• राजेश मिश्र

 “मुझे नौ लखा मंगा दे रे ओ सैया दिवाने” दर्शकहरूले असाध्यै रुचाए । दर्शकहरूले नर्तकी राधारानीको अभिनय कति रुचाएका थिए भन्ने कुरा उनीहरूले दोहोर्याइ–तेहेर्याइ गरेको फर्माइसले ठम्याउनु कठिन थिएन । गीत–सङ्गीतको आनन्दसँगै कलाकारहरूलाई हौंस्याउनका लागि इनामको बौछार भइरहेको थियो । इनामले उत्साहित कलाकारहरू क्षमताले भ्याएसम्म दर्शकहरूलाई सन्तुष्ट पार्न उद्यत थिए । सम्भवतः उनीहरू कला प्रदर्शनमा कुनै पनि कसर बाँकी राख्न चाहन्थेनन् । कलाकार र दर्शकबीच तारतम्यता कलाकारहरूका तर्फबाट अद्वितीय कला र दर्शकतर्फबाट इनामको बौछारले भइरहेको थियो । कला  र प्रोत्साहन एकअर्काका समपूरक हुन् । त्यस कारण कलाकारहरूको प्रदर्शन र दर्शकहरूको दत्तचित्त लयबद्धताले महफिलमा समयको सुई रोकिएकोझैं प्रतीत भइरहेको थियो ।

ब्रह्म मुहूर्त र निर्गुन

कुखुराले बासेको अवाज गाउँतर्फबाट महफिलसम्म पुग्यो । महफिलमा एकले अर्कासँग आश्चर्यचकित मुद्रामा, “जा १ भोर हो गइल १” हात माथि उचाल्दै, लामो सास तान्दै र हाई गर्दै आपसमा खासखुस गरिरहेको दृश्यमान भयो । कुखुराको बासले बल्ल दर्शकहरूलाई बिहानको चार बज्न लागेको बोध भयो । वृद्ध तथा वयस्कजनबाट निर्गुन गीत सुन्ने आकाङ्क्षा जाहेर हुन थाल्यो । ब्रह्म मुहूर्तमा ‘निर्गुन’ अति मनभावन लाग्छ । त्यस कारण निर्गुनको अनुरोधसँगै माहोल निर्गुनमय बन्यो । निर्गुन–बिरहा गीतहरू शुरू भए । दत्तचित्त भई सुन्दा यसका प्रत्येक शब्दले ह्दयलाई स्पन्दन गरेको अनुभूति हुन्छ । ब्रह्म मुहूर्तमा यी गीतहरू बडो कर्णप्रिय लाग्छन् । उहिले निर्गुन–बिरहा सिर्जना गर्ने वा यसका गवैया मात्र होइन, चाखपूर्वक सुन्ने श्रोता/दर्शकहरूको बाहुल्यताबारे शब्दमा बयान गर्नु कठिन छ ।

निर्गुन–बिरहा शुरू भए लगत्तै उत्साहित माहोल हेर्नलायक थियो । उत्तेजित पार्ने खालका मनोरञ्जनले आजित पुरनियाहरू अहिले निद्राशून्य हुन थाले । त्यसैगरी, स्वभावतः उत्तेजित शैलीका गीतहरू बढी रुचाउने युवाहरू निद्रामग्न हुन थाले । तन्ना ओढेर पल्टिएसँगै युवाहरू खर्राटेदार निद्रामा विलिन भए । वास्तवमा गीत पनि उमेर अनुसार मन पर्दो रहेछ । उज्यालो हुन लागेकोले नचाहँदा नचाहँदै पनि कार्यक्रम समापन गर्नुको विकल्प थिएन । यद्यपि वृद्धजनबाट ‘एगो औरी, एगो औरी’ गर्दा गर्दै झन्डै एक घण्टा बढी निर्गुन–बिरहा कार्यक्रम चल्यो । समापनपछि वृद्ध तथा वयस्कजन शौचादि कर्मको लागि सरेहतर्फ लाग्ने तयारीमा देखिन्थे । किनभने लोटा–पानीको प्रबन्धन शुरू भयो । बिहानको शान्त, शीतल र रमणीय वातावरणमा चराचुरुङ्गीहरूको चिरबिरले प्राकृतिक आकर्षण अतुलनीय लागिरहेको थियो ।

