- बैधनाथ श्रमजीवी
मानवजीवनको प्रादुर्भावसँगै तत्कालीन प्राकृतिक परिघटनाहरू मानिसका लागि जति कौतुहलताको विषय थियो, त्यति नै त्रासको पनि विषय थियो । त्यसैले सबै समुदायले प्रकृतिलाई बुझ्ने र सोबारेमा एउटा ठोस धारणा बनाउन जरुरी थियो र त्यसै क्रममा विभिन्न दर्शनहरू विकास भएका हुन् । साङ्ख्य दर्शनले प्रकृति र पुरुषसँगै २३ अन्य तत्व पत्ता लगाएको छ र यसरी यो दर्शन अनुसार कुल तत्वहरूको सङ्ख्या २५ छन्– प्रकृति, पुरुष, महत (बुद्धि), अहङ्कार, पञ्च ज्ञानेन्द्रिय (आँखा, कान, जिब्रो, नाक, छाला), पञ्च कर्मेन्द्रिय (वाणी, हात, गुद्वार, खुट्टा, रूप, गुप्ताङ्ग), मन, पञ्च तन्मात्र (स्वरूप, स्वाद, गन्ध, ध्वनि, स्पर्श), पञ्च महाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) । साङ्ख्य दर्शनका २५ तत्वलाई अझ यसरी स्पष्ट पार्न सकिन्छ– प्रकृति–प्रकृति वा प्रधान वा अव्यक्त–१ । विकृति– हात, खुट्टा, बोली, गुद्वार, गुप्ताङ्ग, आँखा, कान, नाक, जिब्रो, छाला, मन, पृथ्वी, जल, वायु, आकाश र अग्नि–१६ । प्रकृति–विकृति– अहङ्कार, महत (बुद्धि), शब्द, स्पर्श, रूप, रस र गन्ध– ७ । न प्रकृति न विकृति–पुरुष (आत्मा)– १ । योगफल– १ं१६ं७ं१. २५ ।
ब्रह्माण्डको सृष्टिको सम्बन्धमा साङ्ख्यले सत्कार्यवादको सिद्धान्त प्रतिपादन गरेको छ । यस सिद्धान्त अनुसार कार्य कारणमा पहिलेदेखि नै निहित हुन्छ । साङ्ख्यका अनुसार कार्य न एक नयाँ उत्पत्ति हो र न कारणमा त्यसको अभाव हुन्छ । कारण र कार्य समानरूपले सत्य हुन्छन् र कार्य कारणको परिणाम हुन्छ । कार्य वस्तुतः कारणमा विद्यमान रहन्छ । कार्यको उत्पत्ति भनेको कारणको वास्तवमा रूपान्तरित हुनु हो–जस्तो कि दूधको परिणाम दही । यो सृष्टि पनि प्रकृतिमा पहिलेदेखि नै निहित थियो, तबमात्र यसको उत्पत्ति सम्भव भएको थियो । प्रकृति कारण हो र सृष्टि यसको कार्य हो । कारण कार्यरूपमा परिवर्तन हुने कुरा नै उत्पत्ति हो र पुनः कारणको रूपमा परिवर्तन हुनु विनाश हो । साङ्ख्य दर्शनले ब्रह्माण्डको विकासक्रमलाई पनि स्पष्ट पार्ने प्रयास गरेको छ । यस अनुसार सर्वप्रथम महतको उत्पत्ति प्रकृति र पुरुषको मिलनबाट भएको हो । साङ्ख्य दर्शनमा महतको अर्थ– ब्रह्माण्डीय बुद्धि हो । यो वेद र उपनिषद्को हिरण्यगर्भको पर्यायवाची जस्तो देखिन्छ । यसपछि महतबाट अहङ्कारको जन्म भयो । अहङ्कार ब्रह्माण्डको विविधताको आधार हो र यो आत्मबोधको प्रवर्तक हो । अहङ्कार र सतको योगबाट मनस् र पाँच ज्ञानेन्द्रिय एवं कर्मेन्द्रियहरूको उत्पत्ति हुन्छ । अहङ्कार र रजको योगबाट पञ्चमहाभूत तत्व (पृथ्वी, जल, तेज, वायु र आकाश)को उत्पत्ति हुन्छ । र अहङ्कार र तमको योगबाट पञ्चतन्मात्र (रस, सुगन्ध, स्पर्श, ध्वनि र दृष्टि) उत्पन्न हुन्छ । भोग (आनन्द) र मुक्तिको विषयमा साङ्ख्य दर्शन अन्य वैदिक दर्शनभन्दा भिन्न छ । यस अनुसार पुरुष