प्रस, वीरगंज, ९ जेठ/
यातायात व्यवस्था कार्यालय (लाइसेन्स) वीरगंजमा कर्मचारीहरूबीचको अन्तद्र्वन्द्व जारी रहेकाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लागि हुने परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीको सङ्ख्या स्वात्तै घटेको छ ।
लाइसेन्स वितरणबाट हुने आम्दानीमा कर्मचारीहरूबीच कुरा नमिल्दा गत फागुनदेखि यो कार्यालयमा अन्तद्र्वन्द्व बढेको हो । लाइसेन्स वितरणको विषयलाई लिएर अहिले यातायातमा कर्मचारीहरू दुई गुटमा विभाजित भएर काम गरिरहेका छन् । दुवै गुटका कर्मचारीहरूले आफूअनुकूलका समाचारहरू प्रकाशित गरेर एकले अर्कोमाथि आक्षेप लगाउने कार्य जारी राखेका छन् । लामो समयदेखि यातायात (लाइसेन्स)मा काम गर्दै आएका अनुभवी कर्मचारीहरूबीच आम्दानीमा हुने भागबन्डाको विषयलाई लिएर झगडा भएको हो ।
लाइसेन्समा हुने अनियमितताको विषयमा समाचार प्रकाशित गराएर दुवै गुटले एकअर्कालाई दोषी देखाउने र कारबाईको भागीदारी बनाउने कार्यमा लागेका छन् र उनीहरूको यो गतिविधि अहिले अख्तियारदेखि मधेस प्रदेशका मुख्यमन्त्रीसम्म छताछुल्ल भएको छ । कर्मचारीहरूको विवादका कारण यहाँबाट सेटिङमा सेवा दिलाउँदै आएका बिचौलियाहरू अहिले अनुकूल ठाउँमा सेवाग्राहीलाई लगेर काम गराउँदै छन् ।
स्रोतका अनुसार हालै सञ्चालनमा आएको रौतहटको गौर र पहिलेदेखि सञ्चालित धनुषाको जनकपुर र सिराहाको लहानमा अहिले वीरगंजका बिचौलियाहरू गएर काम गराउँदैछन् । वीरगंजमा फागुनअघि एकपटकमा एक हजार ६०० जनासम्मको लिखित परीक्षा हुने गरेको कर्मचारीहरूले बताएका छन् । अहिले यो कार्यालयमा लाइसेन्सको लागि लिखित परीक्षा दिनेको सङ्ख्या दुई सयको हाराहारीमा रहेको कर्मचारीहरू बताउँछन् । हिजो जेठ ८ गते भएको लिखित परीक्षामा दुई सयको हाराहारीमा परीक्षार्थीहरू थिए । आज तिनीहरूको ट्रायल परीक्षा भयो र कमै मात्र परीक्षार्थी उत्तीर्ण भएका थाहा हुन आएको छ । यसअघि, १६ सय परीक्षार्थीमध्ये अधिकांश उत्तीर्ण हुने गरेका थिए ।
यातायात व्यवस्था कार्यालय, लाइसेन्सका मेकानिकल इन्जिनीयर अमित दास, नायब सुब्बा सुनील पण्डित, रञ्जीत साहलगायतको एउटा समूह छ भने यिनीहरूले कार्यालय प्रमुख कमल गौतमविरुद्ध अभियान छेडेका छन् ।
कार्यालय प्रमुख गौतमको पक्षमा भने शाखा अधिकृत बबिता जैसवाल, रामअयोध्या राम, लेखापाल मनोज निरौला, सहलेखापाल कविन्द्र यादवलगायतका कर्मचारीहरू छन् । कर्मचारीहरू दुई गुटमा विभाजित भएर कार्यालयको काम प्रभावित भएको र आम्दानीको स्रोत सुकेपछि बिचौलियाहरू अहिले झगडा मिलाउन लागिपरेका स्रोतले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय मधेस प्रदेश अन्तर्गत अहिले वीरगंज, जनकपुर, लहान र गौरमा सवारी चालक अनुमतिपत्र वितरण हुँदै आएको छ भने बर्दिवासमा पनि वितरणको तयारी भइरहेको स्रोतले जनाएको छ ।