• सञ्जय साह मित्र

समाजमा स्वास्थ्यका दृष्टिकोणले कतिपय विकृतिहरू बढेका छन् । यस्ता स्वास्थ्यसम्बन्धी विकृतिमध्ये मानव समाज स्वयंले सिर्जना गरेका गम्भीर दुई विकृतिमा प्लास्टिकको जथाभावी प्रयोग र ध्वनि प्रदूषण हो । यी दुवै विकृतिको कुनै मापदण्ड छैन र जति वा जसरी प्रयोग गर्दा पनि हुने देखिएको छ । जमीन र जल तथा वायु तीनै क्षेत्रमा वातावरणीय नकारात्मक प्रभाव उत्पन्न गरिरहेको हरेक सचेत नागरिकले नबुझेको होइन । सुतेकोलाई उठाउन सकिन्छ, जागेकोलाई उठाउन निकै कठिन छ भनेजस्तै बुझ्दै नबुझेकोलाई बुझाउन सकिन्छ तर पूर्णतया अभ्यस्त भइसकेको समाजको बानी छुटाउन निकै गाह्रो छ ।

निकै पहिलेदेखि प्लास्टिक नियन्त्रणको कुरो आइरहेको छ । प्लास्टिकमा प्रतिबन्धको कुरो आइरहेको छ तर कुरो जसरी आउँछ त्यसैगरी जान्छ । यसैगरी धेरैपटक जिल्ला प्रशासन कार्यालयहरूले अत्यधिक उच्च स्वर निकाल्ने विभिन्न बाजा रोक्न सार्वजनिक सूचना जारी गरेको देखिन्छ । अश्लील गीत बजाउन तथा अश्लील नृत्य गर्न रोक लगाएको पनि सुनिन्छ तर समस्या जहाँको त्यहीं रहन्छ । समस्या होइन, कसैले भन्दैन र समाधानको पक्षमा वकालत पनि गर्छन् तर जब आफूसित जोडिएको पक्ष आउँछ अनभिज्ञझैं आँखा चिम्लिदिन्छ । यहीं आँखा चिम्लाइले नेपालको कानूनले अवैध र दण्डनीय मानिसकेको दाइजो वा तिलक प्रथा कायम छ । कायम मात्र नभई अझ बढेको पाइएको छ । तिलक वा दाइजो अझ बढ्नुमा कानून दोषी छैन । दोषी यही प्रदूषित सामाजिक मनोविज्ञान रहेको स्पष्ट छ । आफ्नो पालामा लेनदेन होस् भन्ने सबै चाहन्छन् अरूले नगरोस् भनेर निकै राम्रो भाषण गर्छन् ।

प्लास्टिक नियन्त्रण होस् भन्ने चाहना राख्ने तर तरकारी बजारमा गएपछि हरियो तरकारी बेच्नेले प्लास्टिकको झोलामा नदिएसम्म तरकारी नउठाउने हात हाम्रै हुन्छ । पान खाएर वा पाकेटका केही अन्य सामग्री खाएर प्याच्च हामी नै थुक्छौं तर त्यही कुरो अरूले फ्याँकेको छ भने घिन मान्छौं र फोहोर गर्नेलाई गाली गर्न पुग्छौं । आफूलाई मन नपर्ने अरूलाई पनि मन नपर्ने हुन सक्छ भन्ने कुरो नबुझ्ने निकै कम शिक्षित हुन्छन् तर हामी ‘मोर एजुकेटेड, मोर करप्ट’जस्तै हुँदैछौं–प्लास्टिक प्रयोग तथा ध्वनि प्रदूषणका सन्दर्भमा । हामीमा गम्भीरता र दायित्व छँदै छैन भने पनि हुन्छ ।

