वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसका विद्यार्थीहरू आन्दोलनमा छन् । सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा केन्द्र जिल्लाबाहिर बाराको सिमरा र कलैयामा परेपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । ठाराबका लागि त्रिविवि केन्द्रीय परीक्षा समितिले गत वर्षदेखि जिल्लाबाहिर परीक्षा केन्द्र निर्धारण गरेको हो । ठाराबमा होम सेन्टर गर्दा परीक्षा मर्यादित नभएको र वीरगंजका अन्य क्याम्पसहरूले ठाराबका लागि परीक्षा केन्द्र सञ्चालन गर्न अस्वीकार गरेको त्रिविविको भनाइ छ । ठाराब क्याम्पसमा मुख्यतः मध्यमदेखि निम्न आयस्तर भएका परिवारका विद्यार्थीहरू भर्ना हुन्छन् । सामान्य रोजगार वा ज्याला मजदूरी गर्दै अध्ययन गर्ने विद्यार्थीहरू यहाँ उल्लेखनीय छन् । निजी शैक्षिक संस्थाले दिने उच्च शिक्षामा पहुँच हुन नसक्ने सर्वसाधारण विद्यार्थीको सङ्ख्या यहाँ ठूलो छ । करीब १० हजार विद्यFर्थी सङ्ख्या रहेको यस क्याम्पसमा पछिल्लो समयदेखि बिबिए, आइटी (प्राविधिक शिक्षा)लगायतका कक्षाहरू सञ्चालनमा आएदेखि विद्यार्थीहरूको आकर्षण बढ्दो छ ।

जहानियाँ राणाशासनदेखि व्यवस्था परिवर्तन हुँदै वर्तमान अवस्थासम्म आइपुग्दा नागरिकको शिक्षालाई प्राथमिकता दिइएको छ । विगतमा भारत पश्चिम बङ्गालको कोलकातामा गएर दिइने कक्षा १० को परीक्षा, त्यसपछि बिहारको पटनामा गएर दिएको मेट्रिकको परीक्षा, यसलाई अझ सजिलो पार्न हाम्रो मुलुकले राजधानी काठमाडौंमा शुरू गरेको एसएलसी बोर्ड परीक्षा हुँदै जिल्ला सदरमुकामहरूमा परीक्षा सञ्चालन गरियो । यसैगरी जिल्ला सदरमुकाम केन्द्रित परीक्षा केन्द्रलाई निर्वाचन क्षेत्र हुँदै पालिकासम्म पुर्याइएको छ । यो सबै केका लागि ? सुलभ र सहज शिक्षा तथा शिक्षामा सबैको पहुँचका लागि हो । प्राज्ञिक शिक्षाका दुई पाटा अध्ययन र परीक्षा हुन् । यी दुवै प्रक्रिया विद्यार्थीका लागि सहज र सुलभ हुनुपर्छ । मुलुकको संविधान २०७२ को मौलिक हक तथा धारा ३१ मा उल्लिखित शिक्षासम्बन्धी व्यवस्थामध्ये उपधारा ३ मा “अपाङ्गता भएका र आर्थिकरूपले विपन्न नागरिकलाई कानून बमोजिम निश्शुल्क उच्च शिक्षा प्राप्त गर्ने हक हुनेछ,” उल्लेख छ । त्यसैगरी, संविधानको राज्यका निर्देशक सिद्धान्त तथा राज्यका नीतिहरू अन्तर्गत धारा ५१ (ज)मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिमा उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाइ क्रमशः निश्शुल्क बनाउँदै लैजाने उल्लेख गरिएको छ ।

जुनसुकै बहानामा त्रिविवि परीक्षा समितिले ठाकुर रामको परीक्षा केन्द्र तय संविधानको मर्मविपरीत गरेको छ । वीरगंजको केन्द्र सिमरा र कलैयामा पुर्याउनु पुनः अप्ठ्यारोतर्फ फर्काउने कार्य हो । यो कदम विद्यार्थीलाई सहज, पहुँचयोग्य र निश्शुल्क कसरी भयो ? परीक्षा अवधिका लागि सम्पूर्ण सामग्री कोठा लिएर बस्नु यसै पनि गार्हो छ । दैनिक सार्वजनिक सवारीमा आवतजावत गर्न पर्याप्त समय हुँदैन साथै उपयुक्त समयमा पुगिने प्रत्याभूति पनि छैन । सबै विद्यार्थीसँग निजी सवारी हुँदैन, निजी सवारी रहे पनि परीक्षाको हतारमा दुर्घटनाको डर छ । यसपालि एकजना परीक्षार्थीले सवारी दुर्घटनामा ज्यान गुमाइसकेको छ । स्थानीयस्तरमा केन्द्र निर्धारण गर्न त्रिविले गरेको पहल शून्य छ । ठाकुर रामका विद्यार्थीलाई सास्ती दिने हो भने त्यहाँ स्वतः विद्यार्थी सङ्ख्या घट्छ । विद्यार्थी क्याम्पसको प्राण हो, विद्यार्थी सकिए क्याम्पस  सिद्धिन्छ । यहाँ ठाकुर राम सिध्याउने खेल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here