- विश्वराज अधिकारी
आविष्कारको देश
अन्य राष्ट्रहरू राजनीतिक सङ्घर्ष, द्वन्द, गृहयुद्ध आदिमा अल्झेका बेला अमेरिका भने अध्ययन, अनुसन्धान, खोज, आविष्कार जस्ता कार्यमा लागेको हुन्छ । अमेरिकाले नयाँ नयाँ कुराहरूको अनुसन्धान, आविष्कार गर्छ । र ती अनुसन्धान, आविष्कारहरूको प्रतिफल (मुनाफ) वर्षाैंसम्म प्राप्त गर्छ । विश्वमा नै नयाँ नयाँ सेवा, वस्तु, प्रविधि, ज्ञान आदि अविष्कार गर्ने प्रतिस्पर्धामा अमेरिका अग्रस्थानमा रहने कार्यले पनि यो मुलुकलाई विश्वको सर्वाधिक धनी राष्ट्र तुल्याएको हो ।
अमेरिकाले वस्तु वा सेवा बिक्री गरेर मात्र मुनाफा गर्दैन, साथै नयाँ नयाँ विचार (अनुसन्धान एवं आविष्कार आदि) बिक्री गरेर पनि मुनाफा हात पार्छ । ज्ञान बिक्री गरेर मुनाफा हात पार्छ । अमेरिकाको आम्दानीका स्रोतहरू अनेक छन् । संसारभरिमा हुने अनेक खोज, अनुसन्धान एवं आविष्कारहरूमध्ये धेरै केवल एक्लो अमेरिकामा मात्र हुन्छ । यस्तो हुनमा अमेरिकाको सामाजिक मनोविज्ञानको ठूलो भूमिका छ । अमेरिकी समाजले नै पनि अमेरिकीहरूलाई नयाँ नयाँ विचार ल्याउन प्रोत्साहित गर्छ । परम्परागत चिन्तनभन्दा नवीनतम चिन्तनले समाजमा प्रोत्साहन प्राप्त गर्छ । अमेरिकी समाज परम्परागतरूपमा चिन्तन गर्ने समाज भएको भए चराले आकाशमा उड्न सकेझैं कुनै वस्तुले पनि आकाशमा उड्न सक्ने क्षमता राख्छ भन्ने ‘राइट ब्रदर्स’को कल्पनाले महत्व पाउने थिएन । तर अमेरिकी समाजले राइट ब्रदर्सको कल्पनालाई महत्व दियो । त्यसमाथि विश्वास गर्यो । परिणामस्वरूप दुई दाजुभाइ विल्बर राइट र ओरभिल राइट हवाईजहाज अविष्कार गर्न सफल भए । राइट दाजुभाइले सन् १९०३ डिसेम्बर १७ मा ५९ सेकेन्डसम्म हवाईजहाज (नमूना) उडाउन सफल भएका थिए । ओहायो राज्यको डेटोन भन्ने शहरमा बस्ने यी दुई अमेरिकी दाजुभाइ विल्बर राइट र ओरभिल राइटले हवाईजहाजको आविष्कार गरेर मान्छेलाई पनि चराझैं आकाशमा उड्न सक्ने तुल्याए ।
संसारभरिमा नै अनुसन्धान एवं विकासमा सर्वाधिक बढी अमरिकाले खर्च गर्छ । अनुसन्धान एवं विकास गर्ने दोस्रो, तेस्रो, चौथो र पाँचौं राष्ट्रहरूमा चीन, जापान, जर्मनी र दक्षिण कोरिया पर्छन् । उपरोक्त तथ्याङ्क सन् २०२२ को हो । यसैगरी, संसारमा सर्वाधिक वस्तु, सेवा एवं प्रविधि विकास एवं अविष्कार गर्नेमा अमेरिका दुर्ई नम्बरमा (सन् २०२२ को तथ्याङ्क अनुसार) पर्छ । एक नम्बरमा भने स्वीट्जरल्यान्ड पर्छ । स्वीडेन, संयुक्त अधिराज्य र नेदरल्यान्ड्स भने क्रमशः तेस्रो, चौथो र पाँचौंमा पर्छन् ।
अमेरिकामा सरकार मात्र होइन निजी क्षेत्रले पनि अनुसन्धान एवं विकासमा ठूलो धनराशि खर्च गर्छ । व्यक्तिविशेषहरूले पनि उत्तिकै खर्च गर्छन् । म नयाँ कुरा (विचार, सेवा, वस्तु)को विकास गर्नेछु भन्ने चाहना अमेरिकीहरूमा सानै उमेरदेखि हुन्छ । यसैगरी, अमेरिकी विश्वविद्यालयहरूले पनि अनुसन्धान एवं विकासमा ठूलो धनराशि खर्च गर्छन् । अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित हार्वर्ड विश्वविद्यालयले संसारभरिमा नै अनुसन्धान एवं विकासमा ठूलो धनराशि खर्च गर्छ । यो विश्वविद्यालले बर्सेनि एक बिलियन डलरभन्दा बढी रकम अनुसन्धान एवं विकासमा खर्च गर्छ । प्रिन्सट्न युनिभर्सिटी, हार्वर्ड युनिभर्सिटी, म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ शिकागो जस्ता शैक्षिक संस्थाहरू विश्वमा नै अनुसन्धान एवं विकासका लागि सर्वाधिक बढी रकम खर्च गर्नेमा पर्छन् ।
दोस्रो विश्वयुद्धको समाप्तिपछि अमेरिका अनुसन्धान एवं विकासको कार्यमा सक्रियरूपमा लागेको पाइन्छ । अनुसन्धान एवं विकासमा यसले ठूलो रकम खर्च गरेको पाइन्छ । विशेषगरी, अन्तरिक्ष विज्ञान अध्ययनमा अमेरिकाले ज्यादै जोड दिएको पाइन्छ ।
संसारभरिमा प्रयोग हुने ‘माइक्रोसफ्ट’को आविष्कार अमेरिकामा नै भयो । भीमकाय अनलाइन खरीद संस्था– अमेजनको जन्म पनि अमेरिकामा नै भयो । यसैगरी, संसारभरिमा नै रुचाइएको एप्पल कम्पनीको स्थापना अमेरिकामा नै भयो । यसका लोकप्रिय उत्पादनहरू एप्पल सेलफोन, एप्पल पिसी, एप्पल नाडीघडी (स्मार्ट वाच) आदिलाई मन पराउने क्रेताहरूको सङ्ख्या अहिले करोडौंमा छन् ।
यु ट्युब, फेसबूक, गूगल, ह्वाट्स एप आदिको आविष्कार अमेरिकामा नै भयो । संसारको नै सर्वाधिक ठूलो (आकार र शाखा दुवैको हिसाबले) खुद्रा भण्डार ‘वाल मार्ट’को आविष्कार पनि अमेरिकामा नै भयो । यसैगरी, संसारभरिमा नै ठूलो सङ्ख्यामा शाखाहरू भएका ‘फास्टफूड रेस्टुरेन्ट’ म्याकडोनाल्ड्सको जन्म पनि अमेरिकामा नै भएको हो ।
सबवे, स्टारबक्स, पिजा हट, केएफसी आदि जस्ता लोकप्रिय फास्टफूड रेस्टुरेन्टहरूको जन्म पनि अमेरिकामा नै भएको हो । म्याकडोनाल्ड्स, सबवे र स्टारबक्सका शाखाहरू क्रमशः ४० हजार ३१, ३७ हजार र ३६ हजार १७० रहेका छन् । समग्रमा भन्नुपर्दा अमेरिका आविष्कारको देश हो ।