- सञ्जय साह मित्र
आजको हाम्रो समाज न अन्धविश्वासी छ, न वैज्ञानिक दृष्टिकोण नै छ । अहिलेको युगलाई उपभोगको युग भनिएको छ । जहाँ उपयोग र उपभोग देख्दछन्, त्यहीं मानिसको भीड लाग्ने गर्दछ । हो, आज हामी धार्मिक भीडमा गइरहेका हुन्छौं र अर्कोतिर आफूलाई चरम विज्ञानवादी पनि बताउँछौं । जब विज्ञानका अविश्वसनीय दृश्यहरू हाम्रा अगाडि आउँछन् तब हामी ईश्वरलाई सम्झन पुग्दछौं । र, जब ईश्वरको काममा हुन्छौं त्यति बेला अनेक तर्कले ईश्वरमाथि विश्वास गर्न मन लागिरहेको हुँदैन । मस्तिष्कले तर्क गर्न चाहन्छ तर मनले भने त्यसलाई कुल्चेर जसरी सबैले गरिरहेका छन्, त्यसरी गर्न बाध्य बनाउँछ ।
साँच्चीकै जति धेरै महायज्ञ र यज्ञहरू हुन्छन् र तिनमा जति सहभागी हुन्छन्, तिनीहरू सबै सोहै्र आना इमानदार भइदिए यो समाज कस्तो हुन्थ्यो ? अहिले जताततै असन्तोषको हावा चलिरहेको छ, यसको अभाव हुन्थ्यो भने पहिले कल्पना गरिएको जस्तो रामराज्य हुन्थ्यो । साँच्ची राम त भगवान् विष्णुका दशावतारमध्ये एक थिए । रामराज्यमा नागरिकलाई कुनै दुःख थिएन भन्ने कल्पना गरिन्छ, उसो भए त्यति बेलाका नागरिक कति परिश्रमी थिए त ? यदि परिश्रमी थिएनन् भने पक्कै प्रगति नभएको हुनुपर्छ किनभने परिश्रमले नै सुख दिने हो । जो बढी अन्धविश्वासमा रहन्छ, उसले एक छिनको मनोवैज्ञानिक सुख त पाउँछ तर वास्तवमा दुःख नै पाएको हुन्छ किनभने उसका आवश्यकताहरू पूरा हुँदैनन् ।
धार्मिक मान्यता अनुसार राम भगवान् विष्णुका अवतार थिए । भगवान् विष्णुलाई पृथ्वीको पालनहार भनिएको छ । यसैले भगवान् विष्णुको विभिन्न रूपको पूजा सर्वत्र गरिन्छ । भनिन्छ, विष्णुका अनेक नाम छन् । हरिका हजार नाम भनेर विष्णुलाई नै भनिएको हो । जसरी हामी साप्ताहिक बिदा लिन्छौं वा हरेक वर्ष केही निश्चित दिन बिदा लिएर आराम गर्दछौं त्यसरी नै भनिन्छ, भगवान् विष्णुले पनि केही महीना बिदा लिन्छन् । यसलाई आधुनिक युगसित पनि दाँजेर हेर्ने चलन छ । सामान्यतया एक दिनको चौबीस घण्टालाई तीन भागमा बाँडेर आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने गरिन्छ, त्यसरी नै प्रकृतिको नियमानुसार भगवान् विष्णुले पनि वर्षको एकतिहाई अर्थात् तीन भागको एक भाग समयमा आराम गर्दछन् । एक वर्षमा बाह्र महीना हुने र बाह्र महीनामध्ये चार महीना अर्थात् एक तिहाई आराम गर्ने समय भनेको असार शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्मको दिन हो । असार शुक्ल पूर्णिमाको दिनदेखि भगवान् विष्णु क्षीर सागरमा विश्राम गर्ने मान्यता रहेकोले यस दिनलाई हरिशयनी एकादशी पनि भनिन्छ । हरि अर्थात् विष्णुले सुत्ने दिन हरिशयनी दिन भनिएको हो । यस दिन एकादशी तिथि नै पर्ने हुनाले यो दिन हरिशयनी एकादशी भएको हो । यस दिनलाई हिन्दू लोकजीवनमा निकै महत्वपूर्ण मानिन्छ ।
