प्रस, निजगढ, १७ जेठ/
निजगढ नगरपालिका–४ बागदेवस्थित विश्वकै कान्छ पर्वत शृङ्खला चुरेको फेदमा रहेको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पाँचवटा पोखरी निर्माणले सिमसार क्षेत्रको संरक्षणसँगै वन्यजन्तुको चहलपहल बढ्न थालेको छ । जसमा स्थानीयरूपमा चिनिने तीन बिघा क्षेत्रफलमा रहेको एउटा कुनसाङ पोखरी सात वर्षदेखि निरन्तर सञ्चालनमा छ भने यसमा बोट पनि सञ्चालन हुन्छ । यस पोखरीमा व्यावसायिकरूपमा विभिन्न प्रजातिका माछापालन गर्दै फिसिड्ढो व्यवस्थासमेत मिलाइएको छ ।
वन समूहको आय आर्जन गराउन त्यस बेला वन समूहले पोखरी निर्माणमा रु १० लाख खर्च गरे पनि पोखरी पूर्णरूपमा निर्माण हुन नसकेपछि स्थानीयको थप रु १० लाखको लागतमा निर्माण सम्पन्न गरी वार्षिक ठेक्कामार्फत उक्त पोखरी सञ्चालनमा ल्याइएको वन समूहले जनाएको छ ।
वन समूहमा केही वर्षअघि दुईवटा साना पोखरी र अघिल्लो वर्ष लगभग डेढ बिघा क्षेत्रफलको एउटा पोखरी र आर्थिक वर्ष २०७९/८० मा २०० मिटर लम्बाइ, ३७ मिटर चौडाइ र दुई मिटर गहिराइको एउटा पोखरी निर्माण सम्पन्न भएको छ । सिमसार क्षेत्र व्यवस्थापनका लागि डिभिजन वन कार्यालय, बाराको रु १० लाखको सहयोग र थप रु एक लाखबराबरको उपभोक्ताको जनश्रमदान गरी रु ११ लाखमा उक्त पोखरी दुई दिनअघि निर्माण सम्पन्न भएको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमरलाल सिङ्तानले बताए ।
पोखरी नै पोखरी भएको यस वन समूहबाट परिचित हुन केही वर्ष अझै पर्खनुपर्ने देखिन्छ । उक्त पाँचवटा पोखरीमध्ये चारवटा पोखरी अझै सञ्चालनमा ल्याउन केही समय कुर्नुपर्ने वन समूहका अध्यक्ष सिङ्तानले बताए । यस वन समूहमा रहेका दुईवटा साना पोखरीलाई भर्खरै डिवका, बाराबाट रु दुई/दुई लाख प्राप्त गरी मर्मतसम्भार गरिएकाले अब पोखरीमा पानी राख्नको लागि व्यवस्थापनमा जुट्ने वन समूहका उपाध्यक्ष हस्तबहादुर कार्कीले बताए ।
चुरे फेदमा रहेको यस वन समूहमा निर्माण भएका पोखरीमा पानी भर्ने व्यवस्था मिलाउन आग्रह गरिने डिवका, बाराका प्रमुख एवं डिभिजनल वन अधिकृत विनोद सिंहले बताए । यहाँका सबै पोखरीमा पानी भरेसँगै केही वर्षमैं यस क्षेत्रमा हरियाली बढ्ने, अहिलेका सुक्खा जमीनहरूमा चिस्यान बढ्ने, पानीका स्रोतलाई सुक्न नदिने, सिमसार क्षेत्र संरक्षणसँगै वातावरणमा समेत स्वच्छता बढ्ने अपेक्षा लिइएको डिभिजनल वन अधिकृत सिंहले बताए ।
२०६६ सालमा बकैया खोलाको पूर्वतर्फको ठूलो क्षेत्रफलमा रहेको नदीउकास जमीनमध्ये १०५ हेक्टर वनको क्षेत्रलाई सिमेन्टेड पोल, काँडेतारले घेराबार गरी संरक्षण गर्दै ट्याक्टरले बगर जोत्दै खयर, सिसौं, हर्रोबर्रो, अमला, बेल प्रजातिका बीउ छरेपछि केही वर्षमैं आशालाग्दोरूपमा बिरुवा हुर्कंदै अहिले यस नदीउकास क्षेत्र घना र हरियाली बनेको छ ।