बजार होस् चाहे गाउँ, जहाँ पनि र जताततै पनि केही न केही प्लास्टिकको फोहोर फालेकै पाउँछौं । प्लास्टिकको फोहोरले कुनै ठाउँको शोभा बढाउँछ र १ फोहोरले शोभा घटाउँछ । फोहोर त फोहोरै हो । प्लास्टिकको फोहोर कुहिने पनि होइन । अझ यसले अरू कुहिने सामग्रीलाई बढी दुर्गन्धित बनाएको हुन्छ । प्लास्टिक आफैं कुनै समस्या होइन जस्तो लाग्छ तर वास्तवमा प्लास्टिक अहिले समस्या बनिसकेको छ । जहाँ फाले पनि यसले गर्ने फोहोर नै हो । जमीनमा पुरे पनि यसले जमीनलाई बिगार्छ । आगो बालेर डढाउने हो भने एक छिन लाग्ला समस्या समाधान भयो, तर प्लास्टिक बल्नु बढी खतरनाक हो । यसको धूवाँ मानिसलाई लाग्नु हुदैन, निकै हानिकारक हुन्छ । यसैगरी प्लास्टिकको धूवाँ वातावरणीय दृष्टिकोणले निकै खतरनाक हुन्छ । वातावरणमा यसको धूवाँले धेरै नोक्सानी पुर्याउँछ । बस्ती नजीकको पोखरी, नदी वा अन्य यस्ता जलाशयको अवस्था देखेकै छौं, प्लास्टिकले कसरी कुरूप बनाइदिएको हुन्छ । प्लास्टिकले जलचरको जीवनमाथि हस्तक्षेप गरिसकेको छ । वनजङ्गलमा पनि अब प्लास्टिक देखा पर्न थालिसक्यो । मुख्य पर्यटकीय क्षेत्रका साथै हिमाली क्षेत्रमा पर्वतारोहण हुने ठाउँहरूमा पनि प्लास्टिकजन्य फोहोर धेरै भेटिन थालेको छ । यस्ता फोहोर सङ्कलन गर्न अभियान नै चलाएको पाइन्छ । गर्मी ठाउँमा नकुहिने प्लास्टिक हिमाली क्षेत्रमा झन् कुहिन्छ  र ? यसरी जहाँ पनि र जस्तोसुकै ठाउँमा पनि प्लास्टिकजन्य फोहोरले समस्या निम्त्याइसकेको छ ।

वातावरणको समग्र क्षेत्रमा प्लास्टिकको असर देखिइसकेको छ । वातावरणलाई प्रभाव पार्ने सबै तत्व सुरक्षित राख्नुपर्ने आवश्यकता अहिले महसूस गरिएको होइन, पहिलेदेखि नै बताइँदै आएको छ । प्लास्टिकले कति समस्या निम्त्याउन सक्छ भन्ने कुरो पहिलेदेखि चर्चा हुँदै आएको हो । अहिले ग्लोबल वार्मिङ अर्थात् विश्वव्यापी तापीकरणमा प्लास्टिकको योगदान कति छ भनेर खोजी हुँदैछ । औद्योगिक तथा अन्य प्रदूषणको ठूलो योगदान भनिंदै आएको छ तर प्लास्टिक नियन्त्रण गर्दा वातावरणदेखि विश्वव्यापी तापीकरणमा पर्न सक्ने प्रभाव पनि निकै सकारात्मक हुने विश्वास गरिएको छ । मानव शरीरमा पनि प्लास्टिकले हानि पुर्याइरहेको बताइँदै छ । वनस्पति, पशुपन्छी सबैलाई प्रभावित पार्न थालेपछि मानव झन् बढी प्रभावित नहोला भन्न सकिन्न । यस कारण जति सम्भव हुन्छ, प्लास्टिकभन्दा टाढै बसेको राम्रो ।

