- जगदीशप्रसाद शर्मा
गताङ्कको बाँकी
स्वर्गद्वारीबाट फर्केपछि बुटवल हुँदै फर्कने त्रासले पनि कसैले यो सन्दर्भ कोट्याएन । र, पुनः चिनेजानेको भनेर चन्द्रौटास्थित त्यसै होटलमा फोन गरेर खाने र बस्ने व्यवस्था मिलाइयो । भोलिपल्ट ७ बजेतिर हामी वीरगंजतिर सोझियौं । राति १० बजेसम्म पुग्ने अनुमान थियो । किनकि एक वर्ष पहिले बुटवल आउँदा बाटोको हविगत भोगिसकेको थिएँ र यसपटक त बर्दघाटबाट बुटवल पुग्ने नारकीय अनुभव हामी सबैसँग थियो ।
यसपटक भने बुटवलबाट सोझै भैरहवा लाग्यौं । रामानन्द बखान गर्न थाले । भैरहवा त मेरा लागि पानी–पधेरो हो । मलाई भैरहवामा एकजनासँग भेट पनि गर्नुछ । हामीले सुर्ता लिएनौं । गाडी उनको, भेट्ने उनले, भैरहवा पानी–पधेंरो । निर्धक्कको कुरा के भने उनी अगाडिको सीटमा विराजमान, चालक पनि वर्षौंदेखि उनीकहाँ काम गरिरहेका, हँसमुख स्वभावका राम पटेल । हामी हाँसीखुशी गर्दै, कसैलाई जिस्काउँदै, कसैको गाली सुन्दै, कसैलाई मख्ख पार्नमैं मस्त थियौं, कुन बेला भैरहवा छुट्यो, कसैलाई होश रहेन । बर्दघाट पुगेपछि रामानन्दले सोधे–होइन, बुटवलबाट भैरहवा आधा घण्टामा पुगिन्छ भनेको दुई घण्टा भइसक्यो, खोई भैरहवा ? कसलाई हप्की खानु थियो ! श्यामले स्थिति सम्हाले–राम भाइ, गाडी घुमा ल । रामानन्द भाइ के भैरहवा चहुँपे के बा । राम पटेल रामानन्दतिर हेरेर हाँस्न थाले । भैरहवा त कौना बेला ना, पछि छुट गइल । फर्कने कुरै थिएन ।
बर्दघाटबाट दाउन्नेसम्म झन् सास्तीपूर्ण यात्रा थियो । दाउन्नेबाट भने एकतर्फी बाटो खुलिसकेको थियो । ठाउँठाउँमा झिनोमसिनो अवरोधबाहेक बाटो सङ्लो थियो । बाटोमैं राप्ति किनारको एउटा होटलमा खाना खाएर हामी ४ बजे हेटौंडा आइपुगेका थियौं र ६ः३० बजे वीरगंज । खिन्न मनले सबैले एक अर्कालाई बधाई दियौं । छुट्टिनुको दुःख र सुपा देउराली नपुग्दाको कटकटिएको मनले क्षुब्धता दिएको थियो ।
एक दिन ज्येष्ठ नागरिक पार्कमा सबैको भेट भयो । यद्यपि हामी केही साथीहरू त नियमित पार्कमैं प्रातःभ्रमण गथ्र्यौं । रामानन्द भने ‘जय श्रीराम’को उद्घोष र थपडी बजाएर वीरगंजलाई थर्काउँदै अन्यत्र मर्निङ वाक गर्थे । थपडी पनि कस्तो भने एक दिन प्रहरीले उनलाई समातेर तपाईंको थपडीले सुतेका मानिसलाई अप्ठ्यारो परेको शिकायत आएको छ, यस्तो नगर्नुस् भन्नुपर्यो । तर शनिवारको दिन भने उनी पार्क गुञ्जायमान पार्न आइपुग्छन् । त्यसै दिन उनी मलाई देख्नासाथ गर्जन–बर्सन थाले । के पर्यो भनी सोध्दा–“तैंले गर्दा सुपा देउराली जान पाइएन । त्यो त गज्जबको ठाउँ रहेछ ।”
असलमा रामानन्दको होटल छ र उनी व्यापारी पनि हुन् । थरीथरी र ठाउँठाउँका मानिस उनीकहाँ आउँदा रहेछन्–तिनैमध्ये कसैले उनलाई भनेछ– “हरे १ त्यहाँसम्म पुगेर पनि सुपा देउरालीको दर्शन गर्न जानुभएन । सा¥है जाग्रत देवी हुन्, ठाउँ पनि निकै रमाइलो छ । त्यसै बेलादेखि मलाई थकथक लागिरहेको छ । तैंले जबरजस्ती गरेको भए म नाइँ भन्ने थिएँ र ?” मैले भनें–“तिमीलाई नै बिहे र पूजामा जाने हतारो थियो । ‘दायाँबायाँ कुछो ना सुनेम, आज जैसे भी वीरगंज पहुँचे के बा’ भनेका होइनौ ?” अनुहारमा कुनै पश्चात्तापविना उनले भने–“हो मैले भनेको हो, तर तैंले मलाई गाली गरेर, जबर्जस्ती गरेको भए म मानी हाल्थें नि ! यस्ता थिए, गाडी मालिक, हाम्रो यात्राका अगुवा, रामानन्दप्रसाद कलवार ।
