नरेश यादव, पर्सागढी, १४ असार/

मधेस प्रदेश सरकारका वनमन्त्री रमेश पटेलले मधेसमा चार प्रतिशत मात्र वन रहेको बताएका छन् ।

बिहीवार राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय, पर्साको आयोजना र सबैया साझेदारी वन कार्यालय, सबैयाको सहकार्यमा पर्सागढी नगरपालिका–३ स्थित आमोदेवी मन्दिर प्राङ्गणमा आयोजित वृक्षारोपण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

वनमन्त्री पटेलले वृक्षारोपण गरेर वातावरणमा बढिरहेको तापमान घटाउन सकिने बताए । उनले बोटबिरुवाको विनाशका कारण आज तापक्रम बढिरहेको र समयमा पानी नपरेको बताए । वनविनाशको कारण आज स्वच्छ हावापानीको अभाव भएको बताए ।

उनले भने, “पानीको सतह धेरै तल गइसकेको छ । जसले गर्दा कृषि सिंचाइमा निकै समस्या भएको छ ।” उनले हुलाकी सडकखण्डको दुवै छेउमा वृक्षारोपण गर्नुपर्ने सुझाव दिए । प्रत्येक पाँच किलोमिटर सडकमा वृक्षारोपण गर्ने प्रदेश सरकारको अवधारणा रहेको उनले बताए । वृक्षारोपण गरेर मात्र नहुने र त्यसको लागि हेरालुको पनि व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । लाखौं रकम खर्चेर वृक्षारोपण गरिए पनि सोको संरक्षण हुन नसकेको उनले बताए ।

मन्त्री पटेलले जुन ठाउँमा वृक्षारोपण हुन्छ, सोको हेरचाहको जिम्मा सोही ठाउँका स्थानीयलाई दिनुपनेबताए ।

उनले मधेस प्रदेशमा सबैभन्दा बढी वनविनाश भइरहेको बताउँदै वनको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइ वृक्षारोपण गर्नुपर्ने बताए ।

सबैया साझेदारी वनका संयोजक लखनलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा सहायक वन अधिकृत फरमान मियाँ, रामपुकार यादव, अनिल झा, वडा नं ४ का अध्यक्ष शेख खुर्सेद, प्रकृतिप्रेमी संरक्षणका अध्यक्ष जसपाल सिंह, आमोदेवी धार्मिक पर्यटनका अध्यक्ष खुशी चौधरी, फोरेस्टर पुरुषोत्तम पटेललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here