु यसमा प्रायः हुँदैन तर भयो भने त्यो रेस्पिरेटरी फेल्युरले हुन्छ । तर यी सबै कुरा मानिसको बानी र मात्रामा निर्भर गर्छ ।

क्रोनिक प्रयोग र लक्षणहरू ः यस्तोमा भोक नलाग्ने, कमजोरी र दुब्लाउँदै जानु, जीउ काम्नु र सेक्सुअल पावर कम हुनु र यहाँसम्म कि मानिसको दूध पनि बढ्न सक्ने हुन्छ । हामी सोच्छौं कि गाँजा, भाङ्गले सेक्सुअल पावर बढाउँछ तर हुन्छ त्यसको ठीक उल्टो किनभने गाँजा, भाङ्गले गोनाडोट्रोफिन हार्मोनको स्राव कम गर्छ र त्यस कारण टेस्टेस्टेरोन हार्मोन कम भएर पुंसत्वमा कमी र फेरि त्यसले स्पर्म फर्मेशन कम गर्छ । यतिमात्र होइन, यसले स्पर्मको बनावटमा पनि फकर पार्छ र भ्रूणको एबोर्सन वा समयअगावै प्रसवको साथै बाङ्गोटिङ्गो अङ्ग भएको शिशु पनि जन्मन सक्छ । यही कुरा यदि महिलाले लिए पनि हुन्छ किनभने गोनाडोट्रोफिन कम भएपछि मादा हार्मोन पनि कम हुन्छ । यसको अतिरिक्त क्रोनिक प्रयोग गरेको मानिस सुस्त मात्रै हुँदैन उसको नैतिक र मानसिक स्थिति पनि कमजोर भएर जान्छ । यसरी विरक्ति, अवसादले ग्रसित भएर ब्रेन ह्यामरेज हुन्छ र डिमेन्सिया र यहाँसम्म कि मानिस पागल पनि हुन सक्छ । जबकि कानाविन्वायडले इन्सिनिटीको मामिला कमै भएपनि मानिस परिवारप्रति सशंकित भई अपराध गर्नमा पनि हिचकिचाउँदैन ।

कानाविन्वायडको मृत्युकारक मात्रा ः टिएचसीको १०० देखी २०० मिलीग्राम हुन्छ तथा ९० मिलीग्रामपछि विषाक्तता देखिन थाल्छ । मृत्यु बिरलै हुन्छ तर भयो भने १२ घण्टादेखि दुई दिनभन्दा बढी पनि लाग्न सक्छ ।

उपचार ः पहिलै भनिसकियो कि कानाविन्वायडको कुनै एन्टिडोट हुँदैन । त्यस कारण्न यसका सकै उपचार लक्षण अनुसार र रिसेसिटेशन गर्नु नै हो यथाः स्लाइन दिनु, लभाज गरी आमाशय खाली गर्नु, लगातार आक्सिजन दिनु, आर्टिफिसियल रेसपिरेशन दिनु तथा अर्को लाक्षणिक उपचार गर्नु आदि नै यसका उपचार हुन् । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here