पोखरिया अस्पतालको स्तरोन्नति हुँदै ५० शøयाको अस्पताल बनाउनेगरी मधेस प्रदेश सरकारले आव ०८०/८१ को नीति तथा कार्यक्रममा योजना समावेश गरेको छ । पर्सा जिल्लाको आधा भूभागका बिरामीहरूको लागि पोखरिया अस्पताल उपचारको पहिलो गन्तव्य हो । धेरै पहिलेदेखि जिल्लाको दोस्रो सदरमुकामको पहिचान बनाएको पोखरिया अहिले ०७४ सालदेखि नगरपालिका बनेको हो । पोखरिया नगरपालिका बनेदेखि वीरगंज केन्द्रित सरकारी सेवाहरूको शाखा पोखरिया नगरपालिकामा स्थापना हुनुपर्ने माग उठ्दै आएको हो । तर अहिलेसम्म आश्वासनमा मात्र सीमित छ सरकारी सेवा केन्द्र स्थापना गर्ने विषय । पोखरियामा सरकारी सेवाका केन्द्रहरू स्थापनाका लागि बेलाबखत आवाज उठने गरेको र आश्वासनमा मत्थर हुने गरेको छ । पछिल्लोपटक ०७९ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि नगरप्रमुख बनेका एमालेका नेता प्रद्युम्न चौहानको नेतृत्वमा यो विषय उठान भएको छ । सङ्घीय राजधानी काठमाडौं र प्रदेश राजधानी जनकपुरमा सरोकारवाला मन्त्रीहरूसँग भेटघाट, छलफल भएको छ तर उही पुरानो पारामा आश्वासन बटुलेर जनतामाझ आएर वाहवाही बटुल्नेबाहेक प्रगति भने हुन सकेको छैन ।
आश्वासन दिन कन्जुस्याइँ नगर्ने, कार्यान्वयन भने नगर्ने हाम्रा नेताहरूले पछिल्लोपटक पनि त्यही विधिबाट डेलिगेशन गएकाहरूलाई शान्त पारेर फर्काए । डेलिगेशन गएर सरोकारवालाहरूलाई भेटेर आश्वासनको पेटारो बोकी फर्केका स्थानीय नेताहरू अहिलेसम्म आश्वासन कार्यान्वयन हुने पर्खाइमा छन् । जनउत्तरदायी कार्य भयो, डेलिगेशन गइयो, मन्त्रीको आश्वासन पाइयो भनेर नेताहरू ढुक्क बसेको परिणाम अहिलेसम्म वीरगंज केन्द्रित सरकारी कार्यालयका शाखाहरू पोखरियामा स्थापना हुन सकेका छैनन् । पोखरिया अस्पताललाई मधेस प्रदेश सरकार गठन भएदेखि, ०७४ सालपछि, यसै जिल्लाबाट मुख्यमन्त्री भएका लालबाबू राउत गद्दीले जिल्ला अस्पताल घोषणा गराए अनि अत्याधुनिक प्रयोगशाला र ५० शøयाको अस्पताल घोषणा गरेका थिए । उनको कार्यकालमा घोषणा मात्र भयो । उनले वीरगंज केन्द्रित सरकारी कार्यालयहरूको शाखा पोखरियामा स्थापना गराउने र ग्रामीण क्षेत्रका मानिसलाई मालपोत, नापी, भूमिसुधारजस्ता सरकारी सेवाका लागि वीरगंज धाउनु नपर्ने वातावरण सृजना गर्ने आश्वासन अहिलेसम्म फगत आश्वासनमैं केन्द्रित भएको छ । गृह मन्त्रालयले पर्सा जिल्लाका चारवटा गापाहरू ठोरी, जगरनाथपुर, जीराभवानी र पटेर्वासुगौलीका मानिसका लागि नागरिकता, नक्कल र राहदानीका लागि जिल्ला प्रशासन कार्यालय पर्सासम्म धाउन नपरोस् भनेर जीराभवानी गापा–४ सुपौलीमा इलाका प्रशासन कार्यालय ०७५ सालमा स्थापना गरेको थियो । तर सो कार्यालयबाट सातामा एकपटक मात्र सेवा पाउँदै आएका स्थानीयहरू अहिले सो सेवाबाट पनि वञ्चित भएका छन, अर्थात् इलाका प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ ।
छिमेकी बारा जिल्लामा भूगोलको हिसाबले चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । पर्सा जिल्लामा भने ६८ किलोमिटर टाढा ठोरी गापादेखि मानिस नागरिकता, राहदानी, मालपोत तिरो, जग्गा खरीद बिक्रीका साथै नापनक्शा, कुतवालीका लागि वीरगंज धाउनुपर्ने बाध्यता छ । अहिले स्थानीय तह सक्रिय छन् तर जिल्ला केन्द्रित सरकारी सेवाहरू भने वीरगंजमा सीमित भैरहँदा पनि कसैले आवाज बुलन्द गर्न सकेका छैनन् ?