प्रस, वीरगंज, ७ जेठ/
२ नं नापी गोश्वारा कार्यालय, छपकैयामा कार्यरत केही कर्मचारीहरूको लापरवाहीका कारण नगवावासीहरू समस्यामा परेका छन् ।

वीमनपा–१० नगवा, इनर्वा, भन्सार क्षेत्रका जग्गाहरूको नयाँ नापी भएपनि मालपोत कार्यालयमा अहिलेसम्म श्रेस्ता बुझाइएको छैन ।

कर्मचारी पियन अरुण उपाध्याय र सर्वेक्षक अशोक कुशवाहाका लापरवाहीका कारण स्थानीयहरू समस्यामा परेको बताइन्छ । दुवैजना अहिले सो क्षेत्रका भूमि नाप्नका लागि खटाइएका कर्मचारीहरू हुन् । महानगरका ती वडामा सबै जग्गाको नापनक्शा बनिसकेको अवस्थामा कर्मचारीहरूले अहिले पनि छुटेका जग्गाधनीहरूसँग मोटो रकम लिई काम गरिरहेको स्थानीयले जनाएका छन् ।

अहिले नापनक्शा भइसकेका जग्गाधनीहरू श्रेस्ता बुझाउनका लागि दबाब दिंदैछन् भने छुटेकाहरू आफ्नो पनि नापनक्शाको काम सकेर बुझाउन दबाब दिइरहेका छन् । स्रोतका अनुसार नयाँ जग्गा दर्ता हुने बेलामा चलाख व्यक्तिले अधिकांश ऐलानी जग्गा आफनो नाममा दर्ता गराउन सफल भएका थिए । त्यसैले पुरानाहरूले अहिले श्रेस्ता चाँडो मालपोत कार्यालयमा बुझाउन दबाब दिइरहेका हुन् । गोश्वारा नापीले यो क्षेत्रको श्रेस्ता डेढ वर्षअघि नै मालपोत कार्यालयमा बुझाउनुपर्ने थियो । पुराना नापी भएकाहरू चाँडो भन्दा चाँडो श्रेस्ता मालपोतमा पुगोस् र जग्गाधनी दर्ता प्रमाणपत्र बुझुन भन्ने पक्षमा छन् भने तोकिएको समयमा नबुझाइएका श्रेस्ता अब अलिकति ढिलो भएपनि सबैको काम गरेर बुझाउन दबाब दिंदै आइएको छ । नगवा क्षेत्रमा थुपै्र ऐलानी, पर्ती जग्गा छन् । धेरैजसोले पञ्चायतकालमा नै नगरपालिकाबाट हकभोगको प्रमाण निस्सा लिएर नापीमा आफ्नो नाममा लेखाउन सफल भइसकेका छन् । महानगरपालिकाले यस्तो जग्गाको खोजी कार्य गर्न सकेको छैन । नापी कार्यालयका प्रमुख नारायण श्रेष्ठले स्थानीयको विरोधपछि आगामी साउनमा श्रेस्ता मालपोत कार्यालयमा पठाउने बताए । उनले दैनिकजसो सेवाग्राहीहरू आउने, हल्ला गर्ने गरेकाले आगामी साउनमा श्रेस्ता मालपोत पठाउने सहमति गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here