प्रस, निजगढ, ७ जेठ/
दीर्घकालीन सोच, आवधिक लक्ष्य, विषय क्षेत्रगत रणनीतिसहितको आवधिक नगर विकास योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा चार दिने कार्यशाला गोष्ठी आइतवारदेखि निजगढ नगरपालिकामा शुरू भएको छ ।

कार्यक्रममा नगरप्रमुख सुरथ पुरीले निजगढ नगरको दीर्घकालीन विकासलाई सार्थकतामा पु-याउन गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सचेत नगरवासी, सरोकारवाला सङ्घसंस्थालगायतका महत्वपूर्ण राय, सुझाव आवश्यक रहेको बताए । उनले निजगढको दीर्घकालीन विकासका समस्याहरूलाई पहिल्याउँदै समाधान गर्न गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सक्रिय सहभागिताका लागि उनले आग्रह गरे ।

उपप्रमुख सोममाया थिङले कार्यक्रमले निजगढमा विकासका प्रशस्त आधार भएकाले आआफ्नो क्षेत्रबाट राय, सुझाव सड्ढलन गरी समावेश गराउन सबैलाई आग्रह गरिन् ।

वडागतरूपमा जनप्रतिनिधि, नगरवासी, कर्मचारीहरूसँग प्रत्यक्ष राय, सल्लाह, सुझाव सङ्कलन गरिएका विषय वस्तुलाई अझै मसिनो ढङ्गले केलाउँदै आवधिक नगर विकास योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमाका लागि समावेश गरी आगामी समयमा निजगढको भौतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिंचाइ, कला, साहित्य, खेलकूदलगायत सबै सरोकारवाला विषयलाई समेट्दै निजगढको दीर्घकालीन विकासको लागि वस्तुगत विश्लेषण, समष्टिगत लक्ष्य निर्धारण, विषय क्षेत्रगत उद्देश्य, रणनीति उपविषय क्षेत्रगत उद्देश्य, रणनीति विकास, मुख्य कार्यक्रम विकास, लागत अनुमान, सूचना प्रमाणीकरण, पाश्र्वचित्र आयव्यय, पालिकाको वस्तुगत विश्लेषण, अपेक्षित लगानी अनुमान, पालिकास्तरीय गौरवका आयोजना निर्धारणलगायत अन्य आवश्यक विषयवस्तु समेटिने र विकासको दीर्घकालीन लहर ल्याउन सकिने गोष्ठीमा सहभागी विज्ञहरूले बताए ।

समस्या र चुनौतीलाई नजीकैबाट पहिचान गरी सोको दीर्घकालीन समाधान र विकास स्थापित गराउने यस गोष्ठीको मूल लक्ष्य रहेको विज्ञ विके महर्जन र मण्डुबाबू अधिकारीले सहभागीहरूलाई जानकारी दिए ।

निजगढ नपाको आयोजना र गभर्नेन्स एन्ड डिभाइन सोलुशन, काठमाडौंको प्राविधिक सहयोगमा चार दिने गोष्ठी शुरू भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here