नितेश कर्ण, वीरगंज, ११ जेठ/
मानव बेचबिखनविरोधी एकाइ क्षेत्रीय मुख्यालय रक्सौल (एसएसबी)ले एकजना नेपाली र भारतीय युवतीको उद्धार गरेको छ ।
ह्वाटसएपमार्फत भारत, उत्तर प्रदेशका मोहम्मद अलीले नेपाली युवतीसँग सम्बन्ध बनाएका र उनले ती युवतीलाई उत्तर प्रदेश लैजान खोज्दा बिहीवार एसएसबीले निजको उद्धार गरेको एसएसबीका मनोजकुमार शर्माले बताए ।
दुवै केटाकेटी अटोमा जाँदै गर्दा शङ्का लागेर सोधनी गरेको र युवकले नाबालिकालाई गलत सूचना दिएर लैजान लागेको रहस्य खोलेपछि नाबालिका र युवकलाई नियन्त्रणमा लिएको शर्माले बताए । नाबालिकाको घरपरिवारलाई खबर गरिएको र परिवार आएपछि हस्तान्तरण गरिने उनले बताए ।
यसैगरी, आजै एकजना भारतीय युवतीलाई गुमराह गरी नेपाल ल्याउन खोज्दा एसएसबीले उद्धार गरेको जवान अरविन्द द्विवेदीले बताए । उनले भारतीय युवतीकी आमाले घटनाबारे सूचना दिएपछि उनको उद्धार गरिएको बताए ।
दुवै उद्धार कार्यमा सहायक उपनिरीक्षक अनिलकुमार शर्मा, प्रमुख हवलदार अरविन्द द्विवेदी, हवलदार निक्की कुमारी, सीमा कुमारी, एनजिओकर्मी आरती कुमारी, राज गुप्ता, विजयकुमार शर्मालगायतको सहभागिता थियो । पक्राउ परेका महम्मद अलीविरुद्ध मानव तस्करीविरुद्ध उत्तर प्रदेशमा प्रयास किशोर सहायता केन्द्रले एफआझआई दर्ता गराएको एसएसबीले जनाएको छ ।