प्रस, वीरगंज, २ असार/
वीरगंजमा शनिवार दुईवटा संस्थाले गरेको रक्तदान कार्यक्रममा १८६ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।
साहिब दरबार वीरगंजले जैन धर्मशालामा गरेको रक्तदान कार्यक्रममा आठजना महिलासहित १५५ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शरीरको रगत तीन/तीन महीनामा त्यत्तिकै खेर जाने भएकोले रक्तदान गरी पुण्य कमाउन आग्रह गरे । रक्तदान गर्ने रक्तदाताहरूलाई महानगरप्रमुख सिंहले प्रमाणपत्र वितरण गरेका थिए ।
अत्यधिक गर्मीका कारण रक्तदान कार्यक्रममा कमी आउ“दा केही समययता वीरगंजमा रगतको अभाव सिर्जना भएको रक्तसञ्चार केन्द्र, वीरगंजले जनाएको छ । रगत अभावमा बिरामीहरूको उपचारमा समस्या आउन थालेपछि साहिब दरबारले रगतको अभाव हुन नदिनका लागि आज रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष उमेशलाल सहनीले बताए ।
रक्तदान कार्यक्रममा साहिब दरबारका संस्थापक सदस्य अन्नपूर्ण मानन्धर, वडाध्यक्ष बैजुलाल स्वर्णकार, संस्थाकी कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, प्रतिमा सिंहलगायतको सहभागिता थियो ।
यसैगरी, सान्वी फाउन्डेशन अफ नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका राजन श्रीवास्तवले बताए ।
फाउन्डेसनका अध्यक्ष सानु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा विवेककुमार झा, विवेक साह, सशाड्ढ सिंह, युवराज गुप्ता, मल्विन्दर कौर, ओमप्रकाश गुप्ता, अमरदीप साह, गोविन्द रौनियारलगायतले रक्तदान गरेका थिए ।