जाग्रामपछि विश्राम

 ‘भोर भये पनघट पे मोहे नटखट श्याम सताए’ भन्ने हिन्दी गीतझैं पनघटरुपी अँध्यारोलाई श्यामरुपी उज्यालोले सुस्त गतिमा सताउन थालेको प्रतीत भइरहेको थियो । लुकामारी खेलेझैं अँध्यारोमाथि बिस्तारै उज्यालोको प्रकोप दृष्टिगत भइरहेको थियोे । नाच पार्टीका कर्मचारीहरू आआफ्नो जिम्माका साजसज्जाहरू एकत्रित गरी राउटीतर्फ लागे । निद्राले ग्रस्त उनीहरू राउटीभित्र पसे । रातिको जाग्रामले थकित उनीहरू विश्राम गर्न चाहन्थे । जसले, जसरी, जहाँ र जति ठाउँ पाए, त्यहीं पल्टिए । निद्रामग्न उनीहरूलाई निदाउन बेर लागेन । नाचमा आबद्ध कर्मचारीहरूले वैवाहिक लगनको बेलामा सुत्ने मौका धेरै कम पाउँछन् । वैवाहिक लगन लगातार भएमा उनीहरूलाई आराम गर्ने फुर्सत हुँदैन ।

पूर्व दिशाबाट सूर्य प्रकटोन्मुख थियो । सूर्यको आकार थाहै नपाउनेगरी पूर्व दिशामा अति सूक्ष्म गतिमा ठूलो हुँदै गइरहेको थियो । यससँगै बगैंचाको माथिबाट टर्च बालेझैं सूर्यको लालिमा भुइँलाई स्पर्श गरिरहेको थियो । बयलगाडाका गडवानहरूले बेरामा हालेर र सँगै लिएर आएका मवेशीको आहारा ‘लेदी’ (घाँस र भुस) गोरुलाई खुवाउने कार्यमा व्यस्त देखिन्थे । त्यसैगरी, लेदी खुवाइसकेका गडवानहरू मवेशीहरूलाई पानी खुवाउने चाँजोपाँजो मिलाउँदै थिए । मानवीय भीड देखेर शायद गोरुहरू दङ्गदास थिए । मवेशीहरूले ‘पगुरी’ (चपाउनु)सँगै शिर हल्लाउँदै नाचेझैं खुट्टा अघि–पछि र दायाँ–बायाँ गरिरहेका थिए ।

युवालीला–१

 “कवन ह रे ? बाँप रे बाँप र पारान लिकल गइल हो दादा” नाके स्वरमा चिच्याउँदै सुतिरहेको एक युवक ब्यूँझियो । आँखा मिच्दै यताउति हे¥यो । सँगै सुतिरहेका साथीहरूलाई सशङ्कित मुद्रामा तलदेखि माथिसम्म नियालिरह्यो । अन्ततः उसैको नजीक सुतिरहेको साथीको पिठयूँमा हिर्काउँदै “उठ १ जो मैदान करे” भन्दै झक्झक्याउन थाल्यो । ऊ पनि ब्यूँझियो । उसले तन्नाले शिर छोप्दै र कोल्टो फेर्दै भन्यो, “का भइल ह रे ? काहे परेशान कइले बाडी ? सुते देबे कि ना ?” भन्दै पुनः सुत्न खोज्यो । तर साथीले नानाथरी कुरा सुनाउँदै उसको सुत्ने मनोकाङ्क्षालाई फलीभूत हुन दिएन । किचकिच हुन थालेपछि सुतिरहेका सात/आठजना युवक सबै उठे । एकापसमा हाँसोठट्टा गर्न थाले ।

कुरै कुरामा एकजना युवाले अघि घटित दुर्गन्धलीला बखान गर्न थाल्यो । माहोल हाँसोमय बन्यो । यसैक्रममा एकजना युवकले मजाकिया पारामा साथीको टाउकोमा हिर्काउँदै केही कुरा भन्ने प्रयास ग¥यो । हिर्काइबाट बच्नको लागि ती साथीले जसै टाउको तल निहुरायो, उसको पेट थिचियो । विस्फोटक शैलीमा ठूलो आवाज गुञ्जियो, ‘पर्रर्रर्र…’ । केही सेकेन्डको भूकम्पले ठूलो हलचल उत्पन्न गरेझैं ठूलो आवाजसहित दुर्गन्धित तरङ्ग फैलियो ।

युवकहरू नाके स्वरमा ‘बाँप रे बाँप’ गर्न थाले । दुई/तीनजना युवकले मजाक उडाउँदै जबरदस्ती पेटमाथि दबाब दिन थालेछन् । उनीहरूले वायु प्रवाह गर्ने यत्न गर्न थाले । यतिबेला उनीहरूको अनुहार हेर्नलायक थियो । उनीहरूको कर्तुत हेरेर बाँकी युवकहरूले, “जोड मत ना लगाव सन रे १ पायजामा नु फाट जाइ” भन्दै हाँस्न थाले । अन्ततोगत्वा एकजनाले त ठूलो गर्जनाद गर्न सफल भयो र ठट्टासहित हाँसो गुञ्जायमान भयो । यद्यपि दुईजना युवकको ढुचुक्क शैलीको आवाजसँगै उनीहरूको मुहार रातोपिरो भयो । उनीहरूको मुहारबाट हाँसो र ठट्टा एकाएक गायब भयो । यसले मलजन्य पदार्थ प्रवाहित भएको हुन सक्ने अनुमान गर्नु कठिन थिएन । अन्ततः उनीहरू दुवैजना दगुर्दै नदीतर्फ कुलेलम ठोके ।