अचेल धूमिल पर्दै गएको हो वा यसको महत्व जस्ताको तस्तै हो ? तर सामान्य गाउँले जनजीवनमा यस दिनलाई निकै विशिष्टरूपमा लिने गरिन्छ । हिन्दू धर्मावलम्बीले मुख्यतः दुई एकादशीलाई सबैभन्दा ठूलो मान्ने गर्दछन्, जसमध्येको एक हो हरिशयनी एकादशी । अर्को ठूलो एकादशी हरिबोधिनी एकादशी हो । चार महीनाको विश्रामपछि भगवान् विष्णु ब्युँझिने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ जुन कात्तिक महीनाको शुक्ल पक्षमा पर्दछ । अझै पनि समाजमा यस्ता धेरै मानिस छन्, जो एकादशीलाई एउटा व्रतको रूपमा मान्ने गर्दछन् । कतिपयले त यसलाई वैज्ञानिक दृष्टिकोणले महत्वपूर्ण रहेको स्वीकार गर्दछन् । महीनामा निश्चित अवधिको फरक पारेर एक दिन सम्भव भएसम्म अन्न नखाँदा र ईश्वरप्रति निष्ठा प्रकट गरिरहँदा शरीर र मनोविज्ञान दुवैमाथि निकै सकारात्मक प्रभाव पर्ने बताइन्छ । एक दिन अन्न नखाई फलफूल वा अन्य खानेकुरा खFँदा एकातिर अन्नको बचत हुन्छ जसले गर्दा पृथ्वीमा भोकमरी कम गर्न सहयोग पुग्छ । अर्कोतिर फलफूल वा अन्य अन्नइतर भोजनले शरीरको पाचन प्रणालीदेखि अन्य कुरामा सकारात्मक प्रभाव पर्छ । वैज्ञानिक दृष्टिकोणबाट पनि यस किसिमको नियमिततालाई राम्रो मानिएको छ । यसैगरी व्रत बसेकै निहुमा मन सजिलै ईश्वरप्रति केन्द्रित हुन जान्छ । यसरी मनमा एकाग्रता ल्याउन तथा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ । यसले मन र मस्तिष्क दुवैलाई सकारात्मक ऊर्जा प्रदान गर्छ ।
यस दिन अर्थात् असार शुक्ल पक्षको एकादशीको दिन सामान्यतया घर वा आँगनमा तुलसी रोप्ने चलन छ । तुलसीको पूजा गर्ने चलन छ । अहिलेसम्म तुलसी निकै औषधीय गुण भएको वनस्पति हो भन्ने कुरो धेरै बुझिसकेका छन् । तुलसीले वातावरणलाई पनि निकै सकारात्मक प्रभाव दिने गर्दछ भन्ने पनि बुझिएको छ । तुलसी आँगनमा रोप्नुको अर्थ यो पनि हो कि वर्षाको समयमा हावाको माध्यमबाट आउने विभिन्न किसिमका हानिकारक वायुलाई शुद्ध पार्नु । दोस्रो, आँगनमा तुलसी राख्नुको अर्थ यो पनि हो कि आँगन सधैं पवित्र भइराख्छ । अब वर्षात्को मौसम शुरू हुँदैछ । यसैले कहिले रुघा लाग्ला वा कहिले अलिकति बिसञ्चो महसूस होला भने तुलसीलाई पानीमा तताएर चियाजस्तै पिउन सजिलो हुन्छ । वर्षाको समयमा तुलसी खोज्न कतै टाढा जानुपर्दैन, आँगनमैं हुन्छ । त्यसैले तुलसीमठ सबैको नजरमा पर्नेगरी राखिन्छ । यसैगरी हरेक घरमा तुलसी हुँदा कतिपय रोगव्याधि घरमा प्रवेश गर्दैन भन्ने पनि मान्यता रहेको छ ।
