नारायणी अस्पताल वीरगंजमा स्वास्थ्य बीमा गरेकाहरूले औषधि सहज तरीकाबाट पाउन थालेका छन् । यो सुखद समाचार हो । स्वास्थ्य बीमा गरेकाहरूलाई अस्पतालबाट सहजरूपमा औषधिलगायतका सेवाहरू उपलब्ध हुनुपर्छ । सरकारले स्वास्थ्यमा सबैको पहुँच होस् र औषधि उपचारको अभावमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम आएको हो । स्वास्थ्य बीमा कार्यक्रम देशभरि लागू छ । करीब एक दशकदेखि यो कार्यक्रम सरकारले ल्याए पनि पर्सेली जनताले भने यसको उपभोग गरेको आधा दशक जति हुन थाल्यो । आधा दशकको अवधिमा एकाध वर्ष कोरोनाको कहर रह्यो । कोरोनाकालमा पनि स्वास्थ्य बीमा गरेकाहरूले औषधि उपचारलगायतका सेवा र सुविधा पाएका थिए । जसले स्वास्थ्य बीमा गरेका थिए, उनीहरूलाई सो अवधिमा धेरै राहत मिल्यो । परिवारका पाँचजना सदस्यको रु एक लाखसम्मको जोखिम उठाउने गरी वार्षिक तीन हजार सात सय शुुल्कमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो ।
सरकारले ज्येष्ठ नागरिकहरूका लागि निश्शुल्क स्वास्थ्य बीमा गर्दै आएको छ । ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूको वडास्तरमा स्वास्थ्य बीमा गरिन्छ । परिवारका सदस्यहरूले उपचारमा बेवास्ता गरे पनि ज्येष्ठ नागरिकको उपचार सरकारले निश्शुल्क गर्ने व्यवस्था मिलाएको छ । कतिपय अस्पतालहरू ज्येष्ठ नागरिकमैत्री बन्दै छुट्टै शैयाको व्यवस्था गरेका छन् । नारायणी अस्पतालमा पनि पाँच शैया ज्येष्ठ नागरिकका लागि छुट्टयाइएको छ । ज्येष्ठ नागरिकहरूको अस्पतालले रु एक लाखसम्मको उपचार निश्शुल्क गर्छ । स्वास्थ्य बीमा गरेकाहरूले शुरूमा सरकारी अस्पतालमा उपचार गराउने र सोमा उपचार सम्भव नभएपछि सरकारले तोकेको अन्य अस्पतालहरूमा उपचार गराउन पाउने व्यवस्था छ । पर्सा जिल्लामा नारायणी अस्पतालपछि नेशनल मेडिकल कलेज, वीरगंज हेल्थकेयर अस्पताल र आँखाको लागि किरण र दृष्टि आँखा अस्पताल तोकिएका छन् । अहिले स्वास्थ्य बीमाको उपभोग गर्नेहरूको सङ्ख्या बढेको छ । अहिले नारायणी अस्पतालको ओपिडी सेवा लिने ८० प्रतिशतभन्दा बढी स्वास्थ्य बीमा गरेकाहरू छन् । स्वास्थ्य बीमा गरेकाहरूले अस्पतालबाट एक्स–रे, ल्याब, शøया, औषधि आदिका सुविधा बीमा रकमले भ्याएसम्म लिन पाउँछन् । यसअघि स्वास्थ्य बीमा गरेकाहरूले नारायणी अस्पतालबाट अन्य सेवासुविधाहरूको सहज उपभोग गर्दै आए पनि औषधि भने पाउने गरेका थिएनन् ।
स्वास्थ्य बीमा गरेकाहरूले एक वर्षअगाडिसम्म सहजरूपमा औषधि नपाउँदा गरीबहरू समस्याग्रस्त थिए । सरकारले औषधिबापत रकम पठाउने, औषधि आपूर्ति गर्ने ठेकेदारले औषधि उपलब्ध गराउने तर ती औषधि लक्षित समुदायसम्म नपुगेर अपचलन हुँदै आएको थियो, जसले गर्दा नारायणी अस्पताल आलोचित हुुनुप¥यो । औषधिमा अपचलन गर्नेलाई हटाएर अहिले सरकारले तोकेको दरबन्दी अनुसारको फार्मासिस्टको व्यवस्था गरेपछि अस्पतालबाट अन्य सेवासरह स्वास्थ्य बीमा गरेकाहरूले औषधि पनि सहजरूपमा पाउन थालेका हुन् । यो कार्य उहिल्यै हुनुपर्ने थियो तर ढिलो भएपनि सुधार गरिएको छ, यसको लागि नारायणी अस्पताल धन्यवादको पात्र बनेको छ ।