प्रस, परवानीपुर, ४ जेठ/

निजी क्षेत्रको वकालत गर्न वीरगंजमा अर्को सङ्गठन स्थापना भएको छ । नेपाल–भारत उद्योग वाणिज्य सङ्घ, वीरगंज शाखाको स्थापना भएको हो ।

वीरगंजमा आयोजित एक समारोहमा सङ्घको घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्माले निजी क्षेत्रको समस्या उठान एवं देशको अर्थतन्त्रलाई बलियो बनाउन एनआइसिसिआईको वीरगंजमा स्थापना हुनु सुखद भएको चर्चा गर्दै दुवै देशका साझा समस्यालाई वकालत गर्नको लागि यो सङ्गठन आगामी दिनमा दत्तचित्त भएर काम गर्नुपर्ने सुझाव दिए ।

उनले नेपालको सबैभन्दा नजीकको साथी भारत भए तापनि कतिपय घटनामा भारतलाई असल मित्र नठान्ने परिपाटीले पनि समस्या उत्पन्न हुने भएकोले दुवै देशबीच आपसी सद्भाव र सहकार्य हुनुपर्नेमा जोड दिए । उनले वीरगंजमा भारतीय पर्यटक बढाउनको लागि उनीहरूले भारु दुई सय र पाँच सयका नोट भारतबाट सहजरूपमा लिएर आउने नीति नेपाल सरकारले बनाए वीरगंजमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्न सकिनेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले वीरगंजका उद्योगी–व्यवसायीले आफ्नो स्वार्थसिद्ध गर्नको लागि मात्रै सङ्गठन र पद लिन नमिल्ने भन्दै वीरगंजमा रोजगार सिर्जनाका लागि पनि सोच्न आग्रह गरे । उनले वीरगंजका निजी क्षेत्र सम्बद्ध सङ्गठनहरूले प्रतिबद्धता गरे आफूले वीरगंज मनपाभित्रै दुई सय बिघा जग्गा उपलब्ध गराउने दाबी गरे ।

 “तपाईंहरू तयार हुनुस्, म जग्गा देखाइदिन्छु । कलकारखाना, औद्योगिक कोरिडोर बसाल्नु र वीरगंजका युवालाई रोजगार दिन शुरू गर्नुस्,” उनले भने, “उद्योग सबै नेपालमा, कामदार सबै भारतको । यदि नेपालमा कारखाना खोलेर भारतीय मजदूरलाई रोजगार दिनु छ भने वीउवासङ्घ, एनआइसिसिआई, पर्सा च्याम्बर अफ कमर्सलगायतका संस्थाहरूको के काम ?”

एनआइसिसिआईकी अध्यक्ष सिर्जना राणाको अध्यक्षता एवं वरिष्ठ उपाध्यक्ष नीरज अग्रवालको सहजीकरणमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, महासङ्घका केन्द्रीय सदस्य एवं नेपाल चामल दाल तेल सङ्घका अध्यक्ष सुबोध गुप्ता, वीउवासङ्घका अध्यक्ष अनिल अग्रवाल, पूर्वअध्यक्ष अशोक बैदलगायतको सहभागिता थियो ।

अभिषेक चौधरी अध्यक्ष रहेको एनआइसिसिआईको वरिष्ठ उपाध्यक्ष नीरज अग्रवाल, उपाध्यक्ष अभिषेक पुजारी, सचिव आकाश सर्राफ, सहसचिव धीरज अग्रवाल, कोषाध्यक्ष अवधेशकुमार सरावगी, सहकोषाध्यक्ष कृष्णकुमार अग्रवाललगायत ४५ जना सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here