अहिले पनि गाउँघरमा एकादशीको दिन कसैले माछामासु सेवन गर्दैन । सधैं माछामासु खानेले पनि आज एकादशी हो, यस दिन मांसाहारी भोजन गर्दिनँ भन्ने वा मान्ने धेरै मानिस छन् । गाउँघरमा यस्ता अनेकौं मानिस छन्, जो शाकाहारी छन्, तिनका लागि यो दिन निकै विशिष्ट हुन्छ । यस दिन त आफूले जानेको र सकेको सबै नियम तथा निष्ठा अत्यन्त श्रद्धापूर्वक पालन गर्दछन् । भोकै बस्नु वा बस्न नसक्नु एउटा पक्ष हो तर सम्भव भएसम्म ईश्वरप्रति श्रद्धा र आस्था राख्ने तथा मठ वा मन्दिरमा दर्शन गर्ने वा घरमा पूजा गर्ने तथा एकादशीको महत्व बताउने गर्दछन् । लोकजीवनमा एकादशी अझै पनि एउटा विशिष्ट दिनको रूपमा रहेको छ भन्ने कुरा यस एकादशीले स्पष्ट पार्दछ ।
हुनत अहिले, माथि भनिएजस्तै पूजा पनि गर्ने र देउतालाई मान्नेभन्दा पृथक व्यवहार पनि गर्ने चलन बढेकै छ । एक हिसाबले धार्मिक आडम्बर देखाउने वा धार्मिक कार्यमा आफूलाई अगाडि सारेर एक किसिमले श्रद्धा प्रकट गर्ने तर वास्तवमा त्यसभन्दा विपरीत आचरण पनि गर्नेहरू धेरै छन् । गेरुवा वस्त्र धारण गर्ने व्यक्ति पनि मदिरालयमा लडेको देखिएकै छ । चाडपर्वप्रति आस्था प्रकट गरेर आस्थाविपरीत आचरण गर्नेहरू पनि यस संसारमा छन् । यसै कारण अहिले एकातिर धार्मिक कार्यक्रमहरू हार्दिकभन्दा बढी औपचारिक हुने गरेका छन् । औपचारिकता बढी हुँदा कार्यक्रम अनुरूप आचरणमा कमी आउँछ । देखिएकै हो, धार्मिक कार्यक्रममा मानिसको अपार भीड हुन्छ र अर्कोतिर समाजमा धार्मिक मर्म अनुसार गतिविधि सम्पन्न भइरहेको अवस्थाको अभाव पनि स्पष्ट देखिन्छ ।
लोकजीवनमा एकादशी प्रदर्शनमुखी संस्कृतिभन्दा बढी व्यवहार हो, आचरण हो अझै पनि । हुनत एकादशीको परम्परागत मान्यता तथा शास्त्रीय मान्यताबाट सर्वसाधारण गाउँलेहरू वर्तमान अवस्थामा पूर्ण परिचित छैनन् तर निष्ठामा भने कमी आउन दिएका छैनन् । आफ्नो संस्कृति जोगाउन यस दिन गरिनुपर्ने कतिपय अनिवार्य कार्य चाहिं घरमा गरिएको पाइन्छ । यसको अर्थ यो पनि हो कि यो एकादशी हाम्रो संस्कृतिको अभिन्न अङ्गको रूपमा स्थापित छ । संस्कृतिको परिपालन हार्दिकतापूर्वक गर्दै सन्ततिलाई हस्तान्तरण गर्ने काम पनि भइरहेको छ । यस दिनले एकातिर व्यवहार, अर्कोतिर चिन्तन तथा मनोविज्ञान र समाज सबैलाई सकारात्मक प्रभाव पार्ने काम गरेको देखिन्छ तथा अघोषितरूपमा वर्षाको मौसम शुरू हुँदैछ, अब घरपरिवारले सोही अनुसार तयारी गर्नुपर्छ भन्ने सन्देश समाजलाई दिने गर्दछ ।