दिनेश मिश्र, वीरगंज, ४ जेठ/

पोखरिया नगरपालिका–९ सेमरवारीबर्वामा दुई दिने जलसा सम्पन्न भएको छ ।

जलसामा भारतबाट आएका हजरत मौलाना अब्दुल्लाह सलिम चतुर्वेदीले हिन्दू, मुस्लिम, सिख, ईसाइ सबै धर्मले सही मार्ग हिंड्न सिकाएको बताए । उनले कुनै पनि धर्मले अरूलाई दुःख दिनुहुन्न, सहयोगी भावना राख्नुपर्छ, कसैलाई पनि हेप्नुहुन्न, सबैसँग मानवतापूर्ण व्यवहार राखिनुपर्छ भनी सिकाएको बताए । हजरत मौलानाले जलसामा राम्रो काम गर्ने अनेकौं विधि सहभागीहरूलाई सिकाएका थिए ।

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबूराउत गद्दीले मदर्साको सुरक्षा र त्यहाँ रहेका यतिम बच्चाको पढाइ र बसाइमा लाग्ने खर्चलाई जलसाले व्यवस्थापन गर्नमा मदत पुग्ने बताए । उनले सरकारले पनि मदर्सामा रहेका यतिम बच्चाको पढाइलेखाइलगायतका व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

नेपाल चार वर्ण ३६ जातका फूलबारी हो, सबैको त्यत्तिकै नै हकअधिकार भएको र सामाजिक मेलमिलापले नै सुख–शान्ति प्रदान गर्ने नगरप्रमुख प्रद्युमन चौहानले बताए ।

जलसाका संयोजक निजामुद्दीन समानीले सबै धर्मको आआफ्नो मूल्य र मान्यता रहेको र सबै धर्मलाई समान व्यवहार गर्नुपर्ने तथा समाजमा देखा परेका विभेदलाई अन्त्य गरेर भाइचारा कायम गर्ने पनि जसलाको उद्देश्य रहेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर रौनियार, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युमन चौहान, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, विश्रामपुर गापाध्यक्ष जुबेर आलम, जगरनाथपुर गापाका पूर्वअध्यक्ष जालिम मियाँ, जसपा, पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, एमालेका विन्ध्याञ्चल ठाकुरको सहभागिता थियो । वडाध्यक्ष नौशाद आलमले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here