प्रस, वीरगंज, ९ जेठ/
पर्सा, बारामा वृक्षारोपण गर्नेहरूको सङ्ख्या बढ्दो छ । सरकारीस्तरमा हुने वृक्षारोपणको स्याहारसुसार नहुँदा बर्सेनि नष्ट भएर जाने गरेका भएपनि अहिले उद्योगी, व्यापारी तथा निजीस्तरमा हुने वृक्षारोपण भने संरक्षित तरीकाले हुर्किरहेका छन् ।
पथलैयादेखि वीरगंजसम्म छ लेन सडकमा अहिले विभिन्न सङ्घसंस्थाले वृक्षारोपण गरेका छन् ।
त्यसको स्याहारसुसार पनि उनीहरूले नर्सरीहरूको जिम्मा लगाएर गराउँदै आएका छन् । जगदम्बा, हुलास, सूर्य नेपालले डिभाइडरहरूमा वृक्षारोपण गरी त्यसको संरक्षण गर्ने कार्य गरेकाले अहिले सो क्षेत्रमा बिरुवाहरू हुर्केको देख्न सकिन्छ ।
यसैगरी, एडिबीको सहयोगमा बनेको बाइपास सडकमा पनि कालिका कन्स्ट्रक्शनले डिभाइडरमा वृक्षारोपण गरेर सौन्दर्यीकरण गरेको छ ।
गण्डकदेखि रजतजयन्ती चोकसम्म सात किलोमिटर क्षेत्रको डिभाइडरमा नीम, मैङ्गो स्टिन, अशोक, बोतल ब्रस, चम्पा प्रजातिका बिरुवा रोपिएको र त्यसको स्याहारसुसार वीरगंजको मनकामना नर्सरीले गर्दै आएको छ ।
मनकामना नर्सरीको रेखदेखमा महानगरले अहिले घण्टाघरदेखि पावरहाउस चोक र शङ्कराचार्यद्वारमा पनि ठूला बिरुवा रोपिएका छन् । वीरगंजमा अहिले तीन दर्जनभन्दा बढी नर्सरी सञ्चालनमा छन् । चर्चामा आएका नर्सरीमा मनकामना, अन्नपूर्ण र मङ्गल कामना हुन् । यीमध्ये सबैभन्दा पुरानो मनकामना हो ।
कलैया उपमहानगरपालिकामा ३५ वर्षदेखि मनकामनाले नर्सरी सञ्चालन गर्दै आएको छ ।
कलैया उपमनपा–११ विशम्भरपुरमा चार बिघामा नर्सरी गर्दै आएको र अहिले वीरगंज महानगरपालिकामा १८ वर्षदेखि यो व्यवसाय सञ्चालन गर्दै आएको मनकामना नर्सरीका रवीन्द्र कुशवाहा बताउँछन् । उनले जिल्ला हुलाकमा अहिले दुईवटा नर्सरी सञ्चालन गर्दै आएका छन् । सोही ठाउँमा मङ्गलकामना सञ्चालनमा छ भने हिरण्यमार्केट पछाडि आर्मी ब्यारेकदेखि दक्षिणतर्फ अन्नपूर्ण नर्सरी सञ्चालनमा छ ।
मनकामना नर्सरीका सञ्चालक कुशवाहाले पछिल्लो समय पर्सा, बारामा व्यक्तिगत तवरमा घरमा सजावटका लागि फूलसहितको बगैंचा बनाउनेहरूको सङ्ख्या बढिरहेको बताए । उनले जग्गा नभएका व्यक्तिहरूले पनि घरको छतमा बगैंचा बनाउने, फूलको बिरुवा रोप्ने, छतमा गमला राखेर फूल तथा विभिन्न अलङ्कारिक बिरुवाहरू रोप्ने गरेका बताए । वृक्षारोपण गर्ने र त्यसको रेखदेख गर्ने हो भने तोकिएको समयमा बिरुवा हुर्किने उनले बताए । बिरुवा रोप्नेहरूले कम्पोस्ट, डिएपी मल, कीटनाशक औषधि प्रयोग गर्नुका साथै सिंचाइमा ध्यान दिंदा समयमा बिरुवा हुर्कने गरेको तर सरकारी तवरमा रोपेर मात्र औपचारिकता पूरा गर्दा वृक्षारोपण गरिएका बिरुवाहरू नहुर्केका थुप्रै प्रमाण छन् ।
वीरगंजमा वृक्षारोपणको सुरुआत २०४९ सालमा सार्वजनिकरूपमा भएको थियो । तत्कालीन नगरपालिकाले पहिलोपटक रु २० लाखको लागतमा वृक्षारोपणको सुरुआत गरेको थियो । त्यसपछि वृक्षारोपणकोकार्यहरू थुप्रै भए तर टिकाउ हुन सकेनन् ।
वृक्षारोपण असफल हुनुमा स्याहारसुसारको लागि हेरालुको व्यवस्थापन नगर्दा । अहिले महानगरले गरेका वृक्षारोपणको हेरचाह गर्न नर्सरीहरूलाई जिम्मेवारी दिइएको छ । वीरगंजमा राम्ररी वृक्षारोपण भएको आदर्शनगर क्षेत्रमा देख्न सकिन्छ । त्यहाँ ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले वृक्षारोपण गरी आकर्षण बनाएको छ । त्यसबाट प्रेरित भएर महानगरले विभिन्न स्थानमा वृक्षारोपणलाई प्राथमिकता दिंदै आएको छ ।