प्लास्टिक नियन्त्रण कुनै व्यक्ति वा पालिकाको वशको कुरा होइन । यसमा प्लास्टिक उद्योगदेखि विभिन्न सामग्री उत्पादन गरी प्याकिङ गर्ने सानादेखि मझौला उद्योगसम्मले राम्ररी सोच्नुपर्छ । अहिले बजारमा हरेक सामान प्लास्टिकको पोका वा खोलमा पाइन थालेको छ । पहिले सिमेन्ट पनि एक किसिमको बलियो कागजको बोरामा पाइन्थ्यो । अहिलेजस्तो ट्याब्लेट औषधिहरू पनि सबै प्लास्टिकमैं प्याक गरिएको हुन्थेन । बजारमा पाइने सबै किसिमका तयारी खानेकुरा–बिस्कुट, चाउचाउदेखि अन्य धेरै प्रकारका स्वादका खाद्य सामग्री प्लास्टिकमैं उपलब्ध छ । यस्ता खानेकुरा कैयौं दिनसम्म वा महीनासम्म प्लास्टिकमा बन्द भएर रहँदा खानेकुरामा प्लास्टिकको प्रभाव परेको वा नपरेको विषयमा खासै कतै चर्चा भएको पाइँदैन । यसले खानेकुरामा असर गरेको वा नगरेको भए पनि खाद्य सामग्री प्रयोग गरिसकेपछि त्यसको खोल आखिरमा फाल्ने नै हो । जहाँ फाले पनि यसले गर्ने फोहोर नै हो ।

नेपाल सरकारले आउँदो आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा प्लास्टिकमाथि केही नियन्त्रण गर्ने कुरो आएको छ । प्लास्टिकका झोलालगायत साधारण उपयोगमा केही कमी आउने विश्वास गरिएको छ । पातला प्लास्टिकका झोलामाथि प्रतिबन्ध लगाउनुलाई सबैले स्वागत गरेका छन् । मुख्यगरी वातावरणप्रेमीहरूलाई खुशी लागेको छ, तर अलिक मोटै भए पनि जमीनमा फाल्दा समेट्न सजिलो नहुने साना प्लास्टिकका टुक्रा पनि नियन्त्रण र नियमन गर्नु जरूरी छ । साना पुरियामा बनेका प्लास्टिकजन्य वस्तु पनि नियन्त्रण गर्नुपरेको छ । सामग्रीभन्दा पुरिया बनाउन प्रयोग भएको प्लास्टिकलाई अर्को कुनै विकल्पमा लैजानु आवश्यक छ । साना पुरिया जहाँतहीं फालिन्छन् । यसले बजार तथा बस्तीको नाली, सडकको छेउ तथा बजारलाई बढी प्रदूषित र फोहोर बनाएको छ । अब प्लास्टिक नियन्त्रणको सवालमा सरकार सकारात्मक हुन लागेको अवस्थामा अझ अलिक कठोर बनेर पुरियामा उपलब्ध हुने सामग्रीलाई प्लास्टिकमा प्याकिङ नगरी अन्य विकल्प खोज्न प्रोत्साहन गर्नै परेको छ । यसै गरी प्लास्टिकका सानातिना डिब्बाहरूमा उपलब्ध हुने विभिन्न सामग्री पनि प्लास्टिकइतर भाँडोमा राख्न निर्देशन दिन सके सुनमा सुगन्ध हुने थियो ।

