• डा शिवशङ्कर यादव

गताङ्कमा उच्चतर बौद्धिक कार्यका आधारभूत तत्व लर्निङ, मेमोरी र स्पीचको बारेमा विवेचना गरिएको थियो । आज उनै तिनका केही विकृति वा बिमारीको वर्णन गरिनेछ । यसको साथै आज शरीरक्रिया विज्ञानको चार्मिङ च्याप्टरलाई बन्द गरौं र पार्टिकुलर रोगको विवेचनामा छिरौं । त्यसभन्दा पहिले गताङ्कका केही विकृति वा बिमारी निम्नलिखित छन्ः

स्मरणका विकृतिहरूमा तीन उल्लेखनीय हुन्छन्ः

१. एम्नेसिया

२. डिमेन्सिया र

३. अल्जाइमर

१. एम्नेसिया ः स्मरणको सम्पूर्ण ह्वास हो । यो दुर्ई प्रकारको हुन्छ ः एन्टिरोग्रेड र रेट्रोग्रेड एम्नेसिया । एन्टिरोग्रेडमा सर्ट टर्म मेमोरी लङ टर्म मेमोरीमा बदल्न सक्दैन, जो हिप्पोकैम्पसको खराबीमा देखिन्छ । रेट्रोग्रेडमा बितेका लङ टर्म मेमोरीलाई रिकल गर्न सकिंदैन । यो सेरिब्रल कार्टेक्सको टेम्पोरल लोवको खराबीमा देखिन्छ ।

२. डिमेन्सिया ः यसमा बुद्धिमा कमी, भावनात्मक वेग रोक्नमा कमी र व्यवहारमा बिस्तारै कमी हुँदै जान्छ । यो ६५ वर्ष उमेरपछि देखिन्छ, जसलाई सेनाइल डिमेन्सिया भनिन्छ । ६५ वर्षभन्दा पहिले देखियो भने त्यसलाई प्रिसेनाइल डिमेन्सिया भनिन्छ, यसका कतिपय कारण हुन्छन् जसमा अल्जाइमर २० प्रतिशत र बाँकीमा हाइड्रोसिफैलस जसमा बाइबर्थ बच्चाको टाउको ठूलो हुन्छ, हटिङ्टन कोरिया जसमा भूत चढेकोजस्तो कम्पकपी हुन्छ, होइपोथायरायडिज्म जसमा थायरायड हार्मोनको कमी हुन्छ, हाइपोपाराथायरायडिज्म जसमा पाराथायरायड हार्मोनको कमी हुन्छ, पार्किन्सन रोग जसमा हात काम्ने हुन्छ, एचआइभी इन्फेक्सन अथवा एड्स, अल्कोहलिक विषाक्तता, कार्बनमोनोक्साइड र बढी मात्रामा बार्बिचुरेट नामक औषधिको तथा हेभी मेटल प्वाजनिङ हुन्छन । यसको लक्षणमा  ताजा स्मरणमा कमी अर्थात् भर्खर पढेको बिर्सनु, सोच्न र निर्णय लिनमा कमी तथा व्यक्तित्वमा भारी बदलाव देखिन्छ । यसमा मांसपेशीको कार्य गर्ने तरीकामा पनि बदलाव हुन्छ । अन्त्यमा मानिस विनाविचार जीवनयापन शुरू गर्छ । मानिस  बोल्न र कुनै कुरा सम्झन सक्दैन । इलाज ः यसको कुनै इलाज छैन । आजभोलि फाइसोस्टिग्मिन नामक औषधि दिने गरिन्छ, जसले कोलिनस्ट्रेज नामक इन्जाइमलाई रोकेर केही नगन्य सुधार आउन सक्छ ।

३. अल्जाइमर ः यो बिमारी कुनै एक भागको होइन ब्रेनका धेरै भागको खासगरी सेरिब्रल हेमिस्फियर, हिप्पोकैम्पस र पोन्सको डिजनरेशनले तथा उसको मृत्युले हुन्छ । यसमा न्युरोट्रान्समिटर मुख्यतः एसिटाइलकोलिनको निर्माण बन्द हुन्छ, जो उसलाई बनाउने एसिटाइलकोलिन ट्रान्सफरेज इन्जाइमको कमीको कारणले हुन्छ । यसमा लोकस सेरिलियस भागको डिजनरेशनले गर्दा नरइपिनेफ्रिनको निर्माण पनि बन्द हुन्छ । डिमेन्सिया र अल्जाइमर रोगको वर्णन पछि पनि हुनेछ किनभने यतिमात्रले यसको पर्याप्त जानकारी प्राप्त हुँदैन ।

