प्रस, वीरगंज, १८ जेठ/
वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले प्राउड कप वार्ड लेबल टि–२० नकआउट क्रिकेट टुर्नामेन्टको उद्घाटन गरेका छन् ।
नारायणी क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख आलमले खेलले अनुशासित बनाउने बताए । उनले अनुशासनपूर्ण तरीकाबाट खेल खेल्ने खेलाडीले भविष्यमा उपलब्धि हासिल गरेको थुप्रै उदाहरण रहेको बताए । उनले खेलको माध्यमबाट समाज र देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा बढाउन सकिने भन्दै यसको प्रवद्र्धनमा महानगरपालिकाले हरबखत सहयोग गर्ने आश्वासन दिए ।
बिहीवारको पहिलो खेल मुर्ली–१२ चान्स र मर्सीज क्रिकेट क्लब मुर्लीबीच भएको थियो ।
उद्घाटन कार्यक्रममा मधेस प्रदेश विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, जीयालाल साह, समीर मन्सुरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।