प्रस, वीरगंज, १३ असार/
पर्सा जिल्लाका तेस्रो लिङ्गीहरूले घरपरिवार र समाजले अहिलेसम्म आफ्नो अस्तित्व स्वीकार नगरेको कारण बाध्यकारी अवस्थामा यौनकर्म गर्नुपरेको बताएका छन् ।
वीरगंजमा रहेको सहयात्री समाजले बुधवार पत्रकारहरूसँग गरेको छलफलमा तेस्रो लिङ्गी सन्जु, ममता, नेहा र सहाबुद्दिनले सहयात्री समाज स्थापना भएको १५ वर्ष अवधिमा तेस्रोलिङ्गीहरू प्रति पहिलेको जस्तो चरम दुव्र्यवहार केही कम भए पनि अहिलेसम्म पूर्णरूपमा सामाजिक भेदभाव, दुव्र्यवहारका घटना समाप्त हुन नसकेको बताए । उनीहरूले विशेषतः नाचगान र यौनकर्मगर्दै आएको र यो पेशा अत्यधिक जोखिम रहेको बताए ।
नाचगानमा लागेकाहरूलाई निरन्तर अबेर रातिसम्म नचाउने, आराम माग गर्दा गाली गर्ने, अपशब्द प्रयोग गर्ने र रकम कटौती गर्ने धम्की दिने कार्य हुने गरेको उनीहरूले बताए । यसैगरी नाचगानमा लागेकाहरू बलात्कारको शिकार हुने गरेका र केहीले प्रहरीसम्म घटना नपु¥याउने र पु¥याएकाको हकमा पनि प्रहरी मैत्रीपूर्ण प्रस्तुत नभएको आरोप लगाए । उनीहरूले अहिलेसम्म बलात्कारका कैयन घटना भएका र मौखिकरूपमा मात्र प्रहरीलाई जानकारी गराउँदा कार्यवाही प्रक्रियामा चासो नदेखाइएकोले लिखित उजूरी नगरेको बताए । सन्जु, ममता, नेहा, र सहाबुद्दिनले वीरगंज क्षेत्रमा तेस्रो लिङ्गीहरूलाई अन्य कुनै व्यवसायमा सहभागी नगराइएकोले पनि यौनकर्म गर्नुपरेको बताए ।
कुनै पनि व्यवसायमा काम पाइँदैन, घरबाट अपहेलित भएर निकालिएकाहरूले पेट पाल्न के गर्ने ? यौनकर्म रहरले नभएर, जीविकोपार्जनको सजिलो बाटो भएकोले अँगालेको उनीहरूले बताए । पैसा पनि बढी आउने हुँदा यो पेशामा तेस्रोलिङ्गीहरूको आकर्षण बढेको हो । यहाँका तेस्रोलिङ्गीहरू कामविशेषले भारत जाने त्यहाँ नाचगान र रेलमा माग्ने कार्य गर्दै आएका र वीरगंज क्षेत्रमा बाहिरका तेस्रोलिङ्गीहरूले यौनजन्य कार्य गर्दै आएको उनीहरूको दाबी छ । हामी यहाँका तेस्रोलिङ्गीहरूले ग्राहकलाई दुःख दिने, लुट्ने पिट्ने जस्ता कार्य गर्दैनौं उनीहरूले बताए । प्रहरीलगायतबाट गुनासो आउँदा यस पेशामा लागेका तेस्रोलिङ्गीहरूलाई सचेत गराउँदै आएको उनीहरूले बताए । वीरगंजमा अहिले तुलनात्मकरूपमा पहिले भन्दा तेस्रोलिङ्गी घटनामा कमी आएको र त्यसको प्रमुख कारण बाहिरका तेस्रोलिङ्गीहरू यहाबाट पलायन भएका र बाँकीलाई सचेत गराइएको उनीहरूले बताए । अहिले वीरगंज क्षेत्रमा ५०/६० जना यौनकर्मीको रूपमा कार्यरत रहेको र यो सङ्ख्या केही दिन अघिसम्म दुई सयको हाराहारीमा रहेको उनीहरूको दाबी छ ।
सहयात्री समाज पर्साका संयोजक सुरज लिम्बुले पर्सा जिल्लामा खुलेर आएका तेस्रोलिङ्गीको सङ्ख्या ६ सय रहेको बताए । उनले घरपरिवार, समाजको डरले खुलेर आउन नसकेको सङ्ख्या अत्यधिक भएको दाबी गरे । सामाजिक, प्रशासनिक भेदभाव जारी रहँदा अहिलेसम्म धेरैजना खुलेर आउन नसकेको उनले बताए । उनले चालू नौ महीनामा पर्सा जिल्लाका ११ जना र गत वर्ष नौजना तेस्रोलिङ्गी एचआइभी सङ्क्रमित भएको बताए ।
अहिलेसम्म करीब ५० जना सङ्क्रमित रहेका र उनीहरूलाई नारायणी अस्पतालबाट एआरटी सेवा प्रदान गर्दै आएको बताए । समाजको कार्यालयमा रहेका १४ जना बाहेक अन्यलाई कामको समस्या रहेको र बाध्यताले यौनकर्मी बनेको बताए । होटल व्यावसायीहरूले तेस्रो लिङ्गीका कारण आफूहरू बदनाम भएको गुनासो गरेको र त्यस्ता कार्य छाड्ने तर होटलमा रोजगार दिन प्रस्ताव राख्दा कसैले स्वीकार नगरेको संयोजक लिम्बूले अनुभव सुनाए । उनले महानगरसहित पर्साका पालिकाहरूमा आयआर्जनका लागि तालीमको व्यवस्था गरिदिन आग्रह गरेको बताए । छलफल कार्यक्रम नेपाल पत्रकार महासङ्घ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा भएको थियो भने सहजीकरण समाजका जटाशङ्कर पटेलले गरेका थिए ।