स्पीचको विकृति वा रोग ः स्पीच नै हामीले कसैसँग संवादको विनिमय गर्नको लागि एक बलियो माध्यम हो । यसको निरन्तरतामा कुनै प्रकारको पनि गडबडी भयो भने यो संवाद विनिमय ठीकठाक ढङ्गले चल्न सक्दैन र यसै निरन्तरताको कमीलाई स्पीचको विकृति भनिन्छ । यो विकृति पाँच प्रकारको हुन्छ ः

१. एफेजिया

२. एनाथ्रिया

३. डिसाथ्रिया

४. डिसफोनिया

५. स्टैमरिङ

एफेजिया ः बोल्ने शक्तिको कमी वा पूरै बोल्न नै नसकिनेलाई एफेजिया भनिन्छ । बोल्ने शक्तिका दुई औजार हुन्छन्, जुन गताङ्कमा पनि बताइएको थियो । ती हुन् ः सेन्ट्रल र पेरिफेरल औजार । एफेजियामा पेरिफेरल औजार दुरुस्त हुन्छ तर सेन्ट्रल औजारको नै खराबी पाइन्छ, जसमा एक वा वढी स्पीच सेन्टरको डिजेनरेशन हुन्छ, जो हेड इन्ज्युरी, स्ट्रोक, सेरिब्रल ट्युमर, सिरमा जोरदार मुक्का मार्नु, सेरिब्रल इन्फेक्सन र डिजेनरेटिभ हालतमा देखिन्छ । हेड इन्ज्युरीमा यो एक्कासि भएको देखिन्छ तर अरू कारणमा बिस्तारैबिस्तारै विकसित हुँदै जान्छ । केटाकेटीमा यो डरलाग्दो दृश्यले पनि विकसित हुन सक्छ जो मनोचिकित्साले ठीक हुन्छ । एफेजिया पाँच प्रकारको हुन्छः ब्रोकाज एफेजिया, बर्निकस एफेजिया, ग्लोबल एफेजिया, एनोमिक एफेजिया र अन्य । ब्रोकाज एफेजियालाई एक्सप्रेसिभ वा एन्टेरियर एफेजिया पनि भनिन्छ । यो सेरिब्रल कार्टेक्सको फ्रोन्टललोबको डैमेजले हुन्छ किनभने वैज्ञानिक ब्रोकाको नाममा राखिएको ब्रोकाज एरिया यसैमा हुन्छ । यसमा मानिस लेख्न र बुझ्न त सक्छ तर व्यक्त गर्न सक्दैन किनभने ऊ वाक्य बनाउनमा असमर्थ हुन्छ र केवल हा, हुँ वा ना, नुमा मात्र कुरा गर्न सक्छ । बर्निक्स एफेजियालाई रिसेप्टिभ वा पोस्टेरियर एफेजिया पनि भनिन्छ । यो देब्रे टेम्पोरल लोबको डैमेजले हुन्छ किनभने बर्निक एरिया त्यसैमा पाइन्छ । यसलाई धाराप्रवाह स्पीचबाट चिनिन्छ । मानिस विनाअर्थका लामा–लामा वाक्य बोल्छन् । उसले अशुद्ध र कहीं नपाइने शब्द तथा अनापसनाप बकिरहन्छ । यस प्रकारको स्पीचलाई जार्गन स्पीच भनिन्छ । ग्लोबल एफेजिया ः जसरी नामले नै पत्ता लाग्छ । यो स्पीच सेन्टरको ग्लोबल अथवा व्यापक भागको डैमेजले देखिन्छ । यसमा मानिस न बोल्न सक्छ, न त अरूले बोलेको बुझ्न सक्छ । यस हालतमा उपरोक्त वर्णित ब्रोकाज र बर्निक दुवै प्रकारका विकृति पाइन्छन् । मानिसले पढ्न र लेख्न पनि सक्दैन । त्यस कारण मानिस भयङ्कर सम्पर्कको समस्याले ग्रसित हुन्छ । एनोमिक एफेजियाः लाई नोमिनल वा एम्नेस्टिक एफेजिया