कुनै पनि शहर कति विकसित र सभ्य छ भन्ने कुरा त्यहाँको भौतिक पूर्वाधार साथै सोको उपयोगको अवस्थाले देखाउँछ । यसमा पनि सबैभन्दा महत्वपूर्ण आधार सडक हो । विकसित शहरहरूमा व्यवस्थित सडकहरू हुन्छन् । जहाँ पैदलयात्री, साइकलयात्री, अपाङ्गमैत्री, वातावरणमैत्री साथै ट्राफिक नियमको पूर्ण पालना भइरहेका हुन्छन् । शहरको विकसित स्तर सडकबाट अनुमान गर्न सकिन्छ । हाम्रो मुलुकमा शहरलाई नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी तीन तहमा वर्गीकरण गरिएका छन् । नगरपालिकाभन्दा उपमहानगर र उपमहानगरभन्दा महानगरका सडक व्यवस्थित, स्तरीय र अनुशासित हुनुपर्छ भन्ने आम बुझाइ छ । महानगर क्षेत्रमा पनि दिक्कलाग्दो, अव्यवस्थित, लथालिङ्ग सडक देखिंदा “यस्तो पनि महानगर ?” भनेर जोसुकैले प्रश्न गरेको पाइन्छ । व्यवस्थित शहर, मेगा शहर, स्मार्ट शहरलगायतका अवधारणाहरू आएका छन् । हाम्रा सरकारहरूले बेलाबखत यस्ता शहरहरू निर्माणबारे स्टन्ट गर्छन् ।

जुनसुकै शहरको लागि आधारभूत पूर्वाधार भनेको सडक, विद्युत् र सञ्चार हो । त्यसैगरी, स्वास्थ्य सेवा, सुरक्षा, दैवी प्रकोपमा सहज उद्धार, उत्पादन र सहज बजार पहुँच, व्यावसायिक केन्द्र तथा सपिङ मल, हरित क्षेत्र, निश्चित खुला क्षेत्र, शिक्षा, यातायात शहरीकरणका आधारभूत पक्षहरू हुन । यी सबै पक्ष सडकसँग जोडिएका छन् । सकभर शहरका घरघरसम्म, नसके टोलटोलसम्म एम्बुलेन्स, दमकल र सुरक्षाका सवारी पुग्न सक्नुपर्छ । यसको निम्ति सडक अनिवार्य छ । त्यसैगरी लगानी, श्रम उत्पादन र बजार जोडिन पनि यातायात अनिवार्य छ, यातायातको निम्ति सडक चाहिन्छ । त्यो सडक अवरोधविनाको सुरक्षित र सहज हुनुपर्छ । अतः सडकमा शहरको सभ्यता, शिष्टता र अनुशासन झल्किनुपर्छ । मन्दिरमा आस्थाका साथ पूजा, पाठ, भजनकीर्तनले शोभा दिएजस्तै फूटबल मैदानमा अनुशासित खेल तथा खेलका अभ्यास जस्ता क्रियाकलापहरू शोभायमान लाग्छन् । बगैंचा, पार्कमा युगल जोडीहरू सुहाउँलान्, जलाशयमा माछा नै सुहाउँछ । हाम्रो सभ्यताले जुन चीज जे प्रयोजनको लागि बनाइएको हो, सोही कार्यका लागि मात्रै प्रयोग गर्न उचित मानेको छ । अन्यथा त्यो विकृति हो । त्यस्तो अवस्थालाई असभ्य, अनुशासनहीनता र अव्यवस्था भनिन्छ ।

शहरका फूटपाथमा व्यापार गर्नेहरू र नगरप्रहरीबीच झडप भएका घटनाहरू प्रकाशमा आउने गरेका छन् । यसमा काठमाडौं महानगरपालिका अग्रस्थानमा छ । भर्खरै बाराको कलैया उपमहानगरपालिकामा पनि फूटपाथका व्यापारी र नगरप्रहरीबीच झडप भयो । यसरी झडप हुँदा कतिपयले नगरप्रहरीको त कतिपयले सडक व्यापारीको पक्ष लिने गरेका छन् । “गरीब–दुःखीलाई गरेर खान दिनुपर्छ” भन्नेहरू जबरजस्त तर्क प्रस्तुत गर्छन् । ‘गरिखान देऊ’ भन्दै काठमाडौंमा आन्दोलन नै शुरू भएको छ । यसमा राजनीतिक दलहरूले आफूअनुकूल प्रतिक्रिया जनाउने गरेका छन् ।  मुख्य कुरा सडक व्यापार गर्नको लागि बनाइएको होइन । निर्बाधरूपमा व्यापार गर्न दिने हो भने हाम्रो मुलुकमा रहेका विपन्नजनलाई हाम्रो सडकले धान्न सक्दैन । सडकको निश्चित क्षेत्रमा साँझ–बिहान निश्चित समयको लागि सडक व्यापारको अनुमति दिनु फरक कुरा हो । सोबाहेक नगरपालिकाले सडक व्यापारीलाई मात्रै होइन । खरीदकर्तालाई पनि कारबाईको दायरामा ल्याउनुपर्छ । कानूनविपरीतका स्थानमा खरीद नगरिए फूटपाथको व्यापार आफैं हट्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here