प्रस, वीरगंज, ९ जेठ/
नारायणी अस्पतालको फार्मेसीबाट औषधि वितरण सहज भएपछि स्वास्थ्य बीमा गरेकाहरू खुशी भएका छन् ।
विगत केही महीनादेखि नारायणी अस्पतालको फार्मेसीबाट स्वास्थ्य बीमा गराएकाहरूले सहजरूपमा औषधि पाउन थालेका छन् । अहिले यो फार्मेसीबाट स्वास्थ्य बीमा गराएकाहरूले दैनिक रु दुई लाखभन्दा बढीको औषधि खरीद गर्दै आएका फार्मेसी अधिकृत रञ्जीत साहले बताए । उनले ओपिडी सेवामा आएका बिरामीहरूमध्ये ८० प्रतिशत स्वास्थ्य बीमा स्वास्थ्य बीमा गराएकाहरू हुन्छन् र उनीहरूले फार्मेसीबाट औषधि खरीद गर्ने गरेको बताए ।
नारायणी अस्पतालको ओपिडी सेवामा दैनिक चार सयभन्दा बिरामीहरू आउने गर्छन् । उनीहरूमध्ये ३५० जनाले स्वास्थ्य बीमा गराएका हुन्छन्, फर्मासिस्टका साहले बताए । अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले फार्मेसीमा निकै सुधार आएको बताए । यसअघि, हरिन्द्र यादव फर्मासिस्ट हुँदा स्वास्थ्य बीमा गरेका सेवाग्राहीहरू पीडित हुने गरेका थिए । उनीहरूलाई औषधि पाउन धौधौ हुन्थ्यो । त्यति बेला स्वास्थ्य बीमा गराएकाहरूले औषधि नपाउने तर सो औषधि फर्मासिस्टको चलखेलमा अपचलन हुने गरेको थियो ।
औषधि वितरणमा पारदर्शिता
स्वास्थ्य बीमा गराएकाहरूको लागि नारायणी अस्पतालमा औषधि वितरण गर्न खुलेको फार्मेसीमा तीन/चार वर्षसम्म औषधि अपचलन भएको थियो । स्वास्थ्य बीमा गराएकाहरूले औषधि नपाउने र उनीहरूको नाममा औषधिको अपचलन हुने गरेको थियो ।
करारमा रहेका यादवले स्वास्थ्य बीमा गराएका सेवाग्राहीहरू औषधि लिन आउँदा एउटा/दुई वटा मात्र दिने र सोको बिल पनि दिने गरेका थिएनन् तर उनले त्यस्ता बिरामीहरूका सबै औषधिको दाबी बीमा आयोगमा गर्ने गरेको बुझिन आएको छ । अहिले फार्मेसीबाट स्वास्थ्य बीमा गराएकाहरूले जति औषधि पाउँछन्, सोको रसीद पनि पाउने गरेका छन् । फार्मेसी अधिकृत साहका अनुसार अहिले वार्षिक रु छ करोडको कारोबार भइरहेको छ । औषधि सप्लायर्सले भुक्तानी अभावमा एकाध दिन औषधि उपलब्ध नगराउँदा मात्र समस्या हुने गरेको तर अन्य बखत सहजरूपमा सेवाग्राहीहरूले औषधि पाइरहेको उनले बताए ।
वार्षिक रु तीन हजार सात सयमा परिवारका पाँचजना सदस्यको जोखिम बेहोर्नेगरी स्वास्थ्य बीमा हुन्छ । सरकारले पछिल्लो समय ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूको निश्शुल्क स्वास्थ्य बीमा गर्दै आएको छ ।