यात्राको बिट मार्नु अघि सहयात्री साथीहरूको सामान्य परिचय पनि दिइहालौं ।
श्यामकुमार पोखरेल ः ज्येष्ठ नागरिक सङ्घ पर्साका सद्यःअध्यक्ष । नम्र स्वभाव र मीठो छेडपेंच गर्न सिपालु । नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्र ज्योति सङ्घको उच्च पदमा बसेर लामो समय सेवा गरेका, देश–विदेशको भ्रमण गरेका । खासगरी नेपालको अधिकांश ठाउँ घुमेका र जनसम्पर्कमा रहेका व्यक्ति ।
ज्योति शाह ः ज्येष्ठ नागरिक महासङ्घ, मधेस प्रदेशकी तीनचौथाई उमेर विनारोग–व्याधि बिताइसकेकी सक्रिय सदस्य । पूर्व कार्यसमिति सदस्य, सम्प्रति सदस्य ज्येष्ठ नागरिक महासङ्घ, मधेस प्रदेशकी सदस्य । उमेरले हद पुगे पनि शारीरिक गतिविधिमा कमी नभएको । सङ्घको सदस्यता वृद्धि कार्यक्रम अन्तर्गत प्रशंसापत्र प्राप्त । रामानन्दको शब्दमा २५ वर्षे तरूनीभन्दा पनि सक्रिय ।
सुरेन्द्रलाल श्रेष्ठ ः ज्येष्ठ नागरिक सङ्घ पर्साका कोषाध्यक्ष । स्वभावले मस्तमौला । हरियो खाद्य भक्षी । बाँडेर खाने अभ्यास भएका, मिलनसार व्यक्ति । राति सुत्ने बेला बत्ती बाल्नुपर्ने । सुर्खेतमा एउटा रोचक कुरा भयो । उनीसँग कोठामा सँगै बसेका साथीलाई सुत्ने बेला अँध्यारो चाहिने, सुरेन्द्रजीलाई उज्यालो । सुरेन्द्रजीले सम्झौता गरौं भनेछन्–आफैंले गरे एक बुँदे सम्झौता–कोठामा दुईटा बत्ती छ । एउटा निभाउँ एउटा बालौं ।
रमेशदत्त कर्ण ः पूर्व सहायक प्रमुख जिल्ला अधिकारीबाट सेवा निवृत्त । शान्त र सहयोगी स्वभावका । जतिसुकै आलोचना वा अप्ठ्यारोमा पनि धीरचित्त रहने प्राणी । हँसमुख, मितभाषी । बाटोभरि गाडी कहाँ पुग्यो, कति बजे कहाँ पुग्छ, कुन बाटो जाने हो, सबै कुरा मोबाइलमा जिपिएस सिस्टमबाट खोतलेर सबैको ज्ञानवृद्धि गर्न दत्तचित्त ।
नन्दलाल रेग्मी ः सर्वथा अपरिचित पाहुना । हामीलाई उनीबाट र उनलाई हामीबाट अपरिचयको सङ्कोच उत्पन्न हुन सक्ने सम्भावनाबाट सबै त्रस्त । तर दुई घण्टाकै सङ्गतले सबै सङ्कोच तिरोहित गरेर मानौं धेरै वर्षपछि भेट भएका साथीजस्ता भयौं । खासमा सुरेन्द्रजीको वाक्पटुता र तत्काल नजीकिने स्वभावले कसैलाई पराइपन अनुभूत भएन । सङ्घर्षमय जीवन बिताएका, सानै तहमा काम गरेर आप्mना तीन भाइ छोराहरूलाई उच्च प्रशासनिक पदमा पुर्याउन सफल, आकर्षक व्यक्तित्वका स्वामी ।
रामानन्द ः उनको परिचय त लेखभरि छरिएको छ । मुखका खस्रा, मनका …. (fill the gap) । अर्को यस्तै कार्यक्रममा फेरि रामानन्दको गाडी चढेर अन्त कतै जाने साथीहरूको सोच छ । त्यति बेला मनका पछि के भर्ने सर्वसम्मत निर्णय गरिएला ।
लेखक ः महाभारतको बर्बरिक ।