तेलावन

हेर्दाहेर्दै बिहानको आठ बज्यो । वधुपक्षबाट ‘तेलावन’ आयो । तेलावन सामग्री सनातन वैवाहिक संस्कारको एक महत्वपूर्ण लोकपरम्परा हो । रङ्गीन डलियामा पहेंलो मरदानी, तेल, साबुन, दतिवन, सुर्ती र बिडी आदि तेलावनका सामग्री थिए । वधुपक्षका सम्धीले वरपक्षका सम्धीलाई करबद्ध मुद्रामा तेलावन सामग्री हस्तान्तरण गरे । बिहानको नित्यकर्मलाई मध्यनजर गरी विवाहमा सम्धीलाई ‘तेलावन’ प्रदान गर्ने सदियौंदेखि स्थापित प्राचीन परम्परा हो ।

युवालीला–२

तेलावन आइसकेपछि बरियतियाहरू स्नान ध्यानमा केन्द्रित भए । वृद्ध तथा केही वयस्कजन बगैंचानजीकै रहेको इनारमा नुहाउन थाले । त्यसैगरी, वयस्क तथा नवयुवकहरूको सम्मिलित टोली काँधमा लत्ताकपडा बोकी नदीतर्फ प्रस्थान गरे ।

टोली नदीछेउमा पुग्दा एकजना युवक नदी किनारमा उम्रिएका झारपातको छेउमा नाङ्गै बसिरहेको उनीहरूले दृष्टिगत गरे । यो दृश्य देखेर टोलीमा सम्मिलित युवाहरू क्रन्दन गर्न थाले, “हऊ देखसन रे इयारवा होदे लङ्टे खडियाइल बा ।” ती युवकले आधा सुकेको पाइजामा तीव्र वेगमा लगाउन थाल्यो । त्यसपछि टोलीतर्फ आउँदै उसले भन्यो, “हम त पायजामा पेन्ह लेनी, हऊ देखसन, ऊ त लङ्गटे राडी में लुकाइल बा ।” त्यसपछि धेरैबेरसम्म हल्लाखल्ला र हाँसोठट्टा चलिरह्यो ।

अंगेया–बिजे

दश नबज्दै बरियतियाहरू नयाँ वस्त्रसँगै सुगन्धित तेल, पाउडर, माला सेन्ट र इत्र आदि लगाएर चिटिक्क भइसकेका थिए । लगत्तै वधुपक्षबाट नास्ताका लागि रीतपूर्वक ‘अंगेया–बिजे’ (निम्तो) आयो । बरियतियाहरूमध्ये केही बेहुलीको द्वारतर्फ प्रस्थान गरे । जाग्रामका कारण कतिपयको पेटको हालत ठीक थिएन । शायद उनीहरू पछि जाने मानसिकतामा थिए । दुई/चारजनाको त स्वास्थ्य अवस्था निकै गम्भीर देखिन्थ्यो । शायद उनीहरू घाँटीसम्म खाना र सोमा पनि रातभरिको जाग्रामले पखालाजन्य स्वास्थ्य समस्याको शिकार भइसकेका थिए । किनभने उनीहरू सरेहबाट आएको केहीबेरमैं पुनः सहेरतर्फ गएका देखिन्थे । यद्यपि स्वस्थ बरियतियाहरूको नास्ता गर्न जाने क्रम जारी थियो ।

दिनको महफिल

बिहानको एघार बजिसकेको थियो । बरियतियाहरू महफिलमा विराजमान छन् । पूर्वाभिमुख बसेका बरियतियाहरूको अग्रभागमा हस्तनिर्मित ‘गुलदस्ता’ (विभिन्न रङ्गका कपडा/ऊनले निर्मित फूलका गुच्छा) लहरै सजाएर राखिएका छन् । नाचपार्टी महफिलमा साजसज्जासहित आआफ्नो स्थानमा विराजमान भइसकेको छ । अन्य पात्रहरू राउटीभित्र तयार हुँदै थिए । केहीबेरपछि ढोलक, नगारा आदि वाद्ययन्त्रहरूको तालमा “तन डोले रे मन डोले रे…” गीतको धुनसँगै नाच प्रारम्भ भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here