वन समूहका तत्कालीन अध्यक्ष सुदर्शन लामिछानेको पहलमा सुक्खा नदीउकास बगरलाई तत्कालीन जिल्ला भूसंरक्षण कार्यालय, बाराको सहयोगमा चुनौतीको सामना गरिएपछि सकारात्मक परिणाम आएको यस वन समूहले चौतर्फी प्रशंसा पाइरहेको छ ।
त्यस बेला हामीलाई बगरमा पनि बीउ छरेर बिरुवा उम्रन्छ र ? भन्नेहरू नभएका होइनन् । प्रयास गरौं न त भनेर हामीले आँट, साहस गरेका थियौं । त्यस बेला गरेको दुःख, मेहनत अहिले घना र हरियाली वनको रूपमा देख्दा भुल्छांै । अहिले निकै खुशी लाग्छ,” तत्कालीन वन समूहका अध्यक्ष लामिछाने भने ।
सुक्खा नदीउकास बगरलाई हरियाली बनाउन चुनौती र साहसका कार्यमा वन समूहका पदाधिकारी, उपभोक्ताले आँट दिएका कारण र जिल्ला भूसंरक्षणले पनि खयरको बीउ उपलब्ध गराइ सहयोग गरेका कारण अहिले वन क्षेत्र हरियाली बनेको स्थानीय समाजसेवी कृष्णप्रसाद दाहालले बताए । यस वन समूहको नदीउकास क्षेत्रमा बीउ छरेर हरियाली वन बनाउनका लागि जिल्ला भूसंरक्षण कार्यालय, बाराले खयरको बीउ उपलब्ध गराइ सहयोग गरेको प्राविधिक अनिल सिन्हाले बताए । घना सिसौंको रूख रहेको यस वन क्षेत्रमा पछिल्लो समय सिसौंको रूख सुक्दै गएको र खयरका रूख बाक्लिंदै आइरहेको वन समूहका अध्यक्ष सिङ्तान र कार्यालय सचिव रामकुमार सिग्देलले बताए ।
यस वनमा हरिण, मृग, बँदेल, घोडगधालगायतका वन्यजन्तु र विभिन्न प्रजातिका चराचुरुङ्गीहरू देख्न सकिन्छ । पर्सा राष्ट्रिय निकुञ्ज र वन समूहको वन क्षेत्र हुँदै वन्यजन्तुहरू चुरे भएर बग्ने चुरे फेदको बागदेवस्थित बकैयाखोला मोहोरीमा पानी पिएर यस नदीउकास घना वन क्षेत्रमा वन्यजन्तुहरू विश्राम लिने, चरिचरण गर्ने र बास बस्ने गरेको प्रत्यक्षदर्शी स्थानीयहरू बताउँछन् ।
विगतमा यस नदीउकास जमीनलाई संरक्षण नगर्दा चैत, वैशाख, जेठको गर्मीमा पानीको स्रोत सुक्ने र हरियाली बढ्न थालेसँगै पानीको स्रोत सुक्न छाडेको स्थानीय मानबहादुर योञ्जन र नेलबहादुर राउतले बताए ।
बगरमा घना वन र हरियाली बढेसँगै गाईवस्तुका लागि घासपात पनि सहजै पाउन थालेको स्थानीय तुलसा पाण्डे, सरिता राउत र अनीता बरालले बताए ।
वन समूहको वन क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास विस्तार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आउन सक्ने सम्भावना रहेको वन समूहकी सचिव यशोदा बुढाथोकी र कोषाध्यक्ष ज्ञानबहादुर थिङले बताए । वन समूह क्षेत्रमा मोहोरीस्थित गणेशमान सिंह पिकनिक पार्क, शहीद हीरालाल पार्क छन् भने तराई–मधेसको निजगढ भएर सङ्घीय राजधानी काठमाडौं जोड्ने दु्रतमार्ग चुरे छिचोलेर गएको छ । यही वन क्षेत्र आसपास भएर पूर्व–पश्चिम विद्युतीय रेलमार्ग लैजान सरकारले सर्भे पनि गरिरहेको छ ।