प्रस, रौतहट, ४ जेठ/

राजपुर नगरपालिका–६ बाट सुरक्षाकर्मीले युरिया मल बरामद गरेको छ ।

भारतबाट भन्सार छली भिœयाइएको मल विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा चार सयभन्दा बढी बोरा युरिया मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

बिहीवार दिउँसो ३ बजे राजपुर नगरपालिका–६ पानीटङ्की चोकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको प्रहरीले जानकारी गराएको छ ।

जिप्रका, रौतहटले बरामद मल गौर भन्सार कार्यालय चलान गर्ने जानकारी गराएको छ ।

यसअघि वैशाख ३१ गते प्रहरीले  राजपुरबाट नै एक हजार बोरा युरिया मल बरामद गरी गौर भन्सार कार्यालयमा बुझाएको थियो । तर सो मल भोलिपल्टै तस्करसँग सेटिङ गरेर रु १० लाख दुई हजारमा भन्सारले बिक्री गरेको प्रहरीको आरोप छ । प्रहरीले सो मलको मूल्याङ्कन रु २० लाख दुई हजार गरेको थियो । गौर भन्सार कार्यालयका प्रमुख वासुदेव नेपालमाथि मल लिलामीको  सूचना प्रकाशन नगरी प्रक्रिया मिचेर तस्करलाई सुम्पेको आरोप छ ।

गौर भन्सारका सूचना अधिकारी रेवतीराम रोक्काले सड्ने गल्ने वस्तुलाई तत्कालै लिलाम गर्नुपर्ने भन्सार ऐनमा उल्लेख भएकोले सूचना प्रकाशित नगरी तत्कालै बोलकबोल प्रक्रियाबाट लिलाम  गरिएको बताए । उनले मलसँगै पक्राउ परेका दुईजनालाई रु २० लाख धरौटीमा छाडिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here