- विनोद गुप्ता
आज मङ्गलवार जेठ ९ गते बिहान उठ्दा नै देखिएको मौसमी परिवर्तनले गर्मीबाट मुक्ति पाइने भनेर खुशी ल्याएन, बरु मनभित्र एउटा डर, भय र त्रासजस्तो अनुभूति भयो । किन यस्तो भयो भनेर सोचेर बस्दा यो पानीले बालीनालीलाई फाइदा–बेफाइदा के पुर्याउने हो र बेफाइदा नै गर्ने हो भने अन्नको भण्डार भनेर झूटो पगरी पहिराइएको मधेस वा तराईको अवस्था के कस्तो हुने हो सोच्नेतिर लागियो । यसै क्रममा सर्वप्रथम त मधेसको तात्पर्य नै के हो भनेर बुझ्दा यो शब्द मध्यदेशको अपभ्रंश भएको एवं दक्षिणमा समुद्र र उत्तरको पहाडी भूभागबीचको समथर भूमिलाई मध्यदेश भनिएको रहेछ । यो मध्यदेशमा जाति एवं वर्ण व्यवस्था अनुसार बन्द व्यापार गर्नेहरू मध्यदेशीय वैश्य भनाउँदा रहेछन् । व्यवसाय वा रोजीरोटीको उपक्रम अनुसार नामपछाडि वर्ण जनाउने शब्दावली प्रयोग गर्ने चलन चलेको देखिन्छ । नेपाल देशमा मधेस गङ्गावारिसम्म पैmलिएको प्रमाण भेटिन्छ तर सुगौली सन्धिपछि नेपालको मधेसले वर्तमान स्वरूप ग्रहण गरेको देखिन्छ । राजनीतिज्ञ हृदयेश त्रिपाठीको एक अन्तर्वार्ताबाट प्राप्त जानकारी अनुसार वास्तवमा राणा शासकहरूले अमलेखगंजभन्दा माथिको उपल्लो भागदेखि तिब्बतसँग जोडिएको नेपालको सीमासम्मको भूभागलाई नेपाल मानेर सन्धि गर्न तयार भएको बेला तराईका सातजना जमीनदारले आफूहरू म्लेच्छ राज्यसँग नबस्ने हठ लिएपछि उनीहरूको जग्गासमेत नेपालमा पर्नेगरी सीमाङ्कन गर्नुपरेकोेले नेपालभित्र पनि एउटा मधेस रहन गएको हो । पञ्चायतकालदेखि प्रजातन्त्र हुँदै सङ्घीयतासम्म आइपुग्नुपूर्व नेपालकै नक्शाको २२ जिल्लामा रहेको मधेस सङ्घीयतापछि आठ जिल्लाको वर्तमान स्वरूपमा आइपुगेको छ । आठ जिल्लामा सीमित भएर आफ्नो अस्तित्व जोगाइरहेको मधेस प्रदेशले थुप्रै राजनीतिज्ञ जन्मायो ।
नेपालमा राणाशासनविरुद्धको आन्दोलन २००७ सालमा भएको हो । यस आन्दोलनमा नेपालका सबै वर्ग एवं जातजातिले भाग लिएर यसलाई सफल बनाएका हुन् । तर यस आन्दोलनपश्चात् नै काङ्ग्रेसबाट नै २००८ मा मधेसका केही काङ्ग्रेसी नेताहरूले तराईको स्वायत्तकरण, सेनामा मधेसीको सहभागिता, नोकरीमा मधेसीहरूको समतामूलक सहभागिता र हिन्दी भाषालाई कामकाजको भाषाको रूपमा मान्यता दिनुपर्ने जस्ता मागहरू उठाउँदा काङ्गेस यस मागप्रति सकारात्मक नदेखिएकोले कुलानन्द झा र बलदेव दासले २००८ सालमा तराई काङ्ग्रेसको गठन गरे, जसमा कालान्तरमा वेदानन्द झा यस पार्टीको अध्यक्ष नियुक्ति भए । तराई काङ्ग्रेसमा त्यति बेला नेपाल काङ्ग्रेससँग असन्तुष्ट धेरै राजनीतिकर्मीहरू सामेल हुँदै गए पनि २०१५ को नेपालकै प्रथम आमनिर्वाचनमा यस दलले एउटा पनि सिट प्राप्त गर्न सकेन । त्यस उपरान्त यस दलका धेरै नेताहरू पञ्चायतमा प्रवेश गरे र तराई काङ्ग्रेस विलीन भयो । त्यसपछाडि एकैपटक पञ्चायतकालमा २०३६ सालको जनमत सङ्ग्रहमा सुधारिएको पञ्चायतले जितेपछि पनि राजनीतिक दलहरूमाथि प्रतिबन्ध नहटाइएकोले स्व गजेन्द्रनारायण सिंहले सद्भावना परिषद् नामको एक संस्था दर्ता गरेर मधेसकेन्द्रित राजनीति शुरू गरेको र स्व रामराजाप्रसाद सिंहले पञ्चायतको चुनावमा मधेस मात्र नभई समग्र देशकै पक्षमा राजनीति गरेर हलचल पैदा गरेको स्मरण गर्न सकिन्छ । २०४६ सालको जनआन्दोलनपछि दलहरूमाथिबाट प्रतिबन्ध हटाइएपछि स्व गजेन्द्रनारायण सिंहको सद्भावना परिषद् सद्भावना पार्टीमा परिणत भएर आजको अवस्थासम्म आइपुग्दा कता पुग्यो कता भेउ पाउने अवस्था देखिंदैन । त्यसपछाडि २०५२ मा माओवादी द्वन्द्व शुरू भयो र त्यस क्रममा उपेन्द्र यादव, मातृका यादव र सुरेश आलेमगरलाई भारतीय प्रहरीले गिरफ्तार गरी मातृका यादव तथा सुरेश आलेमगरलाई नेपाल सरकारको जिम्मा लगाइयो भने उपेन्द्र यादव भारत सरकारकै कैदमा रहेर नेपालको पहिलो मधेस आन्दोलन २०६२/६३ को नेतृत्वकर्ता बन्न पुगे । २०६३ माघ २ गतेबाट प्रारम्भ भएको यो आन्दोलनको प्रमुख माग नै सङ्घीयता र समानुपातिक प्रतिनिधित्व थियो ।
प्रादेशिक लेखा अनुमान प्रतिवेदन अनुसार कुल गार्हस्थ्य उत्पादनमा मधेसको योगदान १३ प्रतिशत रहेको छ भने वाग्मतीको ३६.८, कोशीको १५.८, लुम्बिनीको १४, गण्डकीको नौ र सुदूरपश्चिमको सात प्रतिशत रहेको छ । यस अर्थमा उद्योग नगरी वा आर्थिक राजधानी भन्नु शृङ्गार मात्र रहेछ, वास्तविकतासँग यसको सम्बन्ध देखिंदैन । प्रतिव्यक्ति आय वाग्मतीमा २०९७ अमेरिकी डलर, गण्डकीमा १४९२, कोशीमा १२९९, लुम्बिनीमा १०२६, सुदूरपश्चिममा १०६३, कर्णालीमा ९९७ र मधेस प्रदेशमा ८७५ डलर रहेको छ । त्यसैले भनिएको होला जय मधेस ।
अब २००७ देखि २०८० सालसम्म अर्थात् ७३ वर्षको राजनीति र विकासको उपलब्धि हेर्दा हामी प्रगतिउन्मुख छौं वा पतनतर्फ लम्किरहेका छौं, तपाईंहरू नै विचार गर्नुस् । म उदास भएको ठीक कि बेठीक ?