प्रस, परवानीपुर, ७ जेठ/
वीरगंज, आदर्शनगरमा आयोजित शिव महापुराण कथामा सीमापारि भारतका भक्तजनहरूको उल्लेख सहभागिता रहेको छ । पुरुषार्थ आश्रम सेवा ट्रस्ट हरिद्वार एवं वीरगंज महानगरवासीको आयोजनामा भइरहेको सात दिने प्रवचन कार्यक्रममा भारतका बिहार, उत्तरप्रदेश, झारखण्ड, दिल्ली, पञ्जाब, हरियाणा, राजस्थान, गुजरातलगायतका राज्यबाट हजारौंका सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको सहभागिता भइरहेको शिवमहापुराण कथाका संयोजक सुनील खेतानले बताए ।
जेठ ३ देखि ९ गतेसम्म दिउँसो २ देखि साँझ ५ बजेसम्म शिव महापुराण कथा वाचन भइरहेको आयोजक ट्रस्ट हरिद्वारका निरञ्जन महाराजले बताए । मुख्य कथावाचक, भारतका विश्वविख्यात पण्डित प्रदीप मिश्र रहेको र आज आइतवार कथाको पाँचौ दिनसम्म उनका भारतीय अनुयायी एवं समर्थकहरू विभिन्न स्थानबाट वीरगंज आइरहेका उनले बताए ।
प्रवचन सुन्न आउने सहभागीहरूको लागि निश्शुल्क गाँस र वासको व्यवस्था मिलाइएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताए ।