प्रस, परवानीपुर, १४ असार/

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुरमा अवैध औषधिपसल सञ्चालनमा रहेको छ ।

विगत लामो समयदेखि चारवटा औषधिपसल विनाइजाजत सञ्चालन भइरहेको बुझिएको छ । नितनपुरको श्याम हेल्थ क्लिनिक, पाण्डेय प्राथमिक उपचार केन्द्र, खान मेडिकल, साहु मेडिकल गरी चारवटा औषधिपसल अनुमतिबेगर सञ्चालनमा छन् । औषधिपसल नियामक निकाय औषधि व्यवस्था विभाग, वीरगंजमा पटक–पटक उजूरी र गुनासो गरे पनि ती पसलहरूलाई अहिलेसम्म कारबाई भएको छैन ।

औषधिपसल सञ्चालकहरूको सेटिङमा औषधि व्यवस्था विभाग, क्षेत्रीय कार्यालय, वीरगंजका कर्मचारीलाई प्रभावमा पारी ती पसलहरू सञ्चालित छन् । औषधिपसल सञ्चालनको लागि इजाजत लिन डिप्लोमा इन फार्मेसी वा ब्याचर इन फार्मेसी उत्तीर्ण गरेका व्यक्तिले मात्र आवेदन दिन सक्छन् । तर ती पसलका सञ्चालकहरूले सिएमएसम्म मात्र पढेका छन् ।

केही दिनअघि औषधि व्यवस्था विभाग, क्षेत्रीय कार्यालय, वीरगंजको टोलीले नितनपुरका औषधिपसलहरूमा छापा मारेको थियो तर एउटा औषधिपसललाई मात्र सिल गरेको छ । बाँकी तीनवटा औषधिपसल अहिले पनि सञ्चालनमा रहेका छन् । यसअघि पनि वीरगंज कार्यालयले पटक–पटक छापामारी गरी पसलमा सिलबन्दी गर्ने गरेको र पछि आन्तरिक सेटिङमा  आँखा चिम्लेपछि अवैधरूपमा औषधिपसल सञ्चालन हुँदै आएको छ ।

औषधि व्यवस्था विभाग, वीरगंज कार्यालयले अहिले श्याम हेल्थ क्लिनिकमा सिलबन्दी गरेको छ । यस विषयमा क्षेत्रीय कार्यालय वीरगंजका प्रमुख किरण बज्राचार्यले आफू भर्खरै सरुवा भएर आएकोले अवैध औषधिपसलहरूका बारेमा छानबीन गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here