र प्रकृतिको मिलनबाट प्राणी (शरीरंआत्मा)को उत्पत्ति भोगको आरम्भ हो र प्रकृतिबाट पुरुषको वियोगको नाम मोक्ष हो । साङ्ख्यका अनुसार परमानन्द मोक्षको अवस्थामा प्राप्त हुन्छ । यसलाई स्पष्टरूपमा भन्दा न त प्रकृतिको अभावमा पुरुषले भोग गर्न सक्छ र न त पुरुषको अनुपस्थितिमा प्रकृतिले भोग गर्न सक्छ । त्यस कारण भोगबाट छुटकारा पाउनको लागि पुरुषलाई प्रकृतिबाट अलग गर्नु आवश्यक हुन्छ ।
साङ्ख्य दर्शन पुनर्जन्मको विषयमा उपनिषद् दर्शनसँग सहमत छ । यस अनुसार हाम्रा सबै अनुभव सूक्ष्म शरीरमा केन्द्रित हुन्छन् र सूक्ष्म शरीर भनेको अन्तःकरण (मन, बुद्धि र अहङ्कार) र पञ्च तन्मात्र (रस, गन्ध, स्पर्श, ध्वनि र दृष्टि)को योग हो । यसबाट नै सुख र दुःखको अनुभव हुन्छ र अनुभवहरू सञ्चित गर्छ । यो आगोले जल्दैन र पानीले पग्लिदैन र अनुभव शून्य (कर्मफल शून्य) नभएसम्म एक स्थूल शरीरबाट अर्काे स्थूल शरीरमा प्रवेश गरिरहन्छ । यसलाई पुनर्जन्म भनिन्छ । त्यसैले पुनर्जन्म सूक्ष्म शरीरको हो, आत्माको होइन । आत्मा पुरुष हो र यो जन्म–मृत्युको बन्धनबाट मुक्त छ ।
साङ्ख्य दर्शनले ज्ञानलाई दुर्ई भागमा विभाजन गरेको छ– एउटा पदार्थको ज्ञान, जसलाई वास्तविक ज्ञान भनिन्छ र अर्काे प्रकृति–पुरुषबीचको भिन्नताको ज्ञान हो, जसलाई विवेकको ज्ञान भनिन्छ । साङ्ख्यका अनुसार इन्द्रियद्वारा पदार्थको ज्ञान प्राप्त हुन्छ । यो ज्ञान इन्द्रियबाट मनमा, मनबाट अहङ्कारमा, अहङ्कारबाट बुद्धिमा र बुद्धिबाट मानिसमा आउँछ । अर्काेतर्फ साङ्ख्य दर्शन अनुसार पुरुषले बुद्धिलाई प्रकाशित गर्छ, बुद्धिले अहङ्कारलाई जगाउँछ, अहङ्कारले मनलाई सक्रिय बनाउँछ र मनले इन्द्रियहरूलाई सक्रिय बनाउँछ, त्यसपछि वस्तु–वस्तुबीच सम्पर्क स्थापित गर्छ । साङ्ख्य दर्शन अनुसार इन्द्रिय, मन, अहङ्कार र बुद्धि सबै प्रकृतिबाट सृष्टि भएकाले पदार्थ हुन् र पदार्थमा ज्ञान उत्पन्न हुन सक्दैन । अर्काेतर्फ पुरुष केवल चेतन तत्व हो, जड प्रकृतिको माध्यमविना त्यसले पनि ज्ञान प्राप्त गर्न सक्दैन । ज्ञानप्राप्तिको लागि प्रकृति (जड) र पुरुष (चेतन) दुवैको संयोजन आवश्यक हुन्छ । साङ्ख्य दर्शनको भौतिक ज्ञान प्राप्त गर्ने प्रक्रियालाई यसरी पनि प्रस्ट पार्न सकिन्छ– पदार्थइन्द्रिय मनअहङ्कारबुद्धिपुरुष । साङ्ख्य दर्शनले ज्ञानप्राप्तिको तीन प्रमाण (साधन) मात्र स्वीकार गर्छ– प्रत्यक्ष, अनुमान र शब्द । भौतिकजगत्को ज्ञानको लागि यी तीन प्रमाण आवश्यक छन् । तर पुरुष तत्वको ज्ञान पाउनको लागि शब्दमा मात्र निर्भर रहनुपर्छ । साङ्ख्य योगले शब्दद्वारा प्राप्त पुरुष तत्वको ज्ञानप्राप्तिको लागि साधना मार्गको वकालत गर्छ ।