ध्वनि प्रदूषणलाई पनि नियन्त्रण नगरी भएको छैन । अहिले विद्युतीय सवारी साधनको प्रयोग बिस्तारै बढ्न थालेको छ । वातावरणमा यसको सकारात्मक प्रभाव कुन मानेमा पर्छ भने विद्युतीय सवारी साधनबाट धूवाँ उत्सर्जन हुँदैन । ध्वनि प्रदूषण नियन्त्रणमा पनि विद्युतीय सवारी साधन एक हदसम्म वरदान साबित हुन सक्छ । यस किसिमका मोटरसाइकल तथा कारले आवाज नै ननिकालेको देखिएको छ । पुरानो हुँदै गएपछि अलिकति इन्जिनको आवाज आउने होला । हैन भने सुइँøय नजीकैबाट निस्कँदा पनि हावाको झोंकाबाहेक अरू चाल पाइँदैन । तर समाजमा बढी मात्रामा डिजेले अत्यधिक ध्वनि प्रदूषण गर्ने गरेको छ । डिजेलाई नियन्त्रण होइन, डिजेको साउन्ड नियन्त्रण गर्नैपरेको छ । डिजे बज्ने ठाउँमा मात्र यसको आवाज सीमित हुनेगरी बजाउन लगाउनुपर्ने हो । डिजेको जसलाई जरूरत हुन्छ, तिनले मात्र सुनून् । जहाँ जरूरी हुन्छ, त्यहाँ मात्र बजाऊन् । टोल थर्किनेगरी, बाटोको वरिपरि सबैको कान खानेगरी डिजे बजाउनुको अर्थ खासै छैन । एक त बटुवा तथा बाटोको छेउछाउमा घर हुनेलाई समस्या भइरहेको हुन्छ । धेरै चर्को आवाजले बालबालिकाको ध्यान उतै आकर्षित गर्छ । अझ विद्यालय तथा क्याम्पसका छात्रछात्राहरूको ध्यानाकृष्ट उतै हुन्छ । अनि त्यति बेला शिक्षाभन्दा महत्वपूर्ण डिजे बन्न जान्छ । अझ विद्यार्थीको भीडभाड भएको विद्यालय तथा क्याम्पस छेउछाउ यस्ता डिजेवालाहरू जानीजानी धेरै बेर बजाउँछन् । अश्लील गीत र नृत्यको सीमा हुँदैन । त्यस्तोबाट बालबालिकाको कलिलो मस्तिष्कमा कस्तो प्रभाव पर्छ भन्ने कुरातिर समाजको ध्यान अझै जान सकेको छैन ।

सरकारले आगामी आर्थिक वर्षमा प्लास्टिक नियन्त्रण गर्न खोज्दैछ । अब समाज नै बढी जागरुक बन्नुपरेको छ । सरकारको यस सकारात्मक अभियानमा सबैतिरबाट समाजले सकारात्मक सहयोग गरी प्लास्टिक प्रदूषणमुक्त समाज बस्ती बनाउन हामी सबै अग्रसर हुनुपरेको छ । अहिले अग्रसर हुन सक्यौं भने धेरै किसिमले फाइदा हुन सक्ने माथि चर्चा भइसकेको छ । प्लास्टिकलाई सम्भव भएसम्म भान्सामा नल्याउँ । प्लास्टिकले देखिने र नदेखिने कति हानि गरेको हुन सक्छ तर यसको प्रयोगमा बिस्तारै कमी गर्दै मुख्यतः प्रयोग गर्नु अघि र प्रयोग गरिसकेपछि सचेत बन्न समाज बढी सजक र जागरुक भयो भने प्लास्टिकको प्रदूषणबाट मुक्त हुन सकिन्छ । यसको लागि सम्बन्धित पालिकामा पनि दबाब वा सुझाव दिन सकिन्छ । यसैगरी प्लास्टिकको कपमा चिया खाने, प्लास्टिकको झोलामा खाद्यान्न बोक्ने जस्ता कुरालाई बिस्तारै निषेध गर्न गराउन सकिन्छ । अन्य विकल्पहरूलाई प्रोत्साहन दिन सकिन्छ । जसरी प्लास्टिकले सबै क्षेत्र ओगटेको छ, त्यसरी नै बिस्तारै सबै क्षेत्रबाट हटाउन विकल्प पनि चाहिएको हुनुपर्छ । विकल्पको खोजी पनि समाजले गर्न सक्छ । सरकारले ल्याउन लागेको कार्यक्रम सफल बनाउन समाजले तयारी गरिहाल्नुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here