• बैधनाथ श्रमजीवी

नेपाल कृषिप्रधान देश हो । यो कुरा यतिबेला एकादेशको कथा जस्तै भएको छ । कुनै जमानामा ८५ प्रतिशत नेपालीको पेशा कृषि कार्य नै थियो । नेपालको कुल आम्दानीको ८५ प्रतिशत कृषिबाटै आउने गर्थे तर यतिबेला अवस्था र व्यवस्था दुवै फेरिएका छन् । एकातिर विकासको नाममा भूमाफियाहरूले कृषियोग्य भूमि कित्ताकाट गरेर व्यापकरूपमा घडेरी तथा अन्य अनुत्पादक क्षेत्रमा व्यवस्थापन गर्ने कार्यलाई तीव्रगतिमा दिंदै आएको निरन्तरताले कृषि क्षेत्र तहसनहस बन्न पुगेको छ । अर्कोतिर देशको युवा जनशक्ति वैदेशिक रोजगारमा ज्यानको माया मारेर झन्डै ८० लाखको हाराहारीमा रहेका छन् । यस्तोमा देशभित्र कृषि कार्यको अवस्था कस्तो होला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

भन्नलाई देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरिएको छ तर त्यो जनजीवनमा कतै पनि अनुभूति भएको देखिंदैन । दलाल पूँजीवादी व्यवस्थाले लामो समयदेखि उत्पादनका सबै साधन बन्द गरेएकाले मुलुकभित्र गरीबी, महँगी, भ्रष्टाचार, बेथिति पहाडभन्दा पनि अग्लो हुन गएको छ । जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि विभेदको खबर कहिले नपुरिने गरी गहिरिएका छन्  ।

देशको यस्तो विकट अवस्थामा असार १५ गते फेसनकै रूपमा भएपनि दही–च्युरा खाएर राष्ट्रिय धान दिवस मनाइएको छ । सरकारले धान दिवसलाई नेपाली किसानहरूको महत्वपूर्ण पर्व भने पनि चरम गरीबी र बेरोजगारीले गर्दा यो हुनेखानेहरूको हिलोमा जिस्किने शौक र केवल औपचारिकतामा सीमित भएको देखिन्छ । हुनत भनिन्छ नेपालका किसान सङ्घ–सङ्गठनहरूले यसलाई किसान दिवसको रूपमा लामो समयदेखि मनाउँदै आएका छन् । १५ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिकरूपमा धान दिवस घोषणा गरी मनाउन थालेको हो ।

ऐतिहासिक तथ्यहरू हेर्दा नेपालको मुख्य खाद्य बाली धान हो र नेपालको इतिहास, यहाँको सभ्यता तथा संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अङ्ग रहेकाले असार १५ लाई धान दिवस घोषणा गर्नु उचित नै हो तर सरकारले विज्ञान प्रविधिको प्रयोग गरी खेतीपाती गर्नुको सट्टा मध्ययुगीन हलो–गोरुको प्रयोगले आकाशे वर्षाको भरमा कृषि क्षेत्रबाट बढी उत्पादन सम्भव हुने कुरा नै हुँदैन ।

दुनियाँलाई बेवकुफ बनाएर अझै पनि आफ्नो हित पूरा गर्न नेपाल सरकारले असार १५ लाई धान दिवस मनाउने घोषणा गरेको थियो । सरकारको नियत जेसुकै भएपनि असार १५ वर्षाको सुरुआत, मुख्य बाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । यस दिनदेखि किसानहरू वर्षाको सुरुआत भएको, आफ्नो कामको चापको दिन आएको, अनि समाजको प्रतिष्ठासँग जोडिएको सबैभन्दा मीठो खान्की खाद्यान्न धानको रोपाइँमा लाग्छन् । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक साङ्केतिक र सांस्कृतिक पर्व असार १५ बन्नुपर्ने हो, जुन अझैसम्म बन्न सकेको छैन ।

आजभन्दा ५० वर्ष पहिले हामीमध्ये धेरैको मानसपटलमा बालापन वा युवा अवस्थाका मीठा सम्झनाहरू नबिर्सने गरी रहेका छन् । त्यो दिन दही र च्युरा नखाएको, हिलोमा नखेलेको या रोपाइँ गीत नगाएको हामीमध्ये कमै हुनुपर्छ । तर अहिले सबै काम कुरा कर्मकाण्डीको लयमा हुने गरेकाले कृषकहरूको बाहुल्यता भएको नेपालमा अझै पनि असार १५ को रौनकता र चर्चा किसानमा छाउन सकेको छैन ।

