प्रस, निजगढ, १४ असार/
‘सन्ततिका लागि सोचौं, समृद्धि र हरियालीका लागि रूख रोपौं’ नाराका साथ बिहीवार देशभरि मनाइएको राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा १६ हजार बिरुवा रोपण हुने भएको छ ।
वृक्षारोपण कार्यक्रममा कोल्हवी नगरपालिकाका वडाध्यक्षहरू नन्दकिशोर चौधरी, अनुप सुवेदी, सहायक वन अधिकृत जवाहरलालप्रसाद कुर्मी, इलाका प्रहरी कार्यालय, कोल्हवीका प्रमुख भोलामान सिंह अधिकारी, सशस्त्र प्रहरी सुरक्षा बेस, कोल्हवीका इन्चार्ज विश्वनाथ यादव, वन कर्मचारीलगायतले वृक्षारोपण गरेका थिए ।
कोल्हवी नगरपालिका–५ बोधवनमा वर्षौंदेखि अतिक्रमित वन क्षेत्रबाट २६ वटा घरटहरा हटाइ तत्काल करीब १० हेक्टर वन क्षेत्रमा उक्त सङ्ख्यामा महोगनी, टीक, बेल, नीम, अर्जुनालगायतका रूख र फलफूल प्रजातिका बिरुवा रोपण गरिने बोधवन वन पोस्टका इन्चार्ज एवं फरेस्टर मुकेश दासले जानकारी दिए । स्थानीय युवाहरूलाई परिचालित गरी अतिक्रमित वन क्षेत्रमा बिरुवा रोपण कार्यलाई अघि बढाइरहेको बताउँदै झाडी सफाइमा पनि स्थानीय महिला, पुरुषहरूलाई सहभागी गराइएको फरेस्टर दासले बताए ।
जिल्लाको वन क्षेत्रसँग जोडिएका स्थानीय तह कोल्हवी नगरपालिकाका बोधवन, रामवन, कोल्हवी, सपही, ककडी, जीतपुरसिमरा उपमहानगरपालिकाका पिलुवा, महेन्द्रनगर, सखुवाघाट, रामनगर, पथलैया, अमलेखगंज, चकरी, निजगढ नगरपालिकाका रतनपुरी, निजगढ, सिगौंललगायत गरी करीब १० हजार हेक्टर वन क्षेत्र वर्षौंदेखि अतिक्रमित भएको डिभिजन वन कार्यालय, बाराको तथ्याङ्कमा उल्लेख छ ।
अतिक्रमति वन क्षेत्रलाई पुनः वनमा फिर्ता ल्याइ वृक्षारोपण कार्यलाई अघि बढाउने प्रयासलाई निरन्तरता दिइरहेको डिभिजनल वन अधिकृत विनोद सिंहले जानकारी दिए ।
वन क्षेत्रको संरक्षणमा वन कर्मचारीभन्दा पनि स्थानीयहरू आफैं अग्रसर हुँदा यसको प्रत्यक्ष, अप्रत्यक्ष फाइदा स्थानीयवासीले नै पाउने वन अधिकृत सिंह बताउँछन् ।