प्रस, वीरगंज, ६ जेठ/
वीरगंजस्थित गौतम माध्यमिक विद्यालयले मधेस प्रदेशमैं पहिलोपटक छात्रवृत्तिको लागि परीक्षा लिएको छ ।
संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान अनुसार गौतम माविले पहिलोपटक छात्रवृत्तिको लागि परीक्षा लिएको हो ।
शनिवार सम्पन्न सो परीक्षामा एलकेजीदेखि कक्षा ८ सम्मका ४०९ जना विद्यार्थीको सहभागिता थियो ।
गरीब, विपन्न, जेहेन्दार, शहीद परिवार, अपाङ्ग, दलित एवं पिछडिएको क्षेत्रका विद्यार्थीलाई अङ्कको आधारमा छात्रवृत्ति प्रदान गरिने गौतम माविका कार्यक्रम संयोजक सौराज प्रधानले जानकारी दिए ।
छात्रवृत्ति परीक्षाको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निरीक्षणसमेत गरेका थिए । निरीक्षणका क्रममा उनले गौतम माविको प्रशंसा गर्दै अन्य संस्थागत विद्यालयले यसको अनुकरण गर्नुपर्ने बताए ।
सबै संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था भएकोले सोको कार्यान्वयन गर्नुपर्ने नगरप्रमुख सिंहले बताए ।