प्रस, वीरगंज, २७ असार/

सखुवाप्रसौनी गाउँपालिका अन्र्तगत राष्ट्रिय माध्यमिक विद्यालय महुवनमा शिक्षक तथा सरोकारवालाबीचको विवादका कारण चार महीनादेखि बालबालिकाहरू दिवाखाजाबाट वञ्चित छन् ।

शिक्षकहरूको आपसी द्वन्द्वका कारण कक्षा १ देखि ६ सम्ममा चार सय बालबालिका दिवाखाजाबाट वञ्चित भएका अभिभावकहरूले बताएका छन् ।

दिवाखाजाको रकम दुरुपयोग हुँदै आएको अभिभावकहरूले आरोप लगाएका छन् । दिवाखाजा नपाउँदा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू टिफिनपछि विद्यालय नआउने गरेका बताइएको छ ।

बुधवार ११ बजे सो विद्यालयमा पुग्दा चार सय विद्यार्थीमध्ये २०–२५ जना विद्यार्थी मात्र देखिएका थिए । कुनै बेला नाम कमाएको सो विद्यालयको हालको अवस्थामा सरोकारवाला चिन्तित छन् । राजनीतिको शिकार भएको विद्यालयमा शिक्षकहरूबीचको द्वन्द्वका कारण विद्यालयको यस्तो हबिगत भएको अभिभावकहरूले बताएका छन् ।

शिक्षकहरू मन लागे आउने, कक्षाकोठामा पढाउन ध्यान नदिने, राजनीतिक गफ चुटेर समय बिताउने गरेका एकजना विद्यार्थीले बताए ।

शिक्षकहरूको द्वन्द्वको मुख्य कारण सो विद्यालयमा तीनजना प्रधानाध्यापक रहनु बुझिएको छ ।

२०७६ सालमा भरत गिरी प्रअ बनेपछि विद्यालय सही ढङ्गले सञ्चालनमा रहेको शिक्षकहरू बताउँछन् । गत स्थानीय चुनावपछि गापाध्यक्ष यशवन्त यादवले प्रअ गिरीलाई श्रीपुर पंचगावाँ माविमा सरुवा गरी रामनरेश यादवलाई निमित्त प्रअ बनाएपछि विवाद उत्पन्न भएको हो ।

एक पक्षले विद्यार्थीहरूलाई उचालेर तालाबन्दी गराउने, तोडफोड गराउने गरेको अभिभावकहरूको आरोप छ । सो विद्यालयमा शिक्षकसरह विद्यार्थीहरू पनि दुर्ई गुटमा विभाजित छन् ।

विवाद सुल्झाउन वडाध्यक्षले गिरीलाई फिता बोलाइ जेठ ८ गते प्रअको जिम्मेवारी दिएका थिए । वडाध्यक्षको सो निर्णयपछि गापाध्यक्ष यादवले पोखरिया माविमा काम गर्दै आएका शिक्षक विनोद महतो थारूलाई बोलाइ प्रअको जिम्मेकारी दिएका छन् । हाल सो विद्यालयमा तीनजना प्रअ छन् । उनीहरूले छुट्टै आआफ्नो हाजिरी रजिस्टर घरबाट ल्याएर हाजिरी गर्ने गरेको शिक्ष्Fकहरूको आरोप छ ।

हाल सो विद्यालयका लेखापाललाई पाखा लगाइ प्रअद्वय रामनरेश यादव तथा विनोद मेहता थारूको नाममा बैंक खाता सञ्चालनमा छ । यसबारे बुझ्दा गापाध्यक्ष यादवले समस्या समाधान हुने बताएका छन् ।

विद्यार्थीको पठनपाठन प्रभावित, अभिभावक चिन्तित

विद्यालयमा विवादका कारण लामो समयदेखि विद्यालयमा सञ्चालन हुँदै आएको विशेष शिक्षा प्रभावित भएको छ । नेपाल सरकारले लामो समयदेखि पर्साका केही पालिकामा विशेष शिक्षा लागू गरी रकम पठाउँदै आएको छ । विशेष शिक्षा अन्तर्गत सुस्तःमनस्थितिका बालिबालिकालाई सो विद्यालयमा भर्ना गरी आवासीय शिक्षा दिने गरिन्छ ।

विद्यार्थीहरूको खाना, कपडालगायत सबै खर्च नेपाल सरकारले दिंदै आएको छ । विवादका कारण नयाँ शैक्षिकसत्रदेखि घर गएका अपाङ्ग विद्यार्थीहरूलाई सो विद्यालयमा फिर्ता बोलाइएको छैन । फोकल पर्सन शिक्षक रामनरेश यादवले कक्षा सञ्चालन हुने कोठामा केही व्यक्तिले ताला लगाएका कारण उनीहरूलाई फिर्ता नबोलाइएको बताए । हाल सो कक्षाकोठामा लगाइएको ताला प्रहरीले खोलेर कक्षा सञ्चालन गर्न लगाएको छ । शिक्षक यादवको कमीकमजोरीका कारण अपाङ्गता भएका विद्यार्थीहरू पनि मारमा परेका स्थानीयहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here