प्रस, वीरगंज, १० जेठ/
नेपाल पत्रकार महासङ्घ, पर्साको आयोजनामा सम्मान तथा अन्तक्र्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
ग्रामीण पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी सदस्यहरूको सम्मानमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका पूर्वअध्यक्ष शत्रुघ्न नेपालले ग्रामीण क्षेत्रमा पत्रकारिताको प्रचुर अवसर रहेको भन्दै असल पत्रकारिता गर्न सुझाव दिए । उनले ग्रामीण पत्रकारहरूले पत्रकारिताको राम्रा मुद्दाहरू उठान गरिरहेको बताए । उनले पत्रकारिता गर्नेहरूले झिनामसिना विवादमा नफसेर मूल धर्म निर्वाह गर्न सुझाए ।
महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका पूर्व केन्द्रीय सदस्य महेश दास, पूर्वअध्यक्ष अशोक तिवारी, पत्रकार महासङ्घ महेशचन्द्र गौतम, प्रेस युनियन, पर्साका अध्यक्ष विजय चौहान, प्रेस सेन्टर, पर्साका अध्यक्ष दीपक गौतम, प्रेस चौतारी, पर्साका उपाध्यक्ष तुलसी भण्डारीले पर्साको ग्रामीण क्षेत्रबाट पत्रकारिता गर्नेहरूले पर्साको पत्रकारितामा राम्रो छाप छोडेको बताए । उनीहरूले ग्रामीण क्षेत्रबाट पत्रकारिता गर्न कठिन भएपनि त्यो कठिन परिस्थितिका बावजूद असल पत्रकारिता गर्न र समाजमा नाम कमाउन सुझाए । पत्रकारितामा विकृतिहरू मौलाएको र त्यो विकृतितर्फ ध्यान नदिएर समाज र देशका लागि टेवा पुग्ने गरी समाचार सम्प्रेषण गर्न उनीहरूले सुझाएका थिए ।
कार्यक्रममा ग्रामीण पत्रकार समाजका अध्यक्ष धर्मेन्द्र चौरसिया, उपाध्यक्षद्वय ओमप्रकाश चौधरी र प्रमोद यादव, सचिव बलिराम शुक्ला, कोषाध्यक्ष कृष्णमोहन साहलगायत सदस्यहरूलाई गम्छा ओढाएर शाखा अध्यक्ष तिवारीले सम्मान गरेका थिए । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य नीलिमा पौडेल, महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्कालगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत कोषाध्यक्ष सञ्जीव मिश्र र सहजीकरण पत्रकार तिवारी यादवले गरेका थिए ।