पनि भनिन्छ । यो पोस्टेरियर टेम्पोरल र इनफेरियर पेराइटल जाइरसहरूको डैमेजमा देखिन्छ । यसमा मानिसले महत्वपूर्ण नाम र स्थानलाई पनि बताउन सक्दैन । यीबाहेक अर्को प्रकारका एफेजिया पनि हुन्छ, जसमा मोटर, सेन्सरी एफेजिया र एग्राफिया आउँछन् । यो स्पीच सेन्टर र त्यससँग सम्बन्धित पाथवेको खराबीले हुन्छ । मतलब यो कि स्पीच सेन्टर पनि ठीक छ, त्यस सम्बन्धित मांसपेशी पनि दुरुस्त हुन्छ तर दुवैबीच सिग्नल प्रवाह बाधित हुन्छ । यसमा भर्बल एफेजिया, डिसप्रेक्सिया र एप्रेक्सिया हुन्छन् । प्रेक्सियाको मतलब कुनै कामलाई सम्पन्न गर्नु हो । डिसप्रेक्सियामा कामको सम्पादन कम हुन्छ तर एप्रेक्सियामा बिल्कुलै हुँदैन । यसमा मानिस बोल्ने विचार त गर्छ तर उच्चारण गर्न सक्दैन । यसमा केन्द्रीय र पेरिफेरल औजारमा आपसमा सहयोग हुँदैन । मानिस केवल मोनोसिलेबस मात्र बोल्छ जस्तै एस, नो आदि । सेन्सरी एफेजिया ः दुई प्रकारको हुन्छ ः अडिटरी र भिजुअल । अडिटरीलाई वर्ड डेफनेस पनि भनिन्छ । यो अडियोसाइकिक एरियाको खराबीले परिलक्षित हुन्छ । यसमा मानिस कुनै पनि शब्द र सिम्बोललाई बुझ्न सक्दैन । भिजुअल एफेजियालाई वर्ड ब्लाइन्डनेस वा डिसलेक्सिया पनि भनिन्छ । यसमा मानिस पढ्न र लेख्न त सक्दैन नै बुझ्न पनि सक्दैन । यो भिजुओसाइकिक एरियाको खराबीले परिलक्षित हुन्छ । एग्राफिया ः यसमा मान्छे बोल्न र पढ्न सक्छ तर लेख्न सक्दैन । यसमा राइटिङ सेन्टर र एक्साइटोमोटर मांसपेशीको पाथवेमा सिग्नल सञ्चार हुँदैन । डिसाथ्र्रिया र एनाथ्र्रिया ः यसमा बोल्नमा कठिनाइलाई डिसाथ्र्रिया र पूरै बोल्न नसक्ने अवस्थालाई एनाथ्र्रिया भनिन्छ । यसमा स्पीच सेन्टर दुरुस्त हुन्छ तर बोल्ने मांसपेशीले काम गर्दैन । मानिसले शब्दलाई राम्ररी बुझ्छ । डिसफोनिया ः यसमा मानिस सबै कुरा बोल्छ तर आवाज भने सामान्य हुँदैन । आवाज मधुरो, फाटेको वा अन्य प्रकारको हुन्छ, जसरी सबैले रुघाखोकीमा महसूस गरेको हुनुपर्छ । यो केवल भोकल कर्डको खराबीले मात्र हुन्छ । यो भोकल कर्डको सङ्क्रमण, चोट, ट्युमर र यहाँसम्म कि डिप्रेसनमा पनि देखिन्छ । यसमा स्पीच सेन्टर दुरुस्त हुन्छ । स्टैमरिङ ः भकभकाएर बोल्नेलाई स्टैमरिङ भनिन्छ । यसमा मानिसको बोल्ने प्रकरण लामो हुन्छ र कतिपय शब्द पुनः पुनः दोहोर्याइन्छ । यसको ठीक ठीक कारण थाहा छैन तर भनिन्छ कि यसको कारण जिनेटिक र ब्रेनडैमेज हो । बच्चामा यो बढी पाइन्छ । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here