प्रस, वीरगंज, १३ जेठ/

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन पर्सा शाखाले शनिवार वीरगंजमा प्रभातफेरी निकालेको छ ।

घण्टाघरबाट निकालिएको प्रभातफेरी माईस्थान, आदर्शनगर, घडीअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभा गरी समापन भएको थियो ।

कोणसभामा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानले वर्तमान अवस्थामा नेकाका सबै भ्रातृृ सङ्गठनहरू एकबद्ध भएर पारस्परिक सहयोग बनाएर रहनुपर्ने सुझाए ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले देश आर्थिक सङ्कटका साथै राजनीतिक सङ्कटको पनि सामना गरिरहेकोले अहिलेको अवस्थामा नेपाली पत्रकारितालाई अझै बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले प्रेस युनियन पुरानो र वैचारिक सङ्गठन भएको र उसले धेरै जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

प्रेस युनियनका सचिव अशोक तिवारीले क्रियाशील नरहेको पत्रकारको सदस्यता नवीकरण नगर्न पत्रकार महासङ्घलाई सुझाए । उनले यसमा प्रेस युनियनले पनि सघाउने बताए ।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्घका मधेस प्रदेश महासचिव श्याम बन्जारा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नीलिमा पौडेल, श्रीराम रायमाझी, प्रेस युनियन पर्साका पूर्व अध्यक्ष रामनारायण कुर्मी, उपाध्यक्षद्वय क्रान्ति साह, अलि असगर देवान, मधेस प्रदेशका सदस्य श्रवणप्रसाद साह, अजयकुमार साह, राहुल गुप्ता, नेपाल फोटो पत्रकार महासङ्घका पङ्कज श्रेष्ठ, नेकाका स्थानीय नेता मनोहर साह र दिलीपराज कार्कीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण प्रेस युनियन पर्साका सचिव इरफान अलिले गरेका थिए ।

यसैगरी प्रेस युनियन बाराले स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयाका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।

युनियनका नेताहरू सत्यप्रकाश श्रेष्ठ, गणेश रिजाल, सिकेन्द्र पासवान, नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रेशम तिवारीलगायतको सहभागिता थियो । अस्पतालका ६० जना बिरामीहरूलाई फलफूल वितरण गरिएको प्रेस युनियन बाराले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here