प्रस, वीरगंज, १० जेठ/
वीरगंज महानगरपालिका–२२ मनियारीमा सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाइएको छ । गण्डकचोकदेखि मनियारी हुँदै हाइवे जोड्ने सडक निर्माणको क्रममा रहेको र सडक अतिक्रमण गरी बनाइएका संरचनालाई आज महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।
सडक अतिक्रमण गरी बनाइएका हरपतगंजदेखि मन्दिर क्षेत्रसम्मको सडकखण्डमा रहेका चारवटा पक्की घर र तीनवटा टहरा भत्काएर बाटो निर्माण कार्य भइरहेको छ ।
सङ्घीय सरकारले यो सडकखण्ड २७ करोड लागतमा निर्माण शुरू गरेको हो ।
दश मिटर चौडा र साढे तीन किलोमिटर लामो सडकखण्ड निर्माण हुने बताइएको छ । सडकखण्डमा परेका घरटहरा हटाउनका लागि पटक–पटक भएका प्रयासमा स्थानीयहरूले आफैं संरचना हटाउने प्रतिबद्धता जाहेर गर्दै आएका तर नहटाएपछि आज महानगरको टोलीले संरचना हटाउन डोजर प्रयोग गरेको महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताए ।
महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजकसमेत रहेका वडा नं ५ का अध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि भुसाललगायतको टोलीको सक्रियतामा आज सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउने कार्य भएको थियो ।