दलाल पूँजीवादी गतिविधिको सक्रियताले गर्दा समय परिवर्तन भएको छ । दही–च्युराको त्यो पुरानो रौनक, आनन्द र महिमा कम हुँदैछ । खेतीसँग गाँसिएको जनसङ्ख्या घट्दो छ । खेती किसानीमा रमाउने र रोपाइँ गर्दैको बेला बाली भित्राउने समय सम्झँदै रमाउने माहोल पनि कम भएको छ । धानको महत्व र भातलाई प्रतिष्ठा मान्ने प्रचलन पनि हट्दै छ । अझ असारे भाका, हिलो खेल्न र दही–च्युरा खान रमाउने प्रचलन पनि कम हुँदैछ । अब त केवल टिकटक, ट्वीटर तथा इन्स्टाग्रामको शोभा बढाउन सघाउने औजारको रूपमा अत्यधिक मात्रामा असार १५ धान दिवस तथा दही–च्युरा खाने संस्कृति प्रयोग भएको पाइन्छ ।

जलवायु परिवर्तनका कारण हाम्रो वर्षा असार १५ कै आसपारमा शुरू हुनुभन्दा पनि केही अघि वा पछि सरेको छ । महत्वपूर्ण रहेको असार १५ को दिनले पनि धेरै उकाली र ओराली बेहोर्दै छ । अझ हाम्रो मुख्य खाद्य बाली धानखेतीसँग जोडिएका चुनौतीहरूको त पहाड नै बनेको छ । अहिले पनि असार १५ को चर्चा गरिरहँदा विभिन्न जिल्लामा भइरहेको मल, बीउ तथा सिंचाइको अभावका बारे ध्यान जान सकेको छैन ।

यतिबेला असार १५ पर्यटकीय पर्वको रूपमा समेत विकसित हुँदैछ । हिलोमा रेसलिङ खेलेका, विद्यालय र कलेजका विद्यार्थीले हिलो खेलेका तथा विदेशी पर्यटकहरूसमेत यस दिनमा धान रोपाइँमा सामेल भएका र हिलो खेलेका तस्वीरहरूले असार १५ लाई निकै रङ्गीन बनाएको छ । यो खुशीकै कुरा भएपनि हामीले र मुख्यगरी किसानले मनाउने असार १५ को उद्देश्य त्यति मात्र होइन । हामी यसैमा रमाउँदै गएमा तथा गम्भीररूपमा नसोचे पछिल्ला केही वर्षमा देखिएझैं असार १५ मा अझ विकृति र विसङ्गति भित्रिने, यो उल्लास र सङ्घर्षको दिनभन्दा पनि एक काण्डको दिन बन्ने र हाम्रो बहस कृषि क्षेत्र, किसान, धान संस्कृतिबाट विमुख हुनेमा कुनै शङ्का छैन । खेतमा धान रोप्नेभन्दा गमलामा धान रोपेर बढी रोमान्टिक हुने संस्कृति बढ्दै जानु निस्सन्देह खतरनाक कुरा हो । त्यसैले आजको दिनमा हाम्रो धान दिवस कसरी नेपाली संस्कृति, खेतीपाती र धानको महिमासँग जोडिएको छ भन्नेबारे विश्लेषण गर्ने तथा आजको आवश्यकता, प्रतिकूलता र अवसरका बारे छलफल र बहस चलाउन आवश्यक छ ।

हाम्रो देशमा राजनीतिक व्यवस्था निकै चोटि परिवर्तन भएको घोषणा गरियो तर किसान मजदूरको अवस्था कहिले फेरिएको अनुभूति भएन । त्यसैले धान दिवसको दिनलाई किसान अधिकार दिवसको रूपमा पनि मनाइरहँदा के हाम्रो देशका बहुसङ्ख्यक साना किसानका अधिकार प्राप्त भएका छन् या छैनन् यसतर्फ पनि ध्यानाकर्षण गर्न जरुरी छ । किसान अधिकार र खाद्य अधिकारविना आधारभूत मानव अधिकार, आर्थिक तथा सामाजिक, सांस्कृतिक अधिकार, महिला अधिकार तथा ग्रामीण जनसमुदायको अधिकार संरक्षण नहुने भएकाले यस दिनलाई मनाइरहँदा किसानको अधिकार प्राप्त गर्ने सङ्घर्षको रूपमा समेत यसलाई लिन आवश्यक छ । खाद्य उत्पादकहरू, साना किसानहरू, भूमिहीन, ग्रामीण कामदारहरू, चरुवाहरू, पशुचारकहरू, मछुवाराहरू तथा ग्रामीण भेगहरूमा बस्ने मानिसहरूको मानवझैं सम्मानित जीवन छैन, अपहेलित छन्, सम्मान नगरिएका र मूलधारको राजनीतिक–आर्थिक प्रक्रियाहरूबाट बहिस्कृत छन् भन्ने विरोधाभाषलाई आत्मसात् गर्दै नेपालमा पनि छिट्टै किसान अधिकारको कानून बनाएर तिनका अधिकार सुनिश्चित गर्नेतर्फ हाम्रो पाइला अगाडि बढ्नुपर्छ । यसको लागि सर्वप्रथम विज्ञान प्रविधिमा आधारित खेतीपातीको सुरुआत गर्न जरुरी छ । निजी सम्पत्ति र निजी उत्पादनभन्दा सामुदायिक उत्पादन र सामुदायिक आत्मनिर्भरताविना देश संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख हुन नसक्नेतर्फ बेलैमा सरोकारवाला सबैले विचार पुर्याउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here