प्रस, परवानीपुर, ३१ जेठ/
१६ वर्षदेखि वीरगंज महानगर–२५ श्रीसिया सुक्खा बन्दरगाहमा आधिपत्य जमाएको भारतीय कन्टेनर निगम लिमिटेड (कन्कर)ले अहिले नेपाली आयातकर्तालाई लोभ्याउने गतिविधि शुरू गरेको छ।
सोमवार साँझ कन्करले एउटा विज्ञप्ति जारी गर्दै कोलकाता बन्दरगाहबाट सुक्खा बन्दरगाह वीरगंजको लागि साप्ताहिक मालगाडी चलाउने निर्णय गरेको जनाएको छ। यसअघि साप्ताहिक रेल अनियमित गर्दै आएको कन्करले व्यवसाय कम पाउन थालेपछि वीरगंज तथा नेपालकै आयातकर्तालाई लक्षित गर्दै हप्तामा एक दिन शनिवार साँझ कार्गो रेल वीरगंजको लागि चलाउने तयारी गरेको जनाएको छ।
वीरगंजदेखि कोलकाता करीब सात सय किलोमिटर दूरीमा पर्छ। कोलकाता बन्दरगाह अन्तर्गत नै हल्दिया बन्दरगाह पनि पर्छ। त्यहाँबाट मालगाडी वीरगंज पुग्न ४८ देखि ७२ घण्टा लाग्ने गरेको छ।
सन् २००४ मा श्रीसिया सुक्खा बन्दरगाह सञ्चालन हुँदा एकैचोटि १० वर्षको लागि नेपाल सरकारले कन्करको साझेदार हिमालयन टर्मिनललाई ठेक्का दिएको थियो। त्यसपछि अर्को पाँच वर्ष को लागि दोस्रो ठेक्का पनि हिमालयन टर्मिनलले नै पायो।
एक वर्ष ठेक्का लगाउन समय बित्दा करीब १६ वर्ष सुक्खा बन्दरगाह सञ्चालन एवं व्यवस्थापनको जिम्मा हिमालयन टर्मिनलले पाएको थियो। सन् २०२० अगस्त ७ मा प्रिन्सटन भ्याली ड्राइपोर्ट प्रालिले ठेक्का लिंदा हिमालयन टर्मिनल बाहिरियो।
त्यसपछि हिमालयन टर्मिनलको माउ कम्पनी कन्करले नेपाली आयातकर्तालाई अचानक रेल बन्द गर्दै दुःख दिन थाल्यो। जसले गर्दा भारत तथा तेस्रो मुलुकबाट आयात हुने मालवस्तुमा नेपाली आयातकर्ताले लाखौं रुपियाँ विलम्ब शुल्क तिरेका थिए।
नयाँ कम्पनी प्रिन्सटन भ्यालीले निजी रेल चलाउन थालेपछि कन्करको नेपाल एवं वीरगंजसँगको व्यवसाय पातलिंदै गएको अवस्थामा फेरि कारोबार बढाउन यस्तो रणनीति अख्तियार गरेको छ।
अहिले सुक्खा बन्दरगाह वीरगंजमा कोलकाता, हल्दिया र विशाखापट्टनमबाट महीनामा ४५ देखि ६० वटासम्म मालवाहक कार्गो रेल आउने गरेका छन्। गत मेमा कन्करले जम्मा दुईवटा हाफलोडेड रेल ल्याएको छ भने प्रिन्सटन भ्याली तथा ऊसँग आबद्ध रेल सञ्चालक कम्पनीहरूले कोलकाताबाट १५ वटा र विशाखापट्टनमबाट ३९ वटा गरी कुल ५४ वटा रेल ल्याएको जनाएका छन्।
यस विषयमा वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव
राजपाल प्रतिस्पर्धा हुनु राम्रो हो, तर कन्करले एकाएक रेल उपलब्ध गराउन बन्द गरेको कारण व्यवसायीहरू उसको सेवाबाट असन्तुष्ट थिए। जसले गर्दा व्यवसायीहरूले अन्य विकल्प खोजेका छन्। रेल ल्याउने विषयमा अन्य प्रतिस्पर्धी हुँदा व्यवसायीलाई फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे।
यसैगरी, सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको प्रिन्सटन भ्यालीका अपरेशनल हेड अतुल शर्माले कन्करको रेलले गर्दा आफूहरूको व्यवसायमा कुनै असर नपर्ने र आफ्नो कम्पनीको पनि व्यावसायिक रणनीति आक्रामक रहेको जवाफ दिए।