साङ्ख्य दर्शनका अनुसार मानव स्वयंलाई दुःखबाट टाढा रहन चाहन्छ तर यो नश्वर शरीर सदैव दुःखको जालले घेरिइरहेको हुन्छ । मानिसले दुःखबाट निवृत्त हुने कोशिश गर्नुपर्छ र यसैलाई मोक्ष भनिन्छ । मोक्ष सुखरूपी होइन, बरु दुःख आत्यन्तिक हानि हो । धर्म, अर्थ, काम पुरुषार्थ हुन् किनकि यी नाशवान् छन् । मोक्ष परम पुरुषार्थ हो किनकि यो निध्य छ । जीवनमुक्ति र विदेहमुक्ति गरी मोक्ष दुई प्रकारका हुन्छन् । जीवनमुक्तिमा संस्कार शेष रहन्छ र त्यसको सम्बन्ध शरीरसँग हुन्छ । जबकि विदेहमुक्तिमा संस्कार पनि नष्ट हुन्छ र शरीर पनि ।
साङ्ख्य दर्शनको मूल्य–मान्यता र नैतिकतालाई यसरी स्पष्ट पार्न सकिन्छ । साङ्ख्य दर्शनको सुरुआत दुःखत्रय–आध्यात्मिक (आत्मा, मन र शरीरसँग सम्बन्धित), अधिभौतिक (बाह्य संसारसँग सम्बन्धित) र अधिदैविक (ग्रह र दिव्य प्रकोपसँग सम्बन्धित)को सार्वभौमिकताको स्वीकृतिबाट हुन्छ । साङ्ख्य दर्शनका अनुसार दुःखबाट छुटकारा पाउने कुरा नै मुक्ति वा मोक्ष हो । यस सन्दर्भमा पहिलो प्रश्न के हो भने सुख–दुःखको भोग गर्ने को हो ? साङ्ख्य दर्शनको उत्तर हो– पुरुष र प्रकृतिको मिलनबाट जन्मेको शरीर, मन र आत्मा । दोस्रो प्रश्न दुःखत्रयबाट कसरी छुटकारा पाउने ? साङ्ख्य दर्शनका अनुसार दुःखको मुख्य कारण अज्ञानता हो । यो अज्ञानता के हो ? जब पुरुषले बुद्धिको कामलाई आफ्नो कर्म बनाउँछ अर्थात् प्रकृतिका सत, रज, तम गुणको अनुभूति गर्न थाल्छ, तब त्यसलाई अज्ञानता भनिन्छ, यस कारणले नै ऊ सुख–दुःखको भोगी बन्छ, अन्यथा निर्गुण हुन्छ र उसलाई सुख–दुःखको अनुभूति हुँदैन । ज्ञान भनेको वस्तुको वास्तविक स्वरूप जान्नु तथा बुद्धि, अहङ्कार, मन र इन्द्रियको कर्मलाई आफ्नो काम नमान्नु हो । यो ज्ञानको अवस्थामा मात्र मानिस सुख–दुःखको अनुभवबाट अलग हुन सक्छ । यसको प्राप्तिको लागि साङ्ख्य योगले साधना मार्ग (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि) आवश्यक ठान्छ । यम भनेको मन, वाणी र कर्मको संयम हो । यसका लागि सत्य, अहिंसा, अस्तेय, अपरिग्रह र ब्रह्मचर्य पालनलाई योगले आवश्यक मानेको छ । योगका अनुसार शौच, सन्तुष्टि, तपस्या, आत्म–अध्ययन र प्रणिधान गरी पाँच नियम छन् । साङ्ख्य दर्शनले मोक्ष चाहनेहरू यी सबैलाई व्यवहारमा उतार्ने उपदेश दिन्छ । यी नैतिक महाव्रत र नियमहरूको पालना गरेर मात्र मानिसले आफ्ना इन्द्रियलाई नियन्त्रण गर्न, आफ्नो मन शुद्ध गर्न र योगाभ्यासका अन्य छवटा चरण– आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको पालना गर्न सक्छ ।
साङ्ख्य दर्शनको तत्व मीमांसा, ज्ञान र तर्कमीमांसा तथा मूल्य–मान्यता र आचारमीमांसालाई सिद्धान्तको रूपमा यसरी क्रमबद्धरूपमा बुझ्न सकिन्छ । साङ्ख्य दर्शन प्रकृति र पुरुषको संयोजनबाट सृष्टि भएको हो । साङ्ख्य दर्शनको तर्क अनुसार प्रकृति केवल जड पदार्थ हो, यसमा चेतनाको संयोजनविना क्रिया हुन सक्दैन र क्रियाविना सृष्टि हुन सक्दैन । अर्काेतिर पुरुष चेतन तत्व मात्र हो, जड तत्वको सहयोगविना त्यसले कर्म गर्न सक्दैन र कर्मको अभावमा सृष्टि हुन सक्दैन । त्यसैले ब्रह्माण्डको सृष्टिको लागि प्रकृति–पुरुषको संयोजन आवश्यक हुन्छ । प्रकृति र पुरुष दुवै आधारभूत तत्व हुन् । साङ्ख्य दर्शनले प्रकृति र पुरुषलाई आधारभूत तत्व, शाश्वत र अनन्त मान्छ तथा यसलाई सत्य मान्छ तर यसले प्रकृतिलाई जड र पुरुषलाई चेतन, प्रकृतिलाई त्रिगुणात्मिका र पुरुषलाई निर्गुण मान्छ । साङ्ख्य दर्शनका अनुसार सृष्टिको दृष्टिकोणले प्रकृति र पुरुष दुवै एकअर्काका पूरक हुन् । पुरुषको स्वतन्त्र अस्तित्व छ र यो अनेकानेक छ । साङ्ख्य दर्शनले पुरुष अर्थात् आत्मालाई स्वतन्त्र अस्तित्व मान्छ, उसले यसलाई ब्रह्मको अंश मान्दैन, त्यसलाई आफैंमा आधारभूत तत्व मान्छ । साङ्ख्यले प्रत्येक जीवमा स्वतन्त्र आत्माको अस्तित्व स्वीकार गर्छ । यो अनेकात्मवादी दर्शन हो । मानिस प्रकृति र पुरुषको संयोजन हो । साङ्ख्य दर्शनका अनुसार मानिस आफैं सृष्टिको अंश हो । त्यसैले उसको सृष्टि पनि प्रकृति र पुरुषको संयोजनबाट भएको हो भन्ने निश्चित छ । कपिलमुनिका अनुसार पुरुषको स्थूल शरीर माता–पिताको रज–वीर्य र सूक्ष्म शरीर विवेक र पञ्च तन्मात्रको योगले बनेको हुन्छ । जन्म–जन्मको अनुभव उसको सूक्ष्म शरीरमा जम्मा हुन्छ र यो एक जन्मबाट अर्काे जन्ममा प्रवेश गर्छ । साङ्ख्य दर्शनका अनुसार मानिसको स्थूल र सूक्ष्म शरीर जड पदार्थ हो र त्यसमा रहेको चेतन तत्व पुरुष हो । साङ्ख्य दर्शनले मानवजीवनलाई सप्रयोजन मान्छ । मानिसको विकास उसको जड र चेतन दुवै तत्वमा निर्भर गर्छ । साङ्ख्य दर्शन अनुसार मानिस प्रकृति र पुरुषको संयोजन हो र उसको विकास यिनै दुर्ई तत्वमा निर्भर हुन्छ । साङ्ख्य दर्शनका अनुसार मानव विकासका तीन दिशा हुन्छन्– शारीरिक, मानसिक र आध्यात्मिक । मोक्ष मानवजीवनको अन्तिम लक्ष्य हो । साङ्ख्य दर्शनका अनुसार मानवजीवन उद्देश्यपूर्ण छ, यसको उद्देश्य दुःखबाट मुक्ति हो । यसैलाई मुक्ति भनिन्छ । किन दुःख छ ? जब मानिस आफ्नो वास्तविक स्वभावलाई बिर्सन्छ र आफूलाई बुद्धिजीवी ठान्छ, तब उसलाई दुःखको अनुभूति हुन्छ । अन्यथा ऊ यी सबैभन्दा भिन्न हुन्छ । जब मानिसले आफ्नो आत्माको वास्तविक स्वरूपलाई चिन्छ, तब उसले दुःखबाट मुक्ति पाउँछ । यही जीवनमा दुःखको अनुभवबाट मुक्त हुने व्यक्तिलाई साङ्ख्य दर्शनमा जीवनमुक्त भनिन्छ र देहको विनाशपछि दुःखको अनुभवबाट मुक्त हुनेलाई विदेहमुक्त भनिन्छ । मुक्तिको लागि विवेकी ज्ञान आवश्यक छ । साङ्ख्य दर्शनको दृष्टिकोणबाट मुक्तिको लागि प्रकृति–पुरुषबीचको भिन्नता जान्नु आवश्यक हुन्छ । त्यही अवस्थामा पुरुष सुख र दुःखबाट अलग भएर प्रकृतिबाट अलग रहन सक्छ र कर्मको फलबाट मुक्त हुन सक्छ । विवेक ज्ञानको लागि योग साधना मार्ग आवश्यक छ । साङ्ख्य दर्शनले विवेक ज्ञानको लागि योगद्वारा निर्दिष्ट साधन मार्ग (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि)लाई आवश